अनिता धिताल
संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकार सूची उल्लेख छ । संविधानमा स्थानीय तहको २२ वटा एकल अधिकार छ । अहिले स्थानीय तहले यसैलाई कार्यान्वयन गर्दै आएका छन् । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका अन्र्तगत वडा ३ मा कोरोना संक्रमणको अवस्था, त्यसले निम्ताएको कहर तथा विकास निर्माणका कामबारे वडाध्यक्ष राममणी पुडासैनीसँग अनिता धितालले गर्नुभएको कुराकानी ।
कोरोना संक्रमण बढ्दो छ, यसलाई रोकथाम तथा नियन्त्रण गर्न वडाको कार्ययोजना के छ ?
कोरोना महामारी रोकथाम, नियन्त्रण र व्यवस्थापनसँगै स्थानीय आवश्कता अनुसारको पूर्वाधार निर्माण प्राथमिकतामा राखेर काम गर्दै आएका छौ । महामारीका कारण बढी जोखिममा पर्न सक्ने ठाउँ, व्यक्ति र परिवार तथा समुदायको सुरक्षा तथा रेखदेख गर्न विशेष योजना बनाई कार्य गरेका छौ । र आवश्यक परे थप रणनीति पनि अवलम्बन गर्न सकिन्छ । अहिले कोरोनाकै कारण विकास निर्माणका काम रोकिए पनि नागरिकलाई कोरोना महामारीबाट कसरी सुरक्षित राख्न सकिन्छ भन्ने नै पहिलो प्राथमिकता हो ।
कोरोना महामारी लम्बिन सक्छ, कसरी अगाडी बढ्ने योजना छ ?
मुख्यतः वडागत योजनालाई अगाडी लैजाने हो । शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण लगाएतका काम निरन्तर भैरहन्छन् । अरु मुख्य समस्या युवा बेरोजगारी हो । त्यसका लागि दक्ष युवा जनशक्तिलाई परिचालन गर्नुपर्ने खाँचो छ । धेरै युवा चाँही कृषि क्षेत्रमा लाग्न इच्छुक भएको पाइएको छ । अरु युवालाई पनि सम्बन्धित विषय विज्ञताका लागि तालिम र तालिम भएकालाई उनीहरुको क्षमता अनुसार रोजगारी दिने उदेश्य छ । तर कठिनाई पनि उत्तिकै छ । विगतमा उहाँहरुको इच्छा अनुसार बेकरी तालिम, महिलाहरुलाई सिलाई कटाई र बुनाई, लोकसेवा तयारीका कक्षा र तालिम, ड्राईभिङ्गको तालिम जस्ता कार्यक्रमहरु सञ्चालन गरेका थियौ र अब पनि गर्ने सोंच छ ।
कोरोना अघि भूकम्पले पनि उत्तिकै तहसनहस बनाएको थियो, पुनर्निर्माणका काम चाँही के हुँदैछ ?
२०७२ सालमा भूकम्पले तहस नहसै पार्यो । त्यसबेला जनप्रतिनिधि नहुँदा राहत र पुनर्निर्माणमा ढिलासुस्ती भयो । तर त्यसपछि जनप्रतिनिधि चुनियौ । भूकम्पले घर भवन तथा संरचना ध्वस्त भएको अवस्था थियो । त्यो अवस्थाबाट यहाँसम्म आइसकेका छौ । स्थानिय सरकारको व्यवस्थापन र नागरिकका प्राथमिकताका लागि समय खर्च भएकाले विकास निर्माणका काममा समय दिन पाएनौ । अहिले कोरोनाको मारमा पर्यौ । पुनर्निर्माणका काम अन्तिम चरणमा पुगेका छन् ।
पुनर्निर्माणसँगै तीन वर्षमा मुख्य कामहरु के के भए ?
नगरसभाले पास गरेका विकास निर्माणका काम अनुसार वडाका मुख्य प्राथमिकता रहेका कार्यहरु उपलब्ध बजेट अनुसार काम भैरहेका छन् मुख्य समस्याका रुपमा रहेका बाटो सिमाङकन गनुपर्ने, शिक्षाका क्षेत्रमा भवन निर्माण, कृषिको क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना र खानेपानी व्यवस्थापन लगाएतका कार्यहरु निरन्तर भइरहेका छन् । मुख्यतः सडक नै हो ।
उसोभए सडकका कामहरु के के छन् ?
वडा ३ को मुख्य समस्या बाटो सिमाङकन गर्न धेरै समय लाग्यो । किनकी १० मिटरको बाटो बनाउन जनतासँग जग्गा लिनुपर्ने भएकाले काममा ५ महिना जति ढिलाई भयो । चालु अवस्थामा रहेका सडकहरुको सिमाङकन गरी पर्खाल लगाएर पिचको तयारीमा पुर्याई सकेका छौ । सडक क्षेत्रमा मात्र १२ करोड खर्च भएको छ । मुल सडक डाँछीबाट सुरु भएर शंखरापुर निस्कने सडकको काम सम्पन्न भएको छ । सहिद आर्दश कलेजबाट त्रिवेणी चोक सम्मको सडक र मदराबाट विपि संग्रहालय गोकर्णेश्वर जाने सडकहरु सिमाङकन भएर पिचको तयारीमा छन् ।
सनसिटी हुदै मदरा आउने बाटो पनि टेन्डर गरेर पिचको तयारीमा छ । कोरोना महामारीको कारण भइरहेका कामहरु पनि चैतपछि रोकिएका थिए । तर लकडाउन खुलेपछि नयाँ आर्थिक वर्षमा अहिले फेरी काम सुचारु भएका छन् । विद्यालय र यातायात राम्रोसँग सञ्चालन नभएकाले काम गर्न केहि सहज पक्कै भएको छ । विभिन्न समस्या हुँदा र काममा ढिलाई आउदा पनि नागरिकहरुले बुझिदीनुभको छ, काम छिट्टै हुन्छ भन्ने आशा गर्नुभएको छ ।
शिक्षाका पूर्वाधार ?
