गुराँस फूल्ने प्रतीक्षमा गुराँसे….

धर्मेन्द्र झा

लालिगुराँस नेपालको राष्ट्रिय फूल हो । हाम्रा विद्यालयीय पाठ्यक्रमका माध्यमबाट पहाडको लेकमा फूल्ने यो सुन्दर फूलबारे वेसी र तराई–मधेशका बालबालिकाले पनि राम्रै जानकारी राख्दछन् । यो कुरा अलग हो कि तराईमा हुर्केका थुप्रै व्यक्तिले आफ्नो सम्पूर्ण जीवनमा यो फूललाई प्रत्यक्ष देख्ने अवसर पाउँदैनन् । हाम्र्रो यो राष्ट्रिय फूल एक निश्चित उचाईपछि उत्तरी भूगोलमा पूर्व–पश्चिम नेपालका विभिन्न ठाउँमा पाइन्छ । गुराँस अनेक रंगका हुन्छन् ।

तर यो मुख्य फूलको रंग रातो हुन्छ । शायद यसै कारण पनि रातो (लाल) गुराँसलाई लालिगुराँस भनिएको हुन सक्छ । माथि पनि चर्चा गरियो, देशका विभिन्न ठाउँमा लालिगुराँस पाइन्छ । वृहत परिणाममा लालिगुराँस पाइने यस्तै ठाउँमध्येको एक हो गुराँसे । मोटरका माध्यमले सुर्खेतबाट पश्चिम–उत्तर कर्णालीतर्फको यात्रा गर्दा दैलेख जिल्लाको पहिलो गाउँपालिका हो गुराँस ।

यही गुराँसलाई स्थानीय स्तरमा जनजीब्रोले गुराँसे भनेर उच्चारण गर्दछ । यहाँ गुराँस धेरै पाइने भएकाले यस ठाउँलाई गुराँसे भनिएको हो । सुर्खेतबाट उकालो लागिसकेपछि करिव १४–१५ किलोमिटरको यात्रापछि रानीमत्ता भन्ने ठाउँ पर्दछ र लगत्तै आउँछ गुराँसे ।

गुराँसेको यात्रा मैले यसअघि पनि धेरैपटक गरिसकेको छु । सडक पक्की नहुँदै पहिलोपटक मैले यस सडकमा २०६७ सालमा यात्रा गरेको हुँ र दैलेख पुगेको हुँ । त्यसवेला म नेपाल पत्रकार महासंघको अध्यक्ष हुँदा मध्यपश्चिमका पत्रकारहरुको क्षेत्रीय भेला दैलेखमा आयोजन गरिएको थियो ।

धुले सडकमा धुलाम्मे हुँदै त्यसवेला गरिएको दैलेखको यात्रा मेरालागि अहिले पनि स्मरणीय छ । त्यसैवेला पहिलोपटक मैले गुराँसे पनि टेकेको हुँ । दिउँसोको खाना त्यही खाइएको थियो, शायद दीपक जीको होटलमा । यो बाटो हुँदै यात्रा गर्ने सवारी साधनका यात्रुहरुले दिउँसोको खाना खाने एक महत्वपूर्ण र विश्वसनीय ठाउँ हो गुराँसे ।

यो स्थान पहिलो दृष्टिमै मलाई मन परेको ठाउँ हो । त्यसपछि मैले यो ठाउँको अनेकपटक यात्रा गरेँ । प्रत्येकपटक गुराँसे मलाई नयाँ र आकर्षक लाग्छ । प्रत्येक दृष्टिमा यो ठाउँमा मैले केही परिवर्तनको अनुभव गरेको छु । मलाई सुर्खेत भ्रमणको अवसर प्राप्त हुँदा कम्तिमा एक रात गुराँसेमा विताउने लक्ष्य राख्दछु र म यसमा प्रायः सफल पनि हुने गरेको छु ।

गुराँस फूल्दा र नफूल्दाको अवस्थामा दुई पृथक ठाउँको आनुभूत हुने यो ठाउँ गुराँस नफुलेको वेलामा प्रायः उजाड र नागां डाँडाँको समूहजस्तो देखिन सक्छ तर यति हुँदाहुँदै पनि यहाँका डाँडाँ पाखामा देखिने प्राकृतिक दृश्य र सूर्योदय एवं सूर्यास्तको अवस्थामा सूर्यको उपस्थितिले मनमोहक छवीको सिर्जना गर्दछ ।

