काठमाडौँ : प्रदेशसभातर्फ स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका अशोक खड्काको कदमबाट स्थानीय उत्साहित भएका छन् । वर्षौदेखि राजनीतिक दलका पार्टीबाट आजित भएका जनताले तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्काको उम्मेद्वारीबाट उत्साहित भएको प्रतिक्रिया दिएका हुन् ।
शनिबार खड्काको स्वतन्त्र उम्मेद्वारी घोषणा कार्यक्रममा आएका अधिकांश युवा, महिला तथा विभिन्न सरोकारवालाले खड्काको स्वतन्त्र उम्मेद्वारीले हौसला तथा उत्साह थपिएको बताएका हुन् ।
काठमाडौँ थलीका स्थानीय गोविन्द रानाले आफूहरु तेक्वान्दो खेलाडी तथा रेफ्रीसमेत रहेका खड्काको उम्मेद्वारीबाट उत्साहित भएको बताए । नेताहरु चुनाव जितेर सांसद, मन्त्री र प्रधानमन्त्री बन्नतिर मात्रै ध्यान दिइरहेको भन्दै अब स्वतन्त्र उम्मेद्वारलाई जिताएर मात्रै विकासको काम गर्न सकिने उनले बताए ।
यसका लागि स्वतन्त्र उम्मेद्वारलाई जिताउनुपर्ने पनि उनीहरुको भनाई छ । यसका लागि आवश्यक सबैले सहयोग गर्नुृुपर्ने उनले बताए । उम्मेद्वारी घोषणापछि आएका प्रतिक्रियाले आफूलाई उत्साह थपिएको खड्काले पनि बताए ।

यस्तै काठमाडौँ साँखुका स्थानीय अजय कार्कीले युवा तथा अन्तर्राष्ट्रिय रेफ्री एवं पूर्व खेलाडी खड्काको उम्मेद्वारीले काठमाडौँ क्षेत्र नं. २ का जनताले स्पष्ट र बलियो विकल्प पाएको बताए । जनता राजनीतिक दलका नेताहरुको सिण्डिकेटका कारण वाक्कदिक्क भएको भन्दै यसपटक चुनावमा भोट हाल्न खड्कालाई बलियो उम्मेद्वार पाएको बताए ।
खड्काको उम्मेद्वारी घोषणासभामा सयौँको सहभागिता रहेको थियो । सहभागी धेरैले खड्का स्वतन्त्र, युवा र केही गर्न सक्ने क्षमता भएको युवा भएकाले राजनीतिमा आश रहने व्यक्तित्व भएको बताएका थिए ।
खड्काले चुनावी प्रतिबद्धताका बुँदाहरु प्ढ्दा स्थानीयले ताली बजार हुटिङ गरेका थिए । स्थानीय विकास गर्ने, शिक्षा र स्वास्थ्यमा राज्यको लगानी बढाएर निःशुल्क बनाउने, बजेटको सदुपयोग गर्ने जस्ता खड्काका चुनावी एजेन्डा छन् ।









