कबिता चापागाईं
साउन ७ । सरकारले लकडाउन सकिएको घोषणा गरेको छ । गएको चैत ११ गतेदेखि सुरु भएको लकडाउन झण्डै ४ महिनापछि सकिएको हो । चीनको वुहानमा गएको डिसेम्वरदेखि सुरु भएको कोरोना भाइरस अहिले विश्वभर नै महामारीका रुपमा रहेको छ । नेपालमा चीनको वुहानबाट आएका एक विद्यार्थीमा पहिलो पल्ट कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसपछि अहिलेसम्म झण्डै १८ हजारमा संक्रमण भएको छ ।
सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि झण्डै ४ महिना लामो लकडाउन गरेको हो । लकडाउनको मारमा आम सर्वसाधारण सहित साना ठुला व्यापार व्यवसायगर्ने व्यापारी, यातायात व्यवसायी, विद्यालय, सञ्चारमाध्यम जस्ता सबैजसो क्षेत्र परेका छन् ।
काठमाण्डौ उपत्यका भित्र असारको ३० गतेदेखि नै लकडाउन खुकुलो भैसकेको थियो तर साउन ७ गतेदेखि भने देशैभर लकडाउन हटेको छ । सार्वजनिक गाडी चल्ने थालेका छन् । विद्यालय पनि खुलाउने तयारी सुरु भएको छ । स्वास्थ्य सर्तकर्ता सहित राष्ट्रिय र अन्तराष्ट्रिय उडान पनिखुल्ने सरकारले जनाएको छ ।
गएको चैत यता ४ महिनाको लकडाउनले पारेको असर भने तत्काल सकिने अवस्था छैन । लकडाउनले पारेको प्रभावबारे कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीयबासिन्दाको अनुभव यस्तो छ :
थलिबसपार्क स्थित तरकारी पसल राखेर आफ्नो जिविकोपार्जन गर्दै आएकी शान्ती घिमिरे भन्नुहुन्छ, चहलपहल सुरु भैसकेको छ । अब कोरोना भाइरस नै छैन जस्तो लाग्न थालेको छ । तर दिनहुँका खबर सुन्दा र हेर्दा मनको डर हटेको छैन । कोरोना भाइरस झन् झन् बढ्दो छ । सुरुमा त मरिएलाकी भन्ने जस्तो लागेको थियो, तर अब जे सुकै होस् भन्नेमा पुगियो । त्यति बेला नेपालमा खासै भाइरस आइसकेको पनि थिएन । मनमात्रै आत्तिएको थियो । अब त बाँच्नुपर्ने बाध्यता भैसक्यो ।
टाइम्स इन्टरनेशनल कलेज पढदै आउनु भएको सुजन वाग्ले भन्नुहुन्छ, लकडाउन हटे पनि कलेज जान पाएको होइन । पढाई डामाडोल नै भैगो । अब एक वर्ष लस हुने भयो नी । अनलाइनक्लास पनि प्रभावकारी नै भएन । १० दिनजती त अनलाइनमाक्लास भएको थियो । पछि बन्दभयो । सुरुमा त एक दुई हप्ता लकडाउन होलानीभन्ने पो लागेको थियो तर ४ महिनापो बित्न लाग्यो है । क्याबोर समय । इटाली, अमेरिका, ब्राजिल जस्ता देशमा मान्छे मरिरहेको सुन्दा अब नेपालमा पनि त्यस्तै हालतहुने होला भनेको धन्न अहिलेसम्म ठिकै छ । तर हामी जस्ता विद्यार्थीको पढाई र भविष्य चौपट भयो ।
तिवारी टोलमा होटल चलाउदै आइरहनु भएको पुरुशोत्तम धिमाल भन्नुहुन्छ, कोरोनाको जोखिम अब बढ्नेछ । पहिला त खाली डर मात्रै थियो । संक्रमण देखिएकै थिएन । पहिला एक जनालाई कोरोना देखियो रे भन्दा सबै डराउथे, घरभित्रै बस्थे, जे छ त्यहिखान्थे अब हेर्नुस् त ५ सय जनामा संक्रमण देखियो रे भन्दापनि डर छैन । १८ हजार त पुगिसके । चहलपहल फेरी सुरु भयो । लकडाउन सुरु हुँदा डर थियो अब डर हट्यो । कामगर्न नपाएर बालबच्चा भोकै हुने चिन्ता उत्तिकै । नकमाए के खाने पिर, कमाउन गयो कोरोना भित्रिने पिर । सबै पिरैपिर । जे गरेपनि सुख छैन तर आफ्नो दुख नगरी पनि भएन ।
६७ वर्षपुग्नु भएको सोमप्रसाद अधिकारी भन्नुहुन्छ, कोरोनाको डर पहिले भन्दा घट्यो । पहिले यस्तो भिडभाड हुँदैन थियो मान्छेहरु हिड्दा पनि पर पर भाग्थे तर अहिले त्यस्तो छैन । कोरोना कहिल्यै नसुनेको यो उमेरमा सुन्नुपर्यो । यो भाइरसले बुढापाकालाई जोखिम हुने भनेको सुनेर पहिला घरबाहिर नै निस्किन तर अहिले त २ घण्टा जति बाहिर हावाखान निस्कने गरेको छु । म त कोरोना भाइरससँग डराइन तर घरका मान्छे भने कराइ रहन्छन् । तर म सुनेको नसुन्यै गर्छु । डराउन नपर्ने रैछ, तर बाहिर हिड्दा मास्क लगाउने, घरमापुग्दा साबुनपानीले हातधुने जस्ता सरसफाई र स्वास्थ्य सर्तकता अपनाउन सके कोरोना सहित अरु रोगलाग्ने डर पनिहुँदैन ।