किन किन आज आफैले आफूलाई नियाल्न पो मन लाग्यो । मुल्यांकन गर्न मन लाग्यो आफुलाई नै । सिसाको अगाडी उभिए, सिसामा आकृति देखियो । जुन आकृति देखेर मेरो मनले त्यो आकृति मेरो नै शरिर हो भनेर स्वीकार गर्न सकेन । त्यो आकृति मेरो हुनै सक्दैन किनभने खै त मेरो ओठमा मुस्कान ? खोइ त मुस्कानसंगै पर्ने डिम्पल ? खोइ त ति आँखामा नयाँ नयाँ सपना । खोइ त त्यो अनुहारमा जोस अनि जाँगर । त्यो निराश, भावशुन्य रहेको आकृति मेरो हुनै सक्दैन । फेरीसम्झे त्यो त सिसा पो कहाँ तिम्ले जस्तै भित्र अर्कै बाहिर अर्कै देखाउन सक्छ र ?
आज खोतल्न मन लाग्यो आफ्नै भित्रको चाहना । म किन खुसि हुन सकिरहेको छैन भनेर । के हो त आखिर खुसि ? सोध्न मन लाग्यो । आफै त खुसि हुन नसकेको म, झन् तिमीलाई कसरी खुसि दिन सक्छु र ? मैले चाहेको के हो त, म किन अरु जस्तै खुसि हुन सक्दिन ? यस्तै अनेक प्रश्नको उत्तर खोजिरहेको छु अनि मन जलिरहेको छ हर पल हर समय । जुन मान्छेसंग म पहिला खुसि हुन सक्थे, आज त्यहि मान्छेसंग म खुसि हुन सकिरहेको छैन । आखिर किन यस्तो भैरहेको छ । अब म सक्दिन यसरी भित्र भित्रै जलि जलि तिमीसंग रहन । म उकुसमुकुस भएको छु । मैले ठाँउ खोजिरहेको छु । जहाँ मैले आफुलाई पाउने छु म स्वतन्त्र हुनेछु । सम्बन्धमा रहने ठुलो कुरा रैन छ, तर सम्बन्ध कसरी निभाइरहेको छ या छु त्यो नै ठुलो कुरा रहेछ ।
मलाइ थाहा छ, तिमी मलाइ माया गर्छौ । मलाइ यो पनि थाहा छ, तिमी म संगै जिवन बिताउन चाहन्छौ । तर म तिम्रो मायामा खुसि भेटिन, म तिमीसंग खुसि रहन सकिन । मैले कत्ति पनि महसुस गरेको छैन चलचित्रमा हिरो हिरोइन बिचको जस्तो प्रेम, मलाइ थाहा छ त्यो रियल लाइफ होइन, रिल लाइफ हो । तर प्रेम, प्रेम त हामी त्यसैलाई भन्छौ नि हैन । अनि कहाँ छ त त्यस्तै प्रेम तिमी र म मा । मलाइ यहि कुराले पोलिरहन्छ, अनि म प्रेम खोज्न थाल्छु । त्यो चलचित्रले मेरो साेंचाइमा यस्तो छाप पारेको छ नि सायद त्यसैले मैले तिमीबाट त्यस्तो प्रेमको अपेक्षा गरेको हुन्छु, जुन तिमीले कहिले पुरा गर्न जानेनौ । र म त्यहि कुरा पुरा नभएर जलिरहेछु, चुरोटको ठुटो जस्तै । बस फरक यत्ति छ त्यो जल्दा धँुवा निस्कन्छ अनि म जल्दा आँसु…।
मैले खोजेको त्यस्तो माया हुँदै हैन जुन तिमीले ऐले मलाइ गर्छु भनिरहेकी छौ । त्यसैले म आज निर्णय लिनै पर्छ । म सम्झौता गरेर आफ्नो जिवन बिताउन सक्दिन । यो कुरा सहि हो की म तिमीलाई साँचो माया गर्छु । म तिमीलाई जुन तरिकाले माया गरेको छुनी हो त्यस्तै माया म तिमीबाट पनि चाहना राखेको हुन्छु । तर त्यो कैले पुरा भएन, अब तिमी नै भन हरेक कुरामा हरेक समयमा सम्बन्ध निभाउनको लागि सबै कुरामा मैले मात्रै कम्प्रमाइज गर्नुपर्छ भन्ने छ र ? जवाफ देउ न छ र ? मलाइ थाहा छ प्रेम महसुस हुने कुरा हो तर खोइ त म त्यो अनुभुती किन गर्न सक्दिन ?