  • देश संघीय संरचनामा गएपछि गुराँसेको भूगोल र राजनीतिमा पनि परिवर्तन आएको छ । विगतमा वरिपरि छरिएर रहेका केही गाउँपालिकाहरु समेटेर बनेको नयाँ गाउँपलिका हो गुराँस । परिवर्तित राजनीतिक परिवेशमा यस गाउँपालिकाका वासिन्दाले अध्यक्षका रुपमा निर्वाचित गरेका छन् खेमराज वलीलाई ।

गुराँस फूलेको वेलामा त यस ठाउँको मनमोहकताको वयानै गर्न सकिँदैन । रातो, रातो अनि रातो । सर्वत्र रातो रंगको गुराँसमा पोतिएको गुराँसेको नाम वास्तवमै त्यतिवेला सार्थक हुन्छ । कुनै नवविवाहिता नवयौवना रातो साडी, लहँगा र चुनरीमा सजिएजस्तो देखिने गुराँसे प्रत्येक नेपालीले एकपटक पुग्नैपर्ने गन्तव्य हो भन्दा फरक पर्दैन । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन सक्छ गुराँसे । यसमा विमति हुन सक्दैन ।

माथि पनि चर्चा गरियो, मैले गुराँसेको भ्रमण यसअघि पनि धेरैपटक गरेको छु । पहिलापहिला यहाँको भ्रमणको उद्देश्य नितान्त प्राकृतिक रसपान हुने गर्दथ्यो । तर अबको यात्रा त्यतिमा मात्र सीमित हुने गरेको छैन ।

देश संघीय संरचनामा गएपछि गुराँसेको भूगोल र राजनीतिमा पनि परिवर्तन आएको छ । विगतमा वरिपरि छरिएर रहेका केही गाउँपालिकाहरु समेटेर बनेको नयाँ गाउँपलिका हो गुराँस । परिवर्तित राजनीतिक परिवेशमा यस गाउँपालिकाका वासिन्दाले अध्यक्षका रुपमा निर्वाचित गरेका छन् खेमराज वलीलाई ।

अध्यक्ष वली र उनको टिमले गुराँसलाई विकासको यात्रामा अघि बढाउन महत्तवपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । माथि चर्चा गरेजस्तै मैले पछिल्ला दिनमा गुराँसको यात्रा गर्ने अर्को कारण हो, यहाँको विकास यात्रा र विकासका नयाँ योजनाको निर्माण । मेरो ठम्याई हो, खेमराज स्वप्नद्रष्टा हुन् । उनले यहाँको विकासका लागि अनेकौ योजना तर्जुमा गरेका छन् ।

उनको गुनासो छ, योजनामात्र बनाएर हुँदो रहेनछ, त्यसको कार्यान्वयन् महत्वपूर्ण हो र यसका लागि आर्थिक जोहो सबैभन्दा महत्वपूर्ण हुँदो रहेछ । उनको अनुभव छ, गुराँस गाउँपालिकामा अर्थोपार्जनको पर्याप्त स्रोत तथा आधार छैन र संघ तथा प्रदेश सरकारबाट पर्याप्त आर्थिक सहयोग प्राप्त गर्न भइरहेको छैन । उनले एक विकल्प सोचेका छन्, गुराँसको विकासका लागि गुराँसलाई नै प्रयोग गर्ने । उनले पछिल्ला दिनमा यहाँको विकासका लागि अन्य योजना तर्जुमासँगै गुराँसको वहुप्रयोगको योजना पनि बनाएका छन् ।

यद्यपि उनका योजनाले अहिले पूर्णतः कार्यरुप पाइसकेका छैनन तर ती सबै योजना कार्यन्वयन्का दिशामा भने अघि बढेका छन् । यी सबै योजना र यहाँको विकास प्रयासका बारेमा थाहा पाउन पनि गुराँसको यात्रा गर्नु आवश्यक छ । यस अर्थमा सांकेतिकरुपमा भन्ने हो भने गुराँसमा विकासको गुराँस फूलिसकेको छैन, फूल्ने प्रतिक्षामा छ, ठीक त्यसरी नै जसरी प्राकृतिकरुपमा पनि गुराँस अहिले फूलिसकेको छैन तर कोपिलाहरुले भाविष्यको संकेत गरिसकेका छन् ।