विद्यालय नभएको कारण चौरमा पढ्नुपर्ने अवस्था अब छैन । कुनै बेला थियो तर अहिले भवनहरु निर्माण भैसकेका छन् । २०६४ सालमा स्थापना भएको सहिद आर्दश कलेजको आफनै भवन थिएन तर अहिले १२ कोठाको भवन निर्माण भएको र श्री आर्दश माध्यामिक विद्यालयको ६ कोठे भवन पनि निर्माण भइसकेको छ । लकडाउनको समयमा शिक्षकहरुलाई तालिम दिने, नमुना विद्यालय कस्तो हुन्छ, कसरी पढाउने भन्ने बारेमा जानकारी दिएका थियौ । सामुदायिक विद्यालयहरुमा अहिले श्रमिकका छोराछोरी पढ्ने विद्यालय जस्तो भएका छन् । त्यस विद्यालयलाई व्यवस्थित गर्नुका साथै नमुना विद्यालय बनाउने योजना छ । हाल त्यस विद्यालयमा ६०० जना विद्यार्थी छन् त्यसलाई हजार बनाउने लक्ष्य छ ।
अरु खानेपानी, कृषि लगाएतका क्षेत्रमा के भैरहेको छ ?
कागेश्वरी मनोहरा नगरपालीका वडा नम्बर ३, ४, ५ को डाँछी, भद्रवास संयुक्त्ता खानेपानी आयोजन छ । अहिले जुन पानी नागरीकहरुले खाईरहेका छन् त्यो फिल्टर नगरी खुवाईरहेका छौ । नागरीकहरुलाई स्वच्छ पानी खुवाउने उद्देश्यले त्यसलाई फिल्टर प्लान गर्न एडिबिको प्रोजेक्ट लन्च गरेको छौ । यसको लागी ५ प्रतिशत नागरिकले र २५ प्रतिशत नगर विकास कोषले सहयोग गरेको र ७० प्रतिशत एडिबिले सहयोग गर्नेछ । लोन २५ वर्षमा २ प्रतिशतका दरले ब्याज तिरिसक्नु पर्दछ । अबको योजना तीन वटा वडालाई नै व्यवस्थित पानी खुवाउने र सुन्दरीजलको पानी ल्याउने तयारीमा छ ।
र अर्को प्रश्न तपाईले सोध्नुभएको कृषि क्षेत्रमा रह्रयो । कागेश्वरी मनोहरा नगरपालीका वडा नं. ३ ले प्रदेश सरकारको सहयोगमा किसानहरुलाई कार्यक्रमहरु आयोजना गरी २२ वटा भैसीका पाडा वितरण, २० वटा बाख्रा वितरण र तरकारी खेति गर्नेलाई प्लास्टीक वितरण गरेको छ । जहाँ भैसीले पाडा पाएपछि त्यसको स्याहार सुसारको लागी सुत्केरी भत्ता समेत दिने गरेको छ । २० रोपनी जग्गामा नगदेबाली गर्नेलाई ५ लाखको अनुदान दिने गरेका छौ ।
नागरिकका के कस्ता गुनासा आउँछन् ? गुनासो गर्ने नपर्ने गरी काम हुन सकेको छैन ?
जनताका गुनासाहरु धेरै आउँछन् र उहाँहरुको हरेक समस्याहरु भन्ने ठाउ नै हामी हो की जस्तो लाग्छ । किनभने सबैले हामीलाई सम्झीनुहुन्छ । व्यक्तिगत र सामुहिक समस्याहरु आउँछन् । उहाँको समस्याको नजिक रहेर हरेक समस्या बुझेर सकेसम समस्या हल गर्ने गर्दछौ । खास गरि गुनासाहरु सडक व्यवस्थापन, जग्गाजमिन सिमाङकन र पारिवारीक समस्याहरु आउने गर्दछन् । सबै समस्याहरुलाई सहजीकरण गर्ने कर्तव्य हाम्रो हो भनेर संवोधन गर्छौ ।
अन्त्यमा, अब के कस्ता योजना अगाडी बढेका छन् ?
कागेश्वरी मनोहरा नगरपालीका वडा नम्बर ३ मा तीन वर्षमा २२ करोडको कार्यहरु सम्पन्न भइसकेका छन् । तर पनि बाटो र खानेपानी अझै पनि यस वडाको मुख्य समस्याको रुपमा रहेको छ । सडक निर्माणका कामहरु लगभग सकिन थालेको र खानेपानीलाई मुख्य प्राथमिकतामा राखेर कार्य गर्ने र सम्पन्न नभएका कामहरु वर्षदिन भित्रमा सक्ने योजनामा छौ ।








