असार ३१ | साना करदाताले मोबाइल एप्स वा विद्युतीय भुक्तानीका अन्य माध्यमबाट कर तिर्न सक्ने भएका छन् । वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार र दुई लाख रुपैयाँसम्मको आय भएका करदाताले मोबाइल एप्स वा विद्युतीय भुक्तानीका माध्यमबाट कर तिर्न सक्ने भएका हुन् ।
सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा घोषणा गरेको यो व्यवस्था साउन १ गतेदेखि नै कार्यान्वयन हुने भएको हो । यसको लागि नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ भने आय विवरण र कर दाखिला फारमको नमुना पनि सार्वजनिक गरेको छ ।
कर दाखिला गरेपछि चुक्ताको प्रमाणपत्र पनि यसअघि कर कार्यालयबाटै पाइनेमा अब जुन माध्यमबाट भुक्तानी गरेको हो, त्यो माध्यमबाटै लिन सकिनेछ । यसको लागि महालेखा नियन्त्रकको कार्यालय र आन्तरिक राजस्व विभागले सबै तयारी सकेर राष्ट्र बैंकलाई जानकारी गराएको र राष्ट्र बैंकबाट पनि सबै निकायलाई परिपत्र र जानकारी पुगिसकेको आन्तरिक राजस्व विभागले जनाएकाे छ ।