अविरल आएको वर्षाले भीमफेदी–कुलेखानी सडकखण्डको देउराली–गढी र सिमखोलामा गएको पहिरो पन्छाई भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जोड्ने फाखेल सडकखण्डमा आज बिहानदेखि यातायात सेवा सञ्चालनमा ल्याइएको भीमफेदी इलाका प्रहरी कार्यालयले जनाएको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने सिस्नेरीदेखि दक्षिणकालीसम्मको सडकखण्डमा गएको पहिरा पन्छाई बुधबार साँझसम्म भीमफेदी काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
सो मन्त्रालयद्वारा भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने साढे १५ मिटर सडक विस्तार गर्ने क्रममा सम्बन्धित निर्माण व्यवसायीहरुले निर्माण सञ्चालन गरिरहेकाले वर्षात््को पानी अवरुद्ध हुने गरेकाले आगामी केही हप्तासम्मका लागि सबै प्रकारको सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको भौतिक मन्त्रालयका सचिव तेजराज भट्टले बताउनुभयो ।
हेटौँडाबाट काठमाडौँतर्फ जाने सबै प्रकारको सवारीसाधनलाई आवश्यकता हेरी त्रिभुवन राजपथको बाइरोडबाट पठाउने गरिएको र अत्यावश्यक मोटरसाइकल र जीपलाई भीमफेदी कुलेखानीतर्फ पठाउने गरिएको भैँसे प्रहरी चौकीका इन्चार्ज सई कुलबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।