मध्यपुर थिमीको नीलबाराही गण नाच आज संचालन हुँदै

मध्यपुर थिमीको नीलबाराही गण नाच आज संचालन हुँदैछ । यसवर्ष कोरोना भाइरसको संक्रमणका कारण धेरै नै जात्रा, पर्व स्थगित भएको अवस्थामा यो नाच भने संचालन हुन लागेको हो ।

आजबाट शुरू हुने नाचमा स्थानीय भक्तजनको पुजा थाप्ने कार्य भने नहुने मध्यपुर थिमिको वडा नम्बर ८ र वडा नम्बर ९ ले संयुक्त सार्वजनिक सूचनार्माफत जानकारी दिएको छ। भीडभाड नहुने गरी नाचको धार्मिक विधि मात्र पुरा गरेर नाच संचालन हुने सूचनामा भनिएको छ ।

अरूबेला मध्यरातमा शुरू हुने जात्रा आज बेलुकी ७ बजेपछि शुरू हुनेछ । तांत्रिकदेवी नीलबाराही सहित १९ जना देवदेवी सम्मिलित, चारदिन, तीन रातसम्म संचालन हुने नाच बोडेको लाछि, लायकु, लगायत सबैजसो ठाँउमा प्रदर्शन गरिन्छ ।

नेपाल सम्वत ६३३ मा राजा भुवन मल्लले भक्तपुरमा दुर्भक्ष भएका कारण भक्तपुरमा नवदुर्गा नाच, थिमिमा भैरव नाच र बोडेमा नीलबाराही नाच शुरू गर्नु भएको भन्ने वंशावलीमा उल्लेख गरिएको छ भने यो नाच नीलबाराही देवी स्वयमंले नै सिकाउनु भएको भन्ने पनि जनविश्वास छ।