अनिता धिताल
अरु पालिकाले जस्तै काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेको छ । सार्वजनिक बजेट र वार्षिक कार्ययोजना अनुसार पालिकामा विकास निर्माणका काम सुरु भैसकेका छन् । विगतमा बाँकी रहेका योजना र नयाँ योजनाहरु समेटेर नयाँ काम सुरु भएका हुन् । कागेश्वरी मनोहरा नगरपालिकाको वडा ४ को समग्र अवस्थाबारे वडाध्यक्ष भाइकाजी अधिकारीसँग अनिता धितालले गर्नुभएको कुराकानी ।
वडाका मुख्य प्राथमिकता के छन् ?
कागेश्वरी मनोहरा नगरपालीका भित्रको यस ४ वडामा सडकका काम छन् । खानेपानी सधैको समस्या रहेकै छ । भूकम्प पीडितको घर तथा पुनर्निर्माणका काम पनि पूर्ण नभैसकेको अवस्थामा वडातहले यी र यस्तै कामलाई मुख्य प्राथमिकतामा राखेर काम गरेको छ । अनि मुख्यतः यसअघि जान्दै नजानेको कोरोना भाइरसको महामारीले पनि सताएको छ । कोरोनासँग लड्नुपर्ने भएकाले स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकतामा परेको छ । त्यसैमा लागिरहेका छौ ।
तपाईंले कोरोनालाई जोड्नुभयो, विशेष योजना नै बनाएर काम भएको छ ? की अन्त जस्तो हो त्यस्तै ?
होइन, बुझ्नुपर्ने मुख्य कुरा जनचेतना हो । नागरिकलाई सूचना प्रवाह, स्वास्थ्य र सरसफाईको काम, मास्क तथा भौतिक दुरी कायम गराउन सुसूचित गर्न पहल भैरहेको छ । कोरोना महामारी रोकथाम, नियन्त्रण र व्यवस्थापनसँगै स्थानीयबासिन्दाको आवश्यकता अनुसारका पूर्वाधार क्षेत्र, रोजगारी, युवा स्वरोजगारीलाई जोडेर काम भैरहेको छ । विशेष जोखिममा पर्न सक्ने स्थान र व्यक्तिको सुरक्षालाई पनि मध्यनजर गर्दै कार्ययोजना बनाएर काम गरिएको छ ।
जनप्रतिनिधिका रुपमा तीन वर्ष बितिसकेका छन्, मुख्य काम र उपलब्धी के के छन् ?
स्थानीय निकायमा २०७४ बैशाखसम्म झण्डै २० वर्ष जनप्रतिनिधि भएनन् । त्यसकारण हामी जनप्रतिनिधि चयन हुँदा धेरै समस्याहरु रहेको अवस्था थियो । चाँगुनारायण नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको वडा जोड्ने स्थानमा ३०,४० वर्षदेखिको विवाद थियो । त्यसलाई सिमाङकन गरेर काम सम्पन्न गरियो । बाटो निर्माणका कार्यलाई नै प्राथमिकतामा राखेर अलपत्र अवस्थामा रहेका बाटोहरुको निर्माण कार्य भयो । अर्को काम सफा स्वच्छ पानी खुवाउने र पानीको समस्या आउन नदिन ५० लाखको पानी टयाङकी बनाई धाराहरु बिग्रेको ठाउँमा आवश्यकता अनुसार मर्मत कार्य सम्पन्न गरिएको छ । भुकम्पका कारण भत्किएका भवनहरु निर्माण कार्य गर्नुका साथै भुकम्प पिडितहरुलाई राहत वितरण गरिएको छ ।
अझै पनि ढिलासुस्ती र अलमल किन देखिन्छ त ?
ढिलासुस्ती र अलमल छ भनेर नागरिकले गुनासो गर्नुहुन्छ । उहाँहरुको गुनासो ठिक छ । तर सडक निर्माण कार्यमा विवाद, भुकम्पका कारण भवनहरु ध्वस्त भएको अवस्था, त्यसका साथै स्थानिय सरकारको व्यवस्थापन र जनताका प्राथमिकताका लागि समय खर्च भएकाले विकास निर्माणका काममा समय दिन नपाएको पक्कै हो । सेवाप्रवाह सकेसम्म चुस्त बनाउन खोजिएको छ । पहलकदमी गर्ने काम पनि भैरहेको छ ।
जनताका गुनासो कस्ता आउँछन्, किन आउँछन् ?
