समिता श्रेष्ठ
धर्म, संस्कार, परम्परा तथा संस्कृतिमा बाजाको महत्व अभिन्न छ । तबला, बाँसुरी, हार्मोनियम जस्ता बाजाले हाम्रो धर्म संस्कार, कलालाई समेटेका छन् । काठमाण्डौ उपत्यकाभित्र नेवार समुदायमा बाजागाजा मूल्य मान्यताकै रुपमा रहेका छन् । ती बाजागाजामै जीवन समर्पित गर्नु भएका गौरव श्रेष्ठले जीवन निर्वाह गर्दैै आउनुभएको छ । साथै परम्परालाई पनि धान्नु भएको छ ।
गौरव श्रेष्ठ र बाजा
गौरव श्रेष्ठ २०४९ साल पुस ९ गते काठमाण्डौको गोकर्णेश्वरमा जन्मनु भएको हो । सामान्य परिवारमा जन्मनु भएका श्रेष्ठको परिवारमा बुबा आमा, एक भाई, बहिनी र श्रीमती हुनुहुन्छ । उहाँले सानै उमेरदेखि नै विभिन्न मौलिक बाजाहरु बजाउँदै आउनु भएको छ । श्रेष्ठले बजाउने मुख्य बाजा तबला हो । तर उहाँले बाँसुरी, हार्मोनियम, मादल, गितार लगायतका बाजा पनि बजाउने गर्नुहुन्छ । सुरुमा बाजा बजाउन आफ्नै बुबा भैरवमान श्रेष्ठबाट सिक्नु भएको हो ।
बुबाले विभिन्न बाजाहरु हार्मोनियम, तबला बजाउने र भजन गाउने गर्नुहुन्थ्यो । बुबाबाटै सामान्य ज्ञान हासील गरेपछि श्रेष्ठले अलि ठुलो भएपछि नेपालका वरिष्ठ तबलाबादक अचुतराम भण्डारी, हिरा घिमिरेसँग तबला सिक्नुभयो ।
बाजामा साधना र आनन्द
संगित र मौलिक बाजा बजाउने कलालाई साधना र आनन्दको रुपमा लिने श्रेष्ठले भारतिय दुतावासका गुरु शास्त्रीय संगितका व्यक्तित्व समीर डे सँग अहिले पनि तबला सिक्दै हुनुहुन्छ । तबलामा जति साधना गरे उति नै निखारता बढ्दै जाने उहाँ बताउनुहुन्छ । उहाँले तबला सँगसँगै हार्मोनियम र गायन ललितकला क्यापसमा सिक्नुभयो अनि बाँसुरी किराँतेस्वर संगित आश्रम र नखचख नेवाः संस्कृती खलमा सिक्नु भएको हो । ज्ञान हासिल गर्ने कुरा कहिल्यै नसकिने उहाँको धारणा छ ।
नेपाली मौलिक बाजा बजाउनु चाहनेहरुले सिकाईलाई कठिनाइको रुपमा नलिएर साधना र आनन्दको रुपमा लिएर सिकाईलाई व्यवहारमा लागू गर्नुपर्नेमा उहाँको जोड छ । उहाँ भन्नुहुन्छ,‘हरेक कुरामा कठिनाइ त भै नै हाल्छ र सरलता पनि हुने गर्छ, आफ्नो इच्छाशक्ति भन्दा ठुलो केही हुँदैन ।’
तबला, हार्मोनियम, मादल प्रायः सबै कार्यक्रमहरुमा प्रयोग गरिन्छ भन्ने बाँसुरी, खिंङ्ग भने दशै, जात्राहरु तथा नौरथ पर्व लगाएत नेवारी पर्व विशेषमा बजाउने गरिन्छ । पहिले र अहिलेको बाजा बजाउने शैलीमा त्यति धेरै अन्तर त छैन तर अभ्यास गर्ने बानी भने नयाँ पुस्तामा छैन भन्ने उहाँको अहिलेसम्मको अनुभव छ ।
