साझा यातायातका बस गुड्ने

असार ३१ । लकडाउनका कारण थन्किएका साझा यातायातका गाडी बिहीबारदेखि चल्ने भएका छन् । साझा यातायातले ८ वटा रुटमा २६ वटा बस गुडाउने भएको हो ।

गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायक सहित साझा चल्दै आएका सबै रुटमा बस चल्ने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

साझाले सरकारले तोकेअनुसार ५० प्रतिशत बढी भाडा लिनेछ । सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पालना गर्ने पाण्डेले बताउनुभयो । अनिवार्य मास्क र खुद्रा पैसा सहित गाडी चढ्न यात्रुलाई साझाले आग्रह गरेको छ ।

यसअघि सोमबारबाट मयूर, संयुक्त, महानगर, सुन्दर यातायात लगायतका बस कम्पनीले काठमाण्डौमा सार्वजनिक बस चलाउन थालेका छन् ।

सरकारले काठमाण्डौ उपत्यकाभित्र एक जिल्ला मानेर र उपत्यका बाहिर एक जिल्लाभित्र मात्रै सार्वजनिक गाडी चल्न सक्नेगरी निर्णय गरेको थियो ।

[sidebar name="button post"]