अजय खत्री
साउन १०, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका कृष्ण मन्दिर अड्डा पाटिमा दुई लाख लिटरको पानी ट्याङकी निर्माण भएको छ । एक घर एक धारा अभियानका साथ गएको वर्ष सुरु भएको पानि ट्याङकी निर्माणको काम सकिएको हो ।
वाग्मती प्रदेश सरकारको त्रिचालिस लाख रुपैयाँमा दुई लाख लिटर क्षमताको ट्याङकी एक वर्ष भित्रै बनेको हो ।
निर्माण सम्पन्न ट्याङकीमा संकलन भएको पानी कागेश्वरी मनोहरा नगरपालिकाको आलापोटको साविक १ वडा बाहेक सबै वडामा पुग्ने फुँयाल बस्नेत गाउँ समितिका अध्यक्ष विमल धिमालले बताउनुभयो ।
उपभोक्ता समितिबाट निमार्णको काम सम्पन्न भएको यो आयोजनाको प्रदेश डिभिजन कार्यालयबाट निरिक्षण समेत भएको थियो । वि.स २०३८ मा निर्माण भएको पुरानो ट्याङकीबाट ३३ वटा सार्वजनिक धारा संचालनमा थियो । पुरानो ट्याङकीमा संकलन भएको पानीले उपभोक्ताको आवश्यक्ता पुरा गर्न नसकेकाले गएको वर्ष डेढ लाख लिटरको ट्याङकी निर्माण गरेर ६ सय ४३ घरलाइ पानी वितरण गरीएको र अबका दिनमा हुने पानीको मागलाई ध्यानमा राखेर दुई लाख लिटरको ट्याङकी निर्माण गरीएको धिमालले बताउनुभयो ।
अब फिल्टर प्यान्टको आवश्यकता समेत खड्कीएको र त्यसका लागि कार्ययोजना बनाएर काम अघि बढेको वडा नम्बर २ का वडासदस्य शिवराम बस्नेतले बताउनुभयो । आलापोट खानेपानी व्यवस्थापन समाज मातहत संचालनमा रहेको आयोजनामा अहिले चार जना कर्मचारी कार्यरत छन् । उनीहरुले रेखदेख, मर्मतसंभार र सेवाशुल्क उठाउने काम गर्दै आएका छन् ।