१८ साउन, काठमाडौं । बाह्रबीसे–कोदारी सडकखण्ड शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । असार २५ गते राति आएको बाढीपहिराले कटान गरेको अरनिको राजमार्गअन्तर्गत बाह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकाको सक्रियतामा सडक डिभिजन कार्यलय, नेपाल ट्रक कण्टेनर सङ्घ, मध्यभोटेकोशी आयोजनालगायत संस्थाको विशेष सहयोगमा सडक सञ्चालन हुन लागेको हो ।
बाढीपहिराले कटान गरेको अरनिको राजमार्गअन्तर्गत बाह्रबीसे–कोदारी सडकखण्ड हालका लागि अस्थायी रुपमा सञ्चालन गर्नयोग्य भएको छ । सबैभन्दा समस्या रहेको जम्बुमा ह्युमपाइप राखी तीन लाइनको कल्भर्ट निर्माण गरेर अस्थायीरुपमा सडक निर्माण गरिएको प्रमुख विजयकुमार महतोले जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्थायीरुपमा यातायातका साधन सञ्चालन भएसँगै सडक निर्माणका लागि पनि प्रक्रिया शुरु गरिएको छ । अरनिको राजमार्गको खुर्सानीबारी नजिकै ओडार कुना, खाग्गदलमा यसअघि नै अस्थायी रुपमा सडक मर्मत भएपछि यातायातका साधन सञ्चालन भइसकेको छ ।