म माया माया भन्छु तर तिमी नबुझे जस्तो गर्छौ । हो त्यहि कुराले मेरो मन छिया छिया भएको छ । तिमी परिवर्तन भयौ । तिमीले हाम्रो सम्बन्धलाई हल्का रुपले लिन थाल्यौ, जुन कुरा म सहन सक्दिन । माया भनेको केवल आफु फ्री भएको बेलामा गरिने गफ मात्र त हैन नि । अनि कुनै कपको चिया चुस्की लगाएर छोडिने कम पनि त हैन । मायामा मन, तन खै ? विश्वास खै ? जवाफ छ तिमीसँग ?
तिम्रो बिचारमा के माया भनेको फुर्सदको समयमा कुरा गर्ने अनि बिहान ‘गुड मर्निङ्ग’ र साँझ ‘गुड नाइट’ भन्ने मात्र हो र ? अनि च्याट गर्दै मिस यु, लभ यु भन्दैमा माया गरेको र सम्बन्ध निभाएको हुन्छ र ? तर म त्यसलाई कसरी भन्न सक्छु तिमीले मलाइ माया गर्छौ भनेर, यस्तो लाग्छ, म तिम्रो फुर्सदमा टाईम पास गर्ने एक साधन मात्र हँु, जुन तिम्रो हिसाबले यूज गरिरहेकी छौ । तिमीसंग टाईम छ र तिमीलाई भेट्न मन लागेको छ भने भेट्ने अनि फुर्सदमा कुरा गर्ने के म मेसिनबाट बनेको रोबोर्ट हो र म संग त मन छ । मैले त महसुस गर्न सक्छु । मलाइ त दुख्छ, म संग त भावनाहरु तरंगित हुन्छन् । खोइ त तिमीले त्यो कुराको महसुस गरेको ?
अब तिमी नै भन न म कसरी खुसि छु भन्न सक्छु । म तिमीसंग भेट हुनु भन्दा पहिले एकदम खुसि थिए । किन थाहा छ, किन कि त्यति बेलासम्म कुनै चाहना थिएन, अझ भनौ मलाई तिमीबाट कुनै पनि कुराको अपेक्षा नै थिएन । तर जब तिमीसंग भेट भयो मनमा अनौठो अनुभुति पैदा भयो । तिमीसंग समय बिताउन मन लाग्यो । तिमीसंग आफ्ना मनका सबै चाहनाहरु फुकाउन मन लाग्यो । तिम्रो त्यो मुस्कानमा हराउन मन लाग्योे । अनि तिमीसंगै जिवन बिताउन पाउँ भन्ने चाहना हुन थाल्यो र म त्यसैलाई प्रेम भनेर स्वीकार गर्न थाले ।
तर अपशोच तिम्रो मायाको परिभाषा र मेरो मायाको परिभाषा अलग अलग रैछ । ऐले बुझे मान्छेहरु किन दुखि हुन्छन् भनेर अनि किन खुसि हुन सक्दैनन् भनेर । जब परिस्थिति हाम्रो अनुकुल हुँदैन त्यसलाई हामीले महसुस गरेर हाम्रो मनलाइ समालेर सन्तुलन गराएर अघि बढेका हुन्छौ । तर जब हामीले सर्बस्व मानेको मान्छे नै परिवर्तन हुन खोज्छ तब मान्छे भित्र भित्रै जल्न थाल्लो रैछ । अहिले मलाइ ठ्याक्कै त्यही भएको छ ।
म तिमीबाट त्यति धेरै अपेक्षा गरेको छैन, जुन तिमीले पुरा नै गर्न सक्दैनौ । म त खालि मलाई टाइम दिने गर, मेरो केयरको रेस्पोन्स दिने गर, मेरो कलको रेस्पोन्स दिने गर, अनि मलाइ पनि मेरो साथमा तिमी हमेसा छौ है भन्ने कुराको महसुस गराउ । तिमीलाई थाहा थियो म सानो सानो कुरामा खुसि खोज्छु । मलाइ तिमीले समय समयमा ‘तिमी कता छौ ? के गर्दै छौ, सन्चै छौ ? त्यत्ति भन्यो भनेपनि खुसि मिल्थ्यो । मलाइ महसुस हुन्थ्यो तिमीले मलाइ माया गर्छौ र मेरो केयर गर्छौ भनेर तर तिमी त मैले बोलाउदा मात्र र मैले सम्झदा मात्र त्यो पनि तिमी फुर्सदमा छौ भने मात्रै रेस्पोन्स गर्ने । अनि त्यसलाइ म कसरी मलाइ माया गर्छौ भनेर बुझ्ने तिमी नै भन त,,,,
