रमिता दंगाल
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा सरकारी जग्गा संरक्षण गर्न ब्याडमिन्टन कोर्ट निर्माण गर्न लागिएको छ । नगरपालिकाको वडा नम्बर ९ का युवाहरु मिलेर १२ आना जग्गामा ब्याडमिन्टन कोर्ट निर्माण गर्न लागेका हुन ।
कोर्ट निर्माण गर्न वडाले साढे ६ लाख रुपैयाँ बजेट दिएको छ । स्थानीय भैमाल युवा क्लबले निर्माण गरिरहेको ब्याडमिन्टन कोर्ट निर्माणका लागि उपभोक्ताले श्रमदान पनि गरेका छन । कोर्ट निर्माण गरेपछि स्थानीय र बाहिरबाट आएका युवाहरुलाई पनि खेल्ने अवसर खुला हुनेछ ।
क्लबका अध्यक्ष सविन दाहालले एक महिनाभित्र कोर्ट निर्माण सक्ने गरी काम भइरहेको जानकारी दिए । गएको जेठ ३२ गते बसेको वडा कार्यपालिकाको बैठकले सरकारी जग्गा संरक्षणका लागि कोर्ट निर्माण गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार कोर्ट निर्माण गर्नुका साथै सार्वजनिक कुवा तथा इनार मर्मतको काम पनि भइरहेको छ । खेल खेल्नु स्वास्थ्यका लागि राम्रो हुने र निरोगी बनाउन मद्दत गर्ने भएकाले ब्याडमिन्टन कोर्ट निर्माण गर्न लागिएको जनप्रतिनिधि र युवाहरुको भनाई छ ।