विद्युत् सेवा अवरुद्ध हुँदा सदरमुकामलगायत आसपासका क्षेत्र अन्धकार भएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत गमगाड वितरण केन्द्रको विद्युत्गृहमा रहेको नोजल प्रेसर ट्याङ्कको सेटमा बुधबार रातिदेखि समस्या आउँदा विद्युत् सेवा अवरुद्ध भएको हो ।
छायाँनाथ रारा नगरपालिकाका १४ वडामध्ये विद्युत् सेवा पुगेका ११ वडामा रहेका दुई हजार ८०४ ग्राहक विद्युत् सेवा अवरुद्ध हुँदा अँध्यारोमा बस्नु परेको छ । दैनिक सरकारी कामकाज सञ्चालन गर्न पनि समस्या भएको छ । मुगुका करीब १० हजार घरधुरीलाई लक्षित गरी स्थापना गरिएको गमगाड साना जलविद्युत् आयोजना पटकपटक बिग्रिन थालेपछि स्थानीय बासिन्दाले सास्ती बेहोर्दै आएका छन् ।
कूल ४०० किलोवाट विद्युत् उत्पादन क्षमता रहेको विद्युत् उत्पादन केन्द्रको नोजल प्रेसर सेट मर्मत तथा नयाँ सेट खरिदका लागि नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयमा पत्राचार गरिसकिएको र उक्त सामग्री चीनमा मात्र पाइने हुँदा खरिदका लागि केही समय लाग्ने भएको छ । बत्ती आउने समय यकिन भन्न नसकिने आयोजनाका निमित्त कार्यालय प्रमुख रामबहादुर महतले बताउनुभयो ।