जनताका गुनासा आउँछन, उहाँहरुले हरेक कुराको समस्या पर्दा हामीलाई नै सम्झनु हुन्छ । कतिपय समस्याको हल गर्न र सबैको चित्त बुझाउन सकिदैन पनि । तर सकेसम्म हामीले सक्दो पहल गरेको मैले अघि पनि जोडिसकेको छु । हाम्रो कर्तव्य भनेको सबैको समस्या समाधान गर्ने र सबैलाई सम्मान हुने तरिकाले कार्य गर्नु हो । खास गरि गुनासाहरु सडक व्यवस्थापन, जग्गाजमिन सिमाङकन र पारिवारीक समस्याहरु आउने गर्दछन् । सबै समस्याहरुलाई सहजीकरण गर्ने कर्तव्य हाम्रो हो भनेर कार्य गर्छौ । उहाँहरुको हरेक समस्याहरुलाई बुझेर समस्याहरु समाधान गर्ने गर्दछौ ।
अब के कस्ता योजना अगाडी बढ्लान् ?
हामीले यस वर्ष वर्षाका कारण धेरै दुःख अप्ठेराहरु झेल्नुपर्यो । ढल व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेर कार्य गर्ने तयारीमा छौ । यसका साथै ढललाई व्यवस्थापन गर्न डिपिआरको प्रकिया भईरहेको छ । वर्षाका कारण विभिन्न स्थानमा पहिरो जानुका साथै नागरीकहरुलाई बाटो हिलो भएका कारण आवतजावत गर्न समेत कठिनाई भोग्नु परेको अवस्था छ । आवश्यकता अनुसार सडक निर्माण गर्ने, भारी वर्षाले गर्दा पहिरो जाने स्थानमा त्यसलाई व्यवस्थित गर्ने योजना छ । धेरै स्थानमा बाटो निर्माणका लागी टेन्डरको प्रकिया हुँदैछ । पुर्वाधार क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरु अघि बढिरहेका छन् ।
युवा वर्गलाई कसरी परिचालन गर्ने नगरका कार्यक्रमहरु के के छन् ?
दक्ष युवा जनशक्ति भएर पनि अहिले युवाहरु बेरोजगार बस्नुपर्ने अवस्था रहेको छ । विभिन्न कार्यक्रमहरु आयोजना गरे पनि उनिहरुको काममा खासै चाहना भएको देखिदैन । युवाहरुकोे इच्छा चाहना के हो त्यसलाई मध्यनजर गरेर मात्र कार्य गर्नुपने भएकाले थोरै कठिनाई देखिन्छ । उहाँहरुको इच्छा अनुसार बेकरी तालिम, महिलाहरुलाई सिलाइ बुनाई र कटाई, पार्लर, कृषि तथा अरु शिक्षामूलक लोकसेवा तयारीका तालिम कार्यक्रम छन् ।
अन्त्यमा फेरी जोड्न खोजे, कोरोना महामारीको यो बेलामा वडाले के कस्तो कदम चाल्दैछ र अब महामारीबाट गुज्रिएको बेला के गर्न सकिन्छ ?
कारोना महामारीको सुरुवाती चरणमा त यस वडाबाट आर्थिक अवस्था कमजोर भएका जसको दैनिक श्रम नगरी खान पुग्दैन यस्ता समस्या हुनेहरुलाई हाम्रो समुहले आफै खाना पकाएर झण्डै महिना दिन खुवाउने कार्य गरेका थियौ । र नगरपालीकाको सहयोगमा हामीले राहत पनि वितरण गरेका थियौ । अहिले लकडाउन खुलेपछि झन् कोरोना महामारीको जोखिम बढेको अवस्था छ । यसलाई नियन्त्रण गर्न केन्द्र, प्रदेश सरकार र नगरपालीकाले जे जस्ता नीति नियम र निर्देशन दिन्छ, त्यहि अनुसार अगाडी बढ्ने हो । यसमा तपाईंहरु जस्ता सञ्चार माध्यम, सरोकारवाला पक्ष, स्थानीय संघ संस्था, नागरिक समाज, बुद्धिजिवीवर्गको राय सुझावलाई पनि समेटेर त्यसैअनुसार काम गर्ने प्रतिवद्धता जनाउन चाहन्छु ।








