छापामारको रातो पट्टि
कसले भन्यो?
इमान्दारी खरिद बिक्री हुँदैन !
लाचार तिम्रा योजनाका चाङहरू
बेसरम भएर उभिरहँदा
एकपटक खुकुरीका धारले रेटिएका
घाँटीहरुलाइ सम्झिनु
र सोध्नु फलामका काँटी
ठाेकिएका शरीरलाइ
अनि सोध्नु उनलाइ
जस्का यौनी परिपक्व नहुँदै
घुसारेका थियौ छापामारको
रातो पट्टि बाँधेर
यौन भोगहरु
आफ्नो जिवनको बेपर्वाह गर्दै
खेत बाझै छाेडेर
उनीहरु चाहान्थे
आँगनमा क्रान्ति |
दुइ छाके भोक घरमा छोडेर
हिडेका सपनाहरु
तिम्रा उपलब्धिलाइ झक्झकाउन
दिनहुँ चार काँधकाे सहारा माग्दै
रातो बाकसबाट प्रश्न गरिरहँदा
सर्वहाराको लागि
कहिल्यै नबनेको तिम्रो स्वाभिमान
उही सिंहदरबार भित्रै
आराम गरिरहन्छ |
बाकस भित्रैबाट देखिरहेछ उसले
भुँडिले थिचेको
कुर्सीले मिचेको
तिम्रो सिद्दान्त
जिउँदै गाडिएका
खाल्डो बाहिरको माटोले
अझै थेक्दैछ
तिम्रा जुत्ताका छापहरु |
उनका मागहरु
तिम्रो सत्ता र व्यवस्था जस्तो
फेरिएका पनि त थिएनन
तिनका विद्रोह
तिम्रा भाषण जस्तो
अतार्किक पनि त थिएनन
कहिलेकाहिँ कालो विचार
बानेश्वर मै छोडेर
कालै सिसा खोलेर हेर्नु
सडकका दृश्य जो मजबुर छन
भोकै पेट राष्ट्रभक्त बन्न
सुन्नु तिनका चिच्याहट
जो सधै रक्षक भएर उभिए |
न छ अब उनीहरुलाइ
कुनै परिवर्तनको आशा
न हुनेछ अब कहिल्यै
तिम्रो आश्वासन
माथि भरोसा









