भक्तपुर नगरपालिकाले यो वर्ष जात्रा र पर्वलाई औपचारिकतामा मात्रै सीमित गर्ने भएको छ । भक्तपुर नगर कार्यपालिकाको बैठक र सरोकारवालासँगको छलफलले जात्रा एवं पर्वलाई औपचारिकतामा मात्रै सीमित गर्ने निर्णय गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।
साउन कृष्ण चतुदर्शीका दिन मनाउने गथाःमुग अर्थात घन्टाकर्ण पर्व यो वर्ष साउन ४ गते अर्थात आइतबार परेको छ । यो पर्वमा नर्कट तथा छ्वालीबाट बनाइएका घण्टाकर्ण अर्थात गथाःमुगलाई भक्तपुरमा रहेका नेवार बस्तीबाट सर्वसाधारणले बाजागाजासहित प्रत्येक दोबाटो, तीनदोबाटो र चौबाटोमा लगेर जलाउने गरिन्छ ।
त्यसैगरी भाद्र शुक्ल प्रतिपदाको दिनबाट शुरु भई आठ दिन मनाइने गाईजात्रा पर्वलाई पनि औपचारिकतामा मात्रै सीमित गर्ने र घिन्ताङघिसी नाच देखाउन नपाइने, अन्य प्रस्तुतिहरू गर्न नपाइने निर्णय गरिएको भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।