ताल फुट्ने सम्भावना बढेकाले सचेत रहन आग्रह

छिमेकी मुलुक चीनस्थित न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको छ । त्यसप्रति सचेत रहन जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएकोे छ । ताल फुटेमा भोटेकोशी तटीय क्षेत्रमा क्षति पु¥याउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

अविरल वर्षाका कारणले तिब्बत क्षेत्रमा ताल फुट्ने सम्भावना बढेर गएको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार शनिबार राति देखि भोटेकोशी नदीको बहाव बढेकोे छ। “शनिबार पनि भोटेकोशीको बहाव बढेको थियो, तर ताल फुटेको हल्ला मात्रै हो, जोखिम उत्तिकै छ”, उहाँले भन्नुभयो, “त्यसैले भोटेकोशी तटीय क्षेत्रका बासिन्दालाई हामीले सुरक्षित रहन आग्रह गरेका छौँ ।”

जिल्ला प्रहरी कार्यालयका अनुसार तातोपानीलगायत सबै चौकीका प्रहरीलाई नदीको पानीको बहाव निगरानी गर्न निर्देशन दिएको छ । यसअघि पनि न्यालम क्षेत्रमा भारी वर्षाका कारण ताल फुट्न सक्ने जानकारी आएको थियो । भोटेकोशी तटीय क्षेत्रमा जोखिमपूर्व सूचना प्रणाली राख्न माग भइरहेको र सूचना प्रणाली राख्नका लागि जिल्ला प्रशासन कार्यालयले परराष्ट्र मन्त्रालयलाई यसअघि नै पत्र काटिसकेको छ ।