Ad #144479

रमिता दंगाल

असाेज १२, काठमाडौंकाे कागेश्वरी मनाेहरा नगरपालिकाले नि:शुल्क रेविज विरुद्धकाे खाेप कार्यक्रम सञ्चालन गरेकाे छ । नगरपालिकाले विश्व रेविज दिवसको अवसरमा नि:शुल्क रेविज विरुद्द खोप कार्यक्रम संचालन गरेको हाे ।

हिजो र आज गरेर घरपालुवा र सामुदायिक कुकुर तथा बिरालाे गरि झन्डै दुई सय कुकुर/बिरालोलाई रेविज विरुद्द खोप लगाएको कागेश्वरी नगरपालिकाको पशु सेवा शाखा प्रमुख राम बहादुर देउजाले जानकारी दिनुभयो। राधा कृष्ण मन्दिरको चौतारामा भएको रेविज खोप विरुद्दको कार्यक्रममा सय ओटा कुकुर बिरालालाई खोप लगाइएको थियो । त्यस्तै वडा नम्बर २ को कृष्ण चौरमा भएको कार्यक्रममा एक सय भन्दा बढी कुकुरलाई खोप लगाइएको थियो।

भोलि कगेश्वोरी नगरपालिकाको गागलफेदीमा नि:शुल्क खाेप कार्यक्रम हुने पनि पशु सेवा शाखाका प्रमुख देउजाले बताउनुभयो। खोप लगाउन छुटेकालाई पर्सि नगरपालिकाको पशु सेवा शाखाबाट नै खोप लगाउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो। खोप उपलब्ध भएसम्म याे अभियानलाई अझै तीन-चार दिनसम्म निरन्तरता दिने पनि देउजाले बताउनुभयो ।

दिवसका अवसरमा सरकारले घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन आग्रह गरेकाे छ । रेबिज अन्त्यको लागि सहकार्य र खोप भन्ने नाराका साथ नेपालमा पनि विश्व रेविज विरुद्धकाे दिवस साेमबार मनाइएकाे छ । रेबिज रोगबाट बच्ने उपायबारे सचेतना फैलाउने उद्देश्यले दिवस मनाउने गरिन्छ ।

रेबिज सङक्रमित जनावरले टोक्दा र्यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्ने गर्छ । घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन, कुकुर लगाएतका जनावरले टोकेमा साबुन पानीले धुन र स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिज विरुद्धको खोप लगाउन डाक्टरकाे सुझाव छ । रेबिज विरुद्धको खोप निःशुल्क पाइन्छ ।