कृष्ण वाग्ले
१० भदौ, काठमाडौं । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा ५ मा जनप्रतिनिधि चुनिएपछि खास परिवर्तन के भएको होला ? त्यस्तै वडा र नगरपालिका भित्रका वास्तविक समस्या के कस्ता होलान् ? सामाजिक विकास अनि अबका योजना के छन् ? कोरोना भाइरसको प्रभाव तथा व्यवस्थापन कसरी हुँदैछ ? सबैको चासो र सरोकारको विषय बनेको छ ।
जनअपेक्षा अनुसार पालिकाबाट काम भएका छन् त ? भन्ने विषयमा नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडा नम्बर ५ का अध्यक्ष राजाराम पुडासैनीसँग कागेश्वरी खबरका सहकर्मी कृष्ण वाग्लेले गर्नुभएको कुराकानी ।
तपाईं जनप्रतिनिधि हुनु भन्दा अगाडी वडाको अवस्था र त्यसपछि भएका मुख्य उपलब्धी के छन् ?
विगतमा स्थानीय निकाय झण्डै २० वर्ष जनप्रतिनिधि विहिन रहेको सबैलाई अवगत छ । २०७४ सालमा स्थानीय तहको चुनाव हुनुअगाडी र त्यसपछि वडाको बस्तुस्थिती र आधारभूत आवश्यकता धेरै फरक भइसकेको छ । वडाबासीले पनि फरक पक्कै अनुभव गर्नुभएको छ ।
समग्र नगरपालिकामा नै हामी निर्वाचित भएर आउनु अघि र पछिमा आकाश जमिनको फरक छ । नगरपालिकामा एक अर्ब २६ करोडको टेन्डरका कामहरु कार्यान्वयनको चरणमा छन् ।
पहिला ढल निकास थिएन । खानेपानीको सेवा रोकिएको थियो । बिजुलीका पोल पुराना भैसकेका थिए । सडक बिस्तारको काम अलपत्र थियो । तर अहिले ढल निकास बिस्तार भएको छ । खानेपानी सेवाको लागी पाइप बिच्छ्याएर पानी बितरण सुरु गरीएको छ ।
पुराना बिजुलीका पोल फेरीएका छन् । सडक बिस्तारको काम अघि बढेको छ । सडक बिस्तारका लागी धमाधम सडकका घर हटाइँदैछ ।
विकास निर्माणका काम गर्दा समस्याहरु कस्ता कस्ता आइपरेका छन् ?
विकास निर्माणका काममा ढिलासुस्ती विगतकै रोग हो । ठेक्काको म्याद सकिने, सर्वोच्चले घर हटाउन रोक्ने, कोरोनाको प्रभाब जस्ता समस्याहरुले गर्दा सडक बिस्तार रोकिएको अवस्था छ । त्यसैले कतै सडक हिलो छ, कहिँ निर्माण कार्य अधुरो छ ।
स्थानियको नजरले हेर्ने हो भने नगरपालिकाले केहि पनि नगरे जस्तो देखिएला । तर बुझ्नुपर्ने कुरा के हो भने आउँदो माघ फागुन सम्ममा सबै सडक सम्पन्न गरी सम्बन्धित ठेकदारले नगरपालिकामा हस्तान्तरण गर्ने अवस्था बनेको छ ।
तपाईं जनप्रतिनिधि र नगर प्रवक्ता हुनुहुन्छ, जनप्रतिनिधि र नगर प्रवक्ताका रुपमा जिम्मेवारी के छ ?
वडाको जनप्रतिनिधिमा निर्वाचित भएर आएपछि गर्ने काम भनेको विशेष भूमिका, पहलकदमी मात्रै हो । वडाध्यक्षको हैसियतले मैले यस वडामा विकास निर्माणका योजनाको समन्वय गर्ने हो ।
वडा नम्बर १ देखि ९ सम्मका विकास निर्माणका योजनाको काम गर्ने भनेको हाम्रो नगरपालिकाले हो । प्रवक्ताको हैसियतमा नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्मका सबै बिकास निर्माणका कामहरु स्थानियको आवश्यकता बमोजिम, संतुलित र पारदर्शी ढङ्गबाट योजनाहरु समन्वय गर्ने हो ।
सामाजिक क्षेत्रमा वडा भित्र के कस्ता विकास भैरहेका छन् ?
