सर्वोच्चको आदेशले थली सडकको हरिबिजोग !

कृष्ण प्रसाद वाग्ले

काठमाडौं ।

कागेश्वरी मनोहरा नगरपालिकाको वडां नं. ५ थली सडकको बाटो हिड्न यात्रुको संख्या हजारौ छ । दैनिक हिड्नुपर्ने यो बाटो अहिले बाटो होइन, रोपाई गर्ने खेत जस्तै बनेको छ । बर्षाभरी यो सडक हिड्नेले आँखाबाट आशु बगाउनुपर्छ । कैयौ दिन जुत्ता र चप्पल हिलोमा गाड्नुपर्छ । अनि गाडी र बाइकमा हिड्नेले पनि घण्टौ गुजार्नुपर्छ ।

२२ मीटर चौडा पार्ने योजनाका साथ चाबहिल–साँखु सडकखण्ड विस्तार गर्न लागिएको आज होइन । तर बर्षौ बितेपनि अहिलेसम्म सडक विस्तार भइसकेको छैन । थली सडक बाटो छेउमा तरकारी बेच्ने गीता बिसुङ्खे भन्नुहुन्छ, हामीले बर्षौ भयो धुलो खादै तरकारी बेच्न थालेको तर सडक विस्तार भएन । खाली राम्रो सडक पनि भत्काइयो अनी त्यसै छाडियो ।

२०७२ सालदेखी सडक विस्तारको कार्य शुरु भएपनि अझै सडक जस्तको तस्तै छ । यसअघि धेरै पटक म्याद सकिएपनि पटक–पटक म्याद थप गर्दै ठेकेदार कम्पनीलाई सडक विस्तारको जिम्मा लगाउँदा अहिलेको अवस्था आएको हो ।

सर्वोच्चको आदेशले हरिबिजोग !

चाबहिल–साँखु सडकको यो अवस्था आउनुमा सर्वोच्चको पनि आदेश जिम्मेवार छ । सरकारले सडक वरपरका घर भत्काउन थालेपछि स्थानीयले सर्वोच्चमा मुद्दा हाले । सडक विस्तारका लागि घर भत्काउनै पर्ने भएपछि ठेकेदार कम्पनीले डोजर पनि चलायो । तर केही घर भत्काउन डोजरले हान्न थालेपछि स्थानीयले आन्दोलन गरे । केहीले सवोच्चमै मुद्दा हाले ।

भत्काउन बाँकी रहेका ८ वटा घरधनीले सर्वोच्चमा मुद्दा हालेका हुन । केहीले मुआब्जा लिएपनि अझै तीन घरले मुआब्जा लिनै मानेका छैनन् । तर सर्वोच्चले मुआब्जा नदिईकन सडक विस्तार गर्न नहुने भन्दै घरधनीकै पक्षमा अन्तरिम आदेश दियो ।

सर्वोच्चको आदेशले ठेकेदार डोजरमा ताला लगाएर बसे । सडक जस्ताको तस्तै । कागेश्वरी मनोहरा नगरपालिका ५ की वडा सदस्य बबिता कुँईकेलका अनुसार मुआब्जाका लागि फाइल पेश गरेका ५ घरधनीले मुआब्जा पाउदै छन । तर ३ घरधनीले अझै फाइल पेश गरेका छैनन् । जसकारण सडक विस्तारको विवाद लम्बिदो छ ।

बाटोमै घर परेकाहरु मुआब्जा लिन तयार भएपनि दररेट कम भएको गुनासो गर्छन । अन्त जग्गा महंगो भएकाले अहिलेको दररेटले आफूलाई न्याय नहुने उनीहरुको भनाई छ । तर सरकारले यसतर्फ खासै ध्यान दिएको छैन । सडक विभाग, घरधनी, सर्वोच्च र राजनीतिक बेवास्तारले चाबहिल–साँखु सडकखण्ड भएर हिड्ने यात्रु भने बर्षौदेखि धुँलो खाँदै फोक्सो र मुटु बिगार्न बाध्य छन ।