यसपटक फेरि गुराँसको यात्रा गर्न पाउने अवसर जुर्यो । म र मेरी श्रीमति (मुन्नी) सुदूरपश्चिमको यात्रापछि नेपालगञ्ज आइपुगेका थियौं । नेपाल प्रेस युनियनको जिल्ला अधिवेशन थियो माघ २९ गते । यही अवसर पारेर युनियनको जिल्ला समितिले अग्रज पत्रकार प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता चाचाजीको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कार पहिलोपटक मलाई प्रदान गरेको थियो । सोही अवसरमा सुशील कोइराला पत्रकारिता पुरस्कार अग्रज पत्रकार तारानाथ दाहाललाई र जगन्नाथ गौडेल पत्रकारिता पुरस्कार दीपा आलेलाई प्रदान गरिएको थियो ।

यही प्रयोजनका लागि हामी नेपालगञ्ज पुगेका बेला प्रेस युनियनका नेता पूर्व महासचिव शिव लम्साल र वर्तमान सचिव खिला कार्की पनि भेटिए । गफगाफमै सुर्खेतसम्म जाने योजना बन्यो भोली विहान अर्थात् फागुन १ गते ।  फागुन १ गते करिव नौ बजे हामी अर्थात् म, मुन्नी, शिव र खिला, सुर्खेतको यात्रातर्फ लाग्यौ । हामी सबैको सुर्खेतको यो नै पहिलो यात्रा नभए पनि मुन्नीका लागिे भने कोहलपुरभन्दा सोझै उत्तरको यात्रा यो नै पहिलो थियो ।

मैले उनलाई बाटाका महत्पूर्ण ठाउँसँग सम्बन्धित भौगोलिक जानकारी दिने प्रयत्न गरिरहेको थिएँ । वैजनाथ गाउँपालिका, चीसापानी, व्यारेक, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र, बबई, छिन्छु, जाजरकोट–रुकुम जाने बाटो, भेरी, सुब्बाकुना अनि सुर्खेतको सदरमुकाम वीरेन्द्रनगर । यो नगरसँग मेरो बाल्यकालका महत्वपूर्ण स्मृति जोडिएको कुरा पनि मैलै मुन्नीलाई जानकारी गराएको थिएँ ।

यहा मैले ६ कक्षाको केही महिना, सात कक्षा पुरै र आठ कक्षाका प्रारम्भका केही दिन स्थानीय जन मा वि मा अध्ययन गरेको थिएँ २०३७÷३८ सालतिर । त्यसवेला मेरा पिताजी श्री राजेन्द्र झा यहाँ क्षेत्रीय घरेलु उद्योग कार्यालयको प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो । यस अर्थमा यो नगरसँग मेरो पुरानो र आत्मीय सम्बन्ध छ । यसबीचमा यो नगर धेरै परिवर्तित भएको छ ।

सम्भवतः मैले घुमेको नेपालका नगर वजारमध्ये सर्वाधिक तीव्र गतिमा फेरिएको नगर यही नै हो । त्यसो त ३७÷३८ वर्षको समय थोरै होइन । तथापि वीरेन्द्रनगरको परिवर्तको प्रवाह हेर्दा यो समय धेरै भएजस्तो लाग्दैन । खायर, मैले मेरी श्रीमतिलाई मैले अध्ययन् गरेको जन मावि, त्यसवेला हाम्रो परिवारले निकै बढी मान्ने र पुज्ने गंगामाला देउती वज्यै, केटाकेटीमा हुरिँदै पुग्ने वुलवुले ताल, भर्खरै सिकेको साइकलको अभ्यास गर्दै पुगेको लाटिकोइली र काँक्रेविहार आदी आदी सबैका बारेमा मैले मुन्नीलाई बताएको थिएँ ।

मलाई पूरा यकिन थियो, मैले आफ्नो विगतको कथाको चर्चा गरिरहँदा शायद शिव र खिलाले पनि कान थुनेका थिएनन् । हामीले देउती वज्यै, वुलवुले ताल र काँक्रेविहारको घुमघाम फागुन २ गते गरेका थियौं ।