तिमीले जसरी अरु कामको लागि टाइम निकाल्छौ नी हो त्यसै गरि नै मेरो लागि पनि टाइम निकाल्ने गरेको भए म बुझ्थे होला तिमिले मलाइ कत्ति माया गर्छौ भनेर । तर बिडम्बना, मैले चाहे जस्तो मान्छे तिमी बन्न सकिनौ, म त्यस्तो मान्छे भएको छु जो हजारौको बिचमा बसेर पनि आफुलाई एक्लो देख्छु । म त्यस्तो मान्छे भएको छु हजारौसंग बोल्दा पनि आफू बोले जस्तै लाग्दैन । म त्यस्तो मान्छे भएको छु सयौलाइ भेट्दा पनि कसैलाई भेटेको छु जस्तै लाग्दैन ।
मैले के खोजिरहेको छु र कसलाई कुरिरहेको छु म आफैलाई पनि थाहा छैन । तर कसैलाई अवस्य कुरिरहेको छु । यो मनले त्यो मान्छेलाइ कुरिरहेको छ, यो मनले जो मेरो मान्छे बनोस अनि मेरा लागि बनोस, म संग मात्रै बोलोस् अनि मेरो मात्रै सुनोस् । म त्यस्तो मान्छे भएको छु जो आफैभित्र हराएर बाहिर खोजिरहेछु, म त्यस्तो सपना देखिरहेछु जो आफै सपना बनिरहेछु, म त्यो मान्छे खोजिरहेछु जो मेरो कैले थिएन ।
ए मेरा आफ्ना भनिएका मान्छेहरु हो, मलाई मेरै हालतमा छोडी देउ किन कि मलाइ बानी परिसक्यो एक्लै बस्नको लागि । मलाइ बानी परिसक्यो आफु भित्रै हराउनको लागि, मलाइ किन खोज्छौ तिमी यता उता । म त आफु भित्रै हराएको छु, मलाई नसोध त किन बोल्दैनस् भनेर म त आफुसंग पनि बोल्न छोडिसकेको छु । म शुन्य भएको छु । अब तिमी के अपेक्षा राख्छौ मबाट । म त आफै रित्तिएको छु । तिमी म संग झुट बोलिस् भन्छौ मत स्वयम आफैसंग पनि साँचो बोल्दिन । तिमी मेरो कुरा बुज्दैनौ भन्छौ म त म स्वयम मेरै कुरा बुझ्न सकिरहेको छैन ।
त्यसैले मलाइ स्वतन्त्र छोडी देउ । म फेरी फर्कन चाहन्छु, त्यहि पुराना दिनहरुमा जहाँ म तिमीलाई चिनेकै थिएन र कसैसंग पनि केहि कुराको चाहना हुने थिएन । अनि अनुहारमा सानो सानो कुराले दिने खुसि झझल्किरहेको हुन्थ्यो । कत्ति धेरै खुसि मिल्छ जब हामी सानो सानो कुरामा खुसि हुने गर्छौ । कसैसंग पनि केहि चाहना राखेका हुँदैनौ, हामि आफ्नै संसारमा रमाइरहेका हुन्छौ । हो मैले बल्ल महसुस गर्दैछु जुनप्रेममा अपेक्षा मात्रै राखिन्छ त्यो प्रेमबाट खुसि कैले मिल्नेछैन । हामीले जीवनको यर्थाथतालाई स्वीकार गर्न सक्नुपर्छ, र धरातलमा नै उभिएर प्रेम गर्नुपर्छ ।
लेखक बिस्नु खनाल