अरुलाई सिकाउँदै
श्रेष्ठले अहिले सांस्कृतिक खलहरु र स्कुलहरुमा संगित सिकाउने गुरुका रुपमा काम गर्दै आउनु भएको छ । उहाँले भुमिस्थलीको सांस्कृतिक खल र आलपोटको सांस्कृतिक खलमा मौलिक बाजा बजाउन सिकाउनु हुन्छ । उहाँले स्वर्ण शिक्षा, नेपालय, कान्ति भैरव गुरुकुल, हिमशृखला, त्रान्क्विल, चन्डिकाश्वरी, स्वतबाराही, जिनियस लगायतका विद्यालयहरुमा पनि म्युजिक टिचरको रुपमा काम गर्दै आउनुभएको छ ।
अहिलेका युवा वर्गलाई उत्प्रेरित गर्नु मौलिक बाजाको इतिहास, संस्कृति ,परम्पराबारे महत्व र चेतना दिनुपर्छ भन्ने उहाँको भनाई छ । श्रेष्ठले यसबारे थप भन्नुहुन्छ,‘अहिले मौलिक बाजाको स्कोप धेरै छ । मौलिक बाजा बजाउने कलाबाटै आफ्नै जीवन निर्वाह गर्न सकिन्छ । परम्परा पनि जोगिन्छ । स्टेज पोग्राम, महोत्सव एवं म्युजिक टिचर भएर पनि काम गर्न सकिन्छ ।’
तालबाजा र सुरबाजा दुवैमा अब्बल
बाजा मुख्यतया दुई प्रकारका हुन्छन् । ती हुन् तालबाजा र सुरबाजा । उहाँले तालबाजमा तबला, मादल, काङ्गो, खिँङ, जिम्बे, धिमे पर्दछ भन्ने सुरबाजामा बाँसुरी, हार्मोनियम र थोरै गितार बजाउनु हुन्छ । स्कुलहरुमा विशेष तालबाजामा मादल, तबला, काङ्गो सिकाउनु हुन्छ र सुर बाजामा बाँसुरी, पृयानिका र बालगीत राष्ट्रिय गान सिकाउनु हुन्छ ।
आफ्नो भाषा संस्कृतिबारे थप्दै उहाँ भन्नुहुन्छ,‘नेवारी समुदाय सांस्कृतिक कला र संस्कृतिमा निकै धनी समुदाय हो । हाम्रो पुरानो संस्कृति दावा, दाफा खल पुरानो नेवारी भंजन आउदा भावी पुस्तालाई हस्तान्तरण राम्रो तरिकाले भएको छैन । नीति नियम बनाएर संस्कृति हस्तान्तरण गर्नु जरुरी छ ।
अहिले ढोलो बजाउने खिँङ बजाउने बुढापाखा ब्यक्तिहरु हराउँदै जाँदैछ । त्यसैले कडाईका साथ हाम्रो संस्कृति परम्परालाई बचाई राख्नु अझै प्रभावकारी रुपमा लाग्नु जरुरी छ ।’
संस्कृति लोप हुन नदिउँ
श्रेष्ठ भन्नुहुन्छ,‘नयाँ पुस्तालाई हस्तान्तरण गर्ने क्रममा धिमे बजाउन सिकाउने काम हुँदै आएको छ, यो निकै राम्रो हो । तर अन्य बाजाहरु सिक्ने÷सिकाउने र हस्तान्तरण प्रकृया प्रभावकारी भएको छैन । मौलिक बाजा र संस्कृतिलाई जगेर्ना गर्नुपर्दछ । हाम्रो संस्कृति र सम्पदाको संरक्षण यी नै बाजाहरुले गर्ने गर्दछ । त्यसैले हाम्रो मौलिक बाजाको निकै महत्व छ । नयाँ पुस्तालाई प्रभावकारी रुपमा हस्तान्तरण गर्नुपर्छ । नत्र हाम्रो संस्कृति नै लोप हुन्न सक्ने अवस्था छ ।’