हामीले आउँदा बाटोमा पर्ने बबईमा खाना खाईसकेका थियौ । हामी नेपालगञ्जबाट हिँडेदेखि नै सुर्खेतका मित्रहरु मोती पौडेल, खगेन्द्र भट्टराई, नरेश थापा र कमल पन्तसँग सम्पर्कमा थियौं । हामी वीरेन्द्रनगर पुग्दा मित्रहरु होटल भ्याली भ्यूमा हामीलाई कुरिरहेका थिए । हामी त्यही भेटियौ । चिया कफी खाइयो । त्यहीँबाट अर्का मित्र क्षत्रमणि गिरीलाई फोन गरी कुराकानी गरियो ।

अब राती कहाँ बस्ने कुरा चलेपछि मैले गुराँसेका बारेमा चासो व्यक्त गरेको थिएँ । त्यसो त यसबारेमा मोतीसँग पहिला नै कुरा भएको थियो । मैले अध्यक्ष खेमराज जीलाई आग्रह गर्न भनेको थिएँ । उनीसँग सम्पर्क हुन सकिरहेको थिएन । हामीले एउटा गाडीको जोहो गर्यौ र म, मुन्नी, शिव र मोती गुराँसेतर्फ प्रस्थान गर्यौ र खिला तथा खगेन्द्र मोटरसाइकलबाट त्यसतर्फ प्रस्थान गरे ।

गुराँसे पुग्दा करिव ६ वजिसकेको थियो । डुव्न लागेको सूर्यको दृश्य बडो मनमोहक थियो । हाम्रो वासको व्यवस्था थियो होटल कर्णालीमा । यो त्यही होटल थियो, जहाँ मैले गत वैशाखमा करिव १० दिन रात बिताएको थिएँ । घरायसी वातावरण बनेको थियो । होटल सञ्चालक÷सञ्चालिका मेरा पूर्वपरिचित थिए । होटलमा परिवर्तन आाइसकेको रहेछ ।

अघिल्लोपटक एकतल्ले यो होटेल यसपटक त तीनतले पो बनिसकेको रहेछ । होटेलकोे तेस्रो तलाको कोठामा हामीले झोलाझम्टा राख्यौ र सूर्यास्त हेर्दै केहीबेर गुराँसे चोकसम्म पुग्यौं । यहाँ दीपक जीको होटेलमा चीया खायौं । दीपक जीसँग पनि मेरो पूरानो परिचय हो । अघिल्लोपटक वैशाखमा दश दिन जति बस्दा यहाँ धेरै व्यक्तिसँग मेरो व्यक्तिगत परिचय छ ।

दीपक जी पनि तिनैमध्येका हुन् । गुराँसे तुलनात्मकरुपमा चीसो ठाउँ हो । यहाँ जाडो बढी हुन्छ । झन हावा चलेछ भने त चीसोको मात्रा निकै बढ्छ । आज पनि हावा चलिरहेको थियो । चीसो बढेको थियो । गुराँस अहिलेसम्म नफूलेकोले रुखबाट गुराँस झर्ने सम्भावना भने थिएन ।

हामीले रात त्यही होटलमा बितायौं र भोलीपल्ट विहान सुर्खेततर्फ लाग्यौं । फागुन २ गते हामी अत्यन्त व्यस्त रहने सम्भावन थियो । श्रीमति जीलाई वीरेन्द्रनगरका केही स्थान घुमाउनु थियो । वीरेन्द्रनगरका मेयर देव सुवेदी, क्षत्रमणी गिरीलगायतका केही साथी भाई र केही नेता जीहरुलाई भेट्नु थियो र आजै नेपालगञ्ज पुगेर काठमाडौ जानुपर्ने थियो । यिनै योजनाहरु बनाउँदै हामी होटेलबाट बाहिरियौं ।

बाहिरिनेवित्तिकै एउटा टिपर गाडी भेटियो । शिव लम्साल जीले आफ्नो वक्पटुताले कुरा मिलाए र हामी त्यही गाडीमा सुर्खेत प्रस्थान गर्यौं । सूर्योदय भएको निकै भइसकेको थियो । गुराँस नफूलिसकेकोले गुराँसेका गुराँसका रुखहरु नांगा देखिन्थे । तर बोटमा कोपिला भने लागिसकेका थिए । गुराँस फूलिसकेका त थिएनन् तर छिटै फूल्ने प्रतीक्षमा थिए, ठीक त्यसरी नै जसरी गुराँसेमा विकास फूल्न खोजिरहेको छ ।

[sidebar name="button post"]