सामाजिक क्षेत्रको हकमा ५ वडाले उल्लेखनिय प्रगती गरेको छ । यस वडामा रहेको एक मात्र सामुदायिक माध्यमिक विद्यालय, कान्ति भैरव माध्यमिक विद्यालयको शैक्षिक गुणस्तरमा विशेष ध्यान दिइएको छ ।
भुकम्पले विद्यालयको पुरानो भवनमा क्षती पुगेपछि ३८ करोडको लागतमा निर्माणाधिन नयाँ भवन अहिले अन्तिम चरणमा छ । विद्यार्थीहरुलाई आवत जावतमा सहजता प्रदान गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्कुलबस समेत उपलब्ध गराएको छ ।
यसैगरी वडाको एक मात्रै स्वास्थ्यचौकी, डाँछी स्वास्थ्यचौकीमा प्रसुती गृह सेवाको व्यवस्था गरीएको छ । प्रत्येक वर्ष झण्डै ६० देखि ६५ जना महिलाले निशुल्क नियमित स्वास्थ्य परिक्षण र प्रसुती सेवा प्राप्त गर्दै आएको अवस्था छ । वडामा रहेका विभिन्न टोल सुधार समितीलाई समेत वडाको हितका निम्ती सकृय बनाइएको छ ।
प्रवक्ताको हैसियतले नगरभित्रका अबका मुख्य योजनाहरुका बारेमा पनि जानकारी दिनुस् न ।
नगरपालिकाको नीति तथा कार्यक्रम मै समावेश गरेर हरेक वडामा एउटा खेलकुद मैदान, एउटा बंगैचा र सम्भव भएसम्म एउटा व्यायामशाला निर्माण गर्न लागिएको छ । वडा नं. ५ थलिचौर र वडा नं. ६ मुलपानीचौरमा भने ठेक्काबाट पहिलो चरणको काम थालनी भैसकेको छ ।
वडा नं. १ मा हाम्रा नगर प्रमुखले फुटसलको सिलान्यास गरीसक्नु भएको छ । यसरी नै नगरपालिकाको आन्तरीक स्रोत बाटै अन्य वडाहरुका लागी पनि आवस्यक प्रकृया अगाडि बढाइँदैछ ।
त्यस्तै नगरपालिकामा खानेपानीको लागि करिब ५ करोड बजेट बिनियोजन भएको छ । सोहि बजेट अन्र्तगत कागेश्वरी मनोहरा नगरपालिका एकिकृत खानेपानी बोर्ड गठन हुँदैछ । बोर्डको कार्यबिधि निर्माण हुनासाथ नगर प्रमुखको अध्यक्षतामा नगरपालिकाभित्र रहेका सबै खानेपानीलाई यस बोर्ड भित्र समेटिनेछ ।
नगरपालिकाले नै आधारभुत रुपमा र योजनाबद्ध ढङ्ग बाट सबै वडाबासीलाइ स्वच्छ र पिउन योग्य पानी बितरण गर्नेछ ।
कोभिड १९ को महामारीमा वडाले के के कदम चाल्यो ?
विश्वव्यापी संकट निम्त्याएको कोभिड १९ को प्रभावबाट कागेश्वरी मनोहरा नगरपालिका पनि प्रभावित छ । स्थानिय जनजिवन, आर्थिक कारोबार लगायत विविध कुरामा समस्या देखिएको छ ।
कोभिड १९ को प्रभावलाई नियन्त्रण गर्नका लागि र नगरबासीलाई स्वास्थ्य सुरक्षा दिनका लागि नगरपालिकाले हप्ताको दुई दिन, सोमबार र शुक्रबार निःशुल्क कोरोना परिक्षण गर्ने गरेको छ । कोभिड १९ को नियन्त्रणका लागि ध्यान दिदै ६८ सिटको क्वारेन्टिनको व्यवस्था पनि गरिएको छ ।
नगरवासी र व्यवसायीहरुलाइ राहत पु¥याउनको लागि गत आर्थिक वर्ष २०७६।७७ का बाँकी रहेका कुनैपनि सुल्क वा राजस्वका दस्तुरहरुमा जरीवाना नलिने निर्णय भैसकेको छ । पुष मसान्तसम्मका लागि जरीवाना छुट गरी साविक बमोजीम राजस्व असुली गर्ने निर्णय भएको हो । साथै कुनै सेवा शुल्कमा वृद्धि पनि गरीएको छैन ।
यसैगरी यस वर्ष भरीकै लागी भाडा करमा ५० प्रतिशत छुट दिइएको छ ।
तपाईंहरुले काम गरेकै छौ भन्नुहुन्छ, अन्त्यमा साच्चै जनअपेक्षा अनुरुप काम भएका छन् त ? प्रस्ट पारिदिनुस् न ।
जनताका फरक फरक दृष्टिकोणहरु हुन्छन् । फरक फरक मागहरु हुन्छन् । कसैलाई पानीको समस्या हुन्छ, कसैलाई बाटोको त कसैलाई बिजुलीको लाइनको समस्या हुन्छ ।
व्यक्तिका फरक फरक चाहना हुन्छन्, फरक फरक अपेक्षा हुन्छन् जसका कारण जनअपेक्षा बमोजिम कामहरु भएर सबै सन्तुष्ट भए भन्ने पक्षमा म छैन । निरन्तर काम भैरहेका छन् ।
जनप्रतिनिघिको हैसीयतले हेर्दा अहिलेसम्म भने नगरपालिका र वडाले गरेका कार्यप्रती औसत नागरीकहरु पक्कै संतुष्ट हुनुहुन्छ भन्ने कुराका विश्वस्त छु ।








