जो यसपाली कागेश्वरी मन्दिरमा जान पाएनन् : उनीहरुको गुनासै गुनासो

अनिता धिताल

१० भदौ, काठमाडौं । काठमाडौको पुर्वीभेगमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमी अर्थात् भाद्र शक्ल अष्टमीका दिन भव्य मेला लाग्छ । तर यसवर्ष भने कोरोना संक्रमणको डरले मेला स्थगित गरिएको छ । विभिन्न स्थानबाट धार्मिक आस्था बोकेर यस मन्दिरमा भक्तजनहरुको ठुलो भिड लाग्ने गथ्र्यो ।

नगरपालिकाले कागेअष्टमीको अवसरमा नगरभित्र सार्वजनिक विदा समेत दिदै आएको थियो । तर यसपाली मेला नभएपछि नागरिकको गुनासो छ । कागेश्वरीखबरले विगतमा मन्दिर पुगेका दर्शनार्थी तथा भक्तजनसँग लिएको प्रतिक्रिया जस्ताको तस्तै :

उर्मिला अधिकारी, कागेश्वरी गागलफेदी

अघिल्ला वर्षहरुमा कागेश्वरीको कागेअष्टमी मेलामा जाने गरेको थिए । विभिन्न स्थानहरुबाट हजारौँ तिर्थयात्री, झाक्रीहरु ढयाङग्रो ठोक्दै बाँजा गाजाका साथमा आउने गर्थे । परम्परादेखि नै कागेश्वरी मन्दिरमा पुजाआजा गरी नुहाउनाले, हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बँच्न सकिने धार्मीक विश्वास पनि रहिआएको छ ।

दुई दिन अगाडी देखि नै भक्तपुर, ठिमी र विभिन्न स्थानहरुबाट बजार राख्नको लागी मानिसहरु आउने गर्दथे । पहिला अहिलेको जस्तो बाटोहरु निमार्ण भएका थिएनन्, मन्दिरसम्म पुग्नलाई भिरको बाटो साथी भाईहरुसँग लड्दै र रमाईलो गदै गइन्थ्यो । जगंलको बिचमा रहेको चौरमा कागेअष्टमी मेलामा आउनेहरुलाई कठिन हुन्छ भनेर पानी र विभिन्न फलफुलहरु समेत राखेर दिने गर्दथे ।

अहिले गाडी जाने बाटोहरु बनेकाले मन्दिर जान पहिलाको जस्तो कठिन छैन । तर यसपालि कोरोना महामारीले गर्दा मेला नहुने भनेपछि दुख लागेको छ । अहिलेको अवस्थामा स्वास्थ्य नै ठुलो भएकाले मन्दिरमा भिडभाड नहुनु राम्रो हुन्छ ।

पुर्णमान लामा, शङखरापुर नाङ्लेभारे

विशेष गरेर हाम्रो तामाङ समुदायबाट धामी, झाक्री सहित उपस्थित हुने गर्दथ्यौ । कागेश्वरी मन्दिरमा निकै चहलपहल हुने गर्दथ्यो । विगतका वर्षहरुमा विभिन्न स्थानहरुबाट तीर्थयात्रुहरुले आफनो समुदायको संस्कार परम्परा झल्किने खालको झाक्रीहरु सहित आउने गर्दथे ।

तर यसपालि कोरोना महामारीले गर्दा सरकारले निषेधाज्ञा जारी गरेको छ । यस मन्दिरमा लाग्ने मेला परम्परागत, धार्मीक, पर्यटकीय, सांस्कृतिक दुष्टिकोणले महत्वपुर्ण मानिए पनि, मेला नहुने भएपछि यसलाई असर त गर्छ नै, तर अहिलेको अवस्थामा हामीले मानव स्वास्थ्यलाई ध्यान दिएर संवेदनशील हुनु जरुरी हुन्छ ।

सुर्य तामाङ, शङखरापुर

अघिल्ला वर्षहरुमा तामाङ समुदायबाट धामी, झाक्री सहित विभिन्न बाजा, ढङग्रो बजाएर कागेअष्टमी मेलामा सहभागी हुन्थ्यौ । मेलामा जानुभन्दा एक दिन अगाडी हामी मेलामा जाँदैछौ भनेर देवी, देवता, बाउ बाजेलाई रातभरी ढयाङग्रो बजाएर बोलाउनुका, साथै बिहान मेलामा जानुभन्दा पहिला फेरी देवी देवतालाई पुकारेर देविलाई शिरमा प्रवेश गर्न आग्रह गर्दछौ ।

त्यसपछि घरको आगँनमा सगुन राखेर त्यस सगुनमा दुई फन्नको नाचे पछि मेलाको लागी हामी निस्किन्थ्यौ । हामीले सोचेको मागेका कुराहरु भगवानले पुर्यानुहुन्छ भन्ने विश्वासले यसरी मेलामा जाने गर्दथ्यौँ । तर यस वर्ष कोरोना महामारीले गर्दा मेलामा जान नपाउँदा एकदमै दुख त लागेको छ ।

बसन्त दङगाल, जोरपाटी

पहिला देखि नै चलिआएको परम्परा भएकाले प्रत्येक साल कागेश्वरीको कागेअष्टमी मेलामा जाने गरेको थिए । विभिन्न स्थानहरुबाट धार्मीक आस्था बोकेर आउने भक्तजनहरुको यस दिन मन्दिरमा निकै चहलपहल देखिन्थ्यो । विशेष गरेर यहाँ कागले छोयो भने अशुभ हुने र त्यहाँ गएर नुहाँउदा शुभ हुनुका साथै सबै पाप कटिने धार्मीक विश्वास रहिआएकोले अनिष्ट नहोस भनेर यस मन्दिरमा आउने गरेको पाइन्छ ।

यस वर्ष भने कोरोना महामारीले गर्दा मेला नहुने भन्दाँ एकदम खल्लो लागेको छ । मेलाले गर्दा साथीभाईहरुसँग वर्षमा एक चोटी भेटहुन्थ्यो त्यो पनि असम्भव भयो । मेलाले गर्दा बजार राख्ने साथीभाईहरुको आम्दानीको स्रोत पनि हुथ्योे । मेला त बरु अर्को साल पनि हुन्छ, अहिलेको अवस्थामा मेला नगरेकै ठिक हुन्छ ।

गुरु तामाङ, शङखरापुर, कातिके

अघिल्ला वर्षहरुमा समुदायको संस्कार परम्परा झल्किने खालको धामी, झाक्रीहरु सहित बाजा ढयाङग्रो बजाएर मेलामा आउने गर्दथ्यौ । गत वर्ष कागेश्वरीको कागेअष्टमी मेलामा निकै चहलपहल र भिड लागेको थियो । मेलामा जानुभन्दा एक दिन अगाडी हामीले देवी, देवता, बाउँ बाजेलाई रातभरी ढयाङग्रो बजाएर पुकारेर मात्र मेलाको लागी हामी बिहानै धामी झाक्री सहित निस्किन्थ्यौ ।

कागेअष्टमी मेलामा सम्म त कोरोना महामारी कम होला भन्ने सोचेको थियौँ झन बढदो क्रममा छ । अहिलेको अवस्था हेर्दा स्वास्थ्यलाई मध्यनजर गदै जम्मा हुनु भन्दा नहुनु ठिक हुन्छ । यसपाली सुनसान हुनेछ ।

[sidebar name="button post"]