साउन ३ । सिन्धुपाल्चोकका बाढी–पहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने भएको छ । बाढी–पहिरोका कारण पूर्ण रुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको हो ।
बाढीग्रस्त क्षेत्रका स्थानीय तहले जग्गा उपलब्ध गराए प्रदेश सरकारले पीडितका लागि आवास निर्माण गरिदिने वाग्मती प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिले निर्णय गरेको हो ।
बैठकले सिन्धुपाल्चोकका बाढी–पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा रहेको समितिले क्षतिको अवस्था हेरी तत्काल स्थानीय तहमार्फत राहत उपलब्ध गराउन लागेको हो ।
समितिले बाह्रबिसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो ।
यसअघि, मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने प्रदेश सरकारले गरेको निर्णय अनुसार राहत रकम तत्काल उपलब्ध गराइने समितिले जनाएको छ ।