विद्यालय सञ्चालन अन्योलमा

भदौ १ गतेदेखि राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले शैक्षिक संस्था खोल्ने तयारी गरे पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि अभिभावक बालबालिकालाई विद्यालय पठाउने नपठाउने द्विविधामा छन् ।

साउन १ गतेदेखिनै कागेश्वरी मनोहरा नगरपालिकाले नगर क्षेत्रका शैक्षिक संस्था खोल्ने तयारी गरेको थियो । यसका लागि असार १५ गतेदेखि विद्यार्थी भर्ना आह्वान गरेको थियो । साउनदेखि विद्यालय चलाउने वातावरण बनेन । भदौदेखि पनि विद्यालय चल्नेजस्तो वातावरण नदेखिएको अभिभावकको गुनासो छ । कागेश्वरीको ४ का स्थानियहरु विद्यालयमा बालबालिका पठाउन सक्ने वातावरण नदेखिएको बताउँछन् । शिक्षा मन्त्रालयले साउन दोस्रो साता भदौदेखि विद्यालय सञ्चालन गर्ने गरी तयारी गरेको सूचना सार्वजनिक गरेकामा साउन तेस्रो साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १२ वर्षमुनिका बालबालिकालाई घरबाहिर ननिस्कन आह्वान गरेसँगै अन्योल बढेको छ ।

भदौ १ गतेदेखि गोकर्णेश्वर नगरपालिकाले शैक्षिक संस्था खोल्ने निर्णय गरी साउन १८ गतेदेखि विद्यार्थी भर्ना गर्ने निर्णय नगर शिक्षा समितिको बैठकबाट गरेको थियो । संस्थागत एवं सामुदायिक विद्यालयका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको नगरपालिका शिक्षा शाखाले जनाएको छ । केन्द्रीय तहबाट विद्यालय खोल्ने सम्बन्धमा फरक फरक पत्र आएकाले स्थानीय तहबाट कुनै निर्णय नभएको शङ्खरापुर नगरपालिका शिक्षा शाखाले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले सयौँ विद्यार्थी जम्मा गरेर कक्षा सञ्चालन गर्न नसक्ने अवस्था छ ।

बूढानीलकण्ठ नगरपालिकाले पनि यसअघि नै विद्यालय सञ्चालन गर्ने निर्णय गरेकामा राजधानीमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि अन्योल भएको छ । मन्त्रालयबाट साउन १२ गते भएको परिपत्र अनुसार भदौ १ गतेदेखि विद्यालय सञ्चालनको तयारी गरेकामा पछिल्लोपटक नगर क्षेत्रमै सङ्क्रमण बढ्न थालेकाले अन्योल देखिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।