कृष्ण वाग्ले
साउन २४, काठमाण्डाैकाे कागेश्वरी मनोहरा नगरपालिकाको पेप्सिकोलादेखि डाँछि नेपाल टेलिकम निस्कने मनोहरा मार्गकाे निर्माण कार्य अलपत्र परेको छ । मुलपानी पिपलबोटबाट डाँछि नेपाल टेलिकम निस्कने मनोहरा मार्गको काम रोकिएर मनोहरा मार्ग अलपत्रै परेकाे हाे ।

मुलपानी पिपलबाेटदेखि डाँछिसम्मका स्थानीय बासिन्दालाई यात्रा गर्न असहज छ । दुई वर्ष पुगिसक्दा पनि ठेकेदारले काम नसकेकोले मनोहरा मार्ग निर्माण कार्य अलपत्र परेको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रकाश फुँयालले जानकारी दिनुभयो ।
पेप्सिकोलाबाट पिपलबोटसम्म पक्कि रहेको मनोहरा मार्गमा पिपलबोटबाट डाँछिसम्म निर्माण कार्य दुई वर्ष अगाडि नै सुरु गरिएको थियो । ११ मिटरको सडकमा २,२ मिटरको फुटपाथ र ७ मिटर पिच गर्ने योजनाका साथ दिइएको ठेक्कामा ठेकेदारकाे ढिलासुस्ती र स्थानियको किचलोले गर्दा निर्माण कार्य अलपत्र परेकाे वडाध्यक्ष फुँयालले बताउनुभयो ।
ठेकेदारले प्रयोग गरेको सडक छेउका कर्बस्टोनको स्ट्रेन्थ नपुगेको भन्दै सडक विभागले करिब १५०० मिटर भत्काउन लगाएपछि पुन ल्याब पास भएका कर्बस्टोन ल्याउनु परेको थियो । काममा ढिलाई भएपछि सकिन लागेको म्याद वडाको सकृयतामा थप गरिएकाे थियाे । ढल हालिसकेकाे तर कामले गति लिन नसकेकाे वडाध्यक्ष फुँयालकाे भनाइ छ ।

यहि पुषसम्ममा पिच गरीसक्नु पर्ने ठेक्कामा ठेकेदारको लापरवाहीले समस्या परेकाे वडाध्यक्ष फुँयालले बताउनुभयाे । पानीको निकास र ढलको विषयमा स्थानियसँग बार्ता मिलिरहेको छैन । विभागले पानीको निकास र ढललाई प्राकृतिक हिसाबले बगेकै ठाँउबाट व्यवस्थापन गर्न खोज्दा स्थानियले असमझदारी जनाएका छन् । केहि स्थानियले पानीको निकास र ढललाई स्थानान्तरण गर्न माग राखेका छन् ।
विभागले केहि स्थानियको माग अनुसार पानीको निकास र ढललाइ स्थानान्तरण गर्दा बाटोमा ६ फिट पुर्नुपर्ने हुँदा पुन केहि स्थानिय मारमा पर्छन् । यसरी स्थानियमै किचलो भैरहेकोले पनि निर्माण कार्य अघि नसरेको वडा अध्यक्ष फुँयालको भनाई छ ।








