अनिता धिताल
असार ३१ काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं. १ कागेश्वरी महादेव मन्दिरमा अब हरेक सोमबार गंगा आरती सञ्चालन गरिने भएको छ । बाग्मती र ढकाल खोलाको संगम स्थलमा रहेको महादेव मन्दिरमा यस बर्ष पनि आरती पूजा सञ्चालन गरिने भएको हो । कोरोना महामारी भएपनि सामाजिक दुरी कायम गरेर हरेक साउनमा जस्तै यस बर्षको साउने सोमबार पनि आरती पूजा लगाइने भएको हो ।
कागेश्वरी मन्दिर तथा घाट सुधार समाजका अध्यक्ष मुकुन्द गजुरेलले २५ जनाको समूहमा आरती सञ्चालन गर्ने र त्यहीअनुसार दर्शनार्थीलाई सामाजिक दुरी कायम गराउन लगाइने बताए । साउन महिनाको सोमबार हिन्दुधर्मावलम्वीले विशेष महिनाको रुपमा मनाउने गर्छन ।
बर्षायाममा बाढीपरिहोको कारणले खेतीपाती र जनधनको क्षति हुने गरेकाले त्यस्तो विपद् नपरोस भन्दै महादेवको आरती गर्ने चलन छ । महिलाहरुको लागी साउनको सोमबार विशेष दिन भएकाले उनीहरुको आग्रहमा सामाजिक दुरी कायम गर्दै गंगा आरतीको तयारी पूरा भएको अध्यक्ष गजुरेलको भनाई छ ।
साउन महिनालाई महिलाहरुले हरियो महिनाका रुपमा मनाउने गर्छन । खासगरी पतिब्रतका लागि महिलाहरुले साउन महिनामा धार्मिक स्थलमा विशेष पूजा गर्नुका साथै धार्मिक मान्यताहरुलाई पछ्याउने गर्छन ।