नैनबहादुरको उपचारमा सहयोग जुट्ने क्रम बढदै

 १८ साउन, काठमाडौँ । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि तत्कालीन माओवादी लडाकुका कम्पनी कमाण्डर नैनबहादुर तामाङलाई आर्थिक सहयोग जुट्न थालेको छ । सशस्त्र युद्धमा बम र गोलीका छर्रा लागेर अर्बुद रोग लागेका उहाँलाई केही दिनयता आर्थिक सहयोग लिएर मन्त्री, सांसद र नेताहरु भक्तपुरस्थित डेरामा पुगिरहेका छन् ।

शनिबार नेकपा सुनकोशी गाउँपालिका कमिटीका समन्वयमा वाग्मती प्रदेश सरकारका मन्त्री अरुण नेपाल र प्रदेशसभा सदस्य सरेश नेपालसहित नेकपाका नेता कार्यकर्ता तामाङलाई भेट्न पुग्नुभएको थियो । मन्त्री नेपालले नैनबहादुरको उपचारका लागि रु ७० हजार सहयोग प्रदान गनुभएको छ साथै स्वास्थ्योपचारमा आवश्यक पहल गरिने बताउनुभयो ।

यसअघि पूर्वमन्त्री मोहन बस्नेतले रु ५० हजार सहयोग गर्नुभएको थियो भने वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले एक महिनाको तलब सहयोग गर्ने बताउनुभएको छ ।