साउन ८ । सरकारी छाप दस्तखत कीर्ते र ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर महांकाल गाउँपालिका २ बस्ने ४३ वर्षीय हरिशरण महतलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७० चैत १७ गतेको फैसलाले २ वर्ष कैद र ३७ लाख ५० हजार रुपैयाँ जरिवाना भई फरार रहेका महतलाई ललितपुर सातदोबाटोमा लुकिछिपि बसेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
महत समेतले लोप्साङ् लामा र उनकी श्रीमती च्यूङ्ताङ् लामाको नाममा रहेको काठमाडौं नागार्जुन नगरपालिका ५ स्थित कित्ता नम्बर ८१८ को जग्गा मालपोत कार्यालय कलंकीका तत्कालीन खरिदार भिम बहादुर राई समेतको मिलोमतोमा काठमाडौं जिल्ला अदालतबाट जारि भएको अधिकृत वारेसनामा लगायत अन्य कागजातहरु नक्कली बनाई सिन्धुपाल्चोक साबिक फुल्पिङ्कट्टी गाबिस १ बस्ने कमल कुमार श्रेष्ठको नाममा नामसारी गराई कास्की साविक पोखरा उपमहानगरपालिका ३ बस्ने प्रवीणमान श्रेष्ठलाई २०६४ चैत २४ गते ७५ लाख रुपैयाँ मूल्यमा बिक्री गरी सरकारी छाप दस्तखत कीर्ते र ठगी गरेको ठहर भएको हो ।
कसूरमा संलग्न खरिदार भिमबहादुर राईलाई सोही ब्यूरोको प्रहरीले २०७४ जेठ २२ गते पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । महतलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।