यमुना सापकोटा
भनिन्छ नङ र मासुको सम्बन्ध एकदमै घनिष्ट हुन्छ, त्यस्तै एक शिक्षक र विद्यार्थीबिचको सम्बन्ध पनि नङ र मासु झैं हुन्छ। शिक्षक र विद्यार्थी एकआपसमा अन्तरसम्बन्धित हुन्छन्। विद्यार्थीको भविष्य उज्जवल पार्नका लागि शिक्षकले धेरै योगदान दिएका हुन्छन्। शिक्षक चाहान्छन् उनीहरुले पढाएका हरेक विद्यार्थी अब्बल हुन्। सामान्यरुपमा हेर्ने हो भने शिक्षक शब्दमा ‘शि’ ले ”शिखरमा लैजाने मान्छे” , ‘क्ष’ ले ”क्षमा गर्ने व्यक्ति” र ‘क’ ले ”कमजोरी दूर गर्ने व्यक्ति” को रुपमा पनि शिक्षकलाई लिन सकिन्छ। एक शिक्षक नै हुन् जो विद्यार्थीलाई सहि बाटोतिर लम्किन प्रोत्साहित गर्दछन्। यसकारण विद्यार्थी जीवनमा शिक्षकको अहम भूमिका हुन्छ।
वर्तमान समयमा मानिसहरु आधुनिकता तिर धकिलिंदै गईरहेका छन् जसको प्रत्यक्ष असर शिक्षक र विद्यार्थीबिचको सम्बन्धमा प्रष्ट देख्न सकिन्छ। प्राय: विद्यार्थीहरू शैक्षिक प्रमाणपत्र प्राप्तिका लागि अझ भनौं त अरुलाई मैले पनि पढेको छु है भन्ने देखाउनका लागि मात्रै अध्ययन गरिरेहका छन्। थोरै शिक्षक छन् जो खुल्ला मनले शैक्षिक क्षेत्रमा आबद्द भै सदैब विद्यार्थीका लागि हरेक कुरामा अग्रसर हुन्छन्। त्यस्तै यता विद्यार्थीहरु पनि कमै छन् जो सच्चा हृदयले पढाईमा रुचि राख्दछन्।
विद्यार्थीहरु विभिन्न किसिमका हुन्छन् कोहि जान्ने हुन्छन् त कोहि नजान्ने पनि । चाहे जान्ने विद्यार्थी होस् या त नजान्ने विद्यार्थी, उनीहरुको पढाईमा रुचि घट्दै जानुका पछाडी धेरै कारणहरु हुनसक्छन्। जसमध्ये शिक्षकले गर्ने व्यवहार पनि एक हो। जुन हो जान्ने र नजान्ने विद्यार्थीबिचको भेदभाव। यस्ता भेदभाव कतिपय त हामी आफैंले पनि देखेका हुन्छौं अर्थात् हामी आफैंले पनि भोगेका पनि छौँ। स्कुल होस् वा कलेजमा नै किन नहोस् हरेक शिक्षकको एउटा मनपर्ने विद्यार्थी हुन्छ र त्यसमध्ये पनि प्राय कक्षा भरिकै सबैभन्दा जान्ने विद्यार्थी नै पर्दछन्। सायद कमै शिक्षक होलान् जसको मनपर्ने विद्यार्थीमा नजान्ने विद्यार्थी पर्दछन्।
जब कुनै शिक्षक कक्षाभित्र प्रवेश गर्नुहुन्छ उहाँ हरेक विषयको कुरा गर्दा पनि जान्ने विद्यार्थीको मात्र नाम लिने गर्नु हुन्छ। शिक्षकले विभिन्न प्रकारको क्रियाकलापहरु दिईरहनु भएको हुन्छ। जुन हरेक विद्यार्थीले पूर्ण रुपमा गरेका हुन्छन्। तर पनि शिक्षकले जान्ने विद्यार्थी कै मात्र गुनगान गर्नु हुन्छ। तर ति नजान्ने विद्यार्थी नि ? नजान्ने विद्यार्थीले जति नै लेखे अथवा पढे पनि ति शिक्षकले उनीहरुलाई कहिल्यै राम्रो देख्नु हुन्न।
उनिहरुलाई अझ यो के गरेको भएन यसरी गर्ने हैन, अलिक राम्रोसंग पढ, जहिल्यै हल्ला मात्र गर्छ पढ्ने कहिल्यै होइन भन्दै उल्टै गाली गर्नु भएको देख्न सकिन्छ। यसरी उनीहरु पहिल्यैबाट एक त पढाईमा कमजोर भएका हुन्छन् अझ शिक्षकले यसरी विद्यार्थीलाई भनिरहंदा उनीहरुलाई मानसिक असर पर्दछ जसकारण उनीहरु पढाईमा अघि लाग्नुको सट्टा अझ पछि परिरहेको हुन्छन।
विद्यार्थी यदि नजान्ने छ अथवा पढाईमा ध्यान दिंदैन भने एक शिक्षक भएको नाताले उसले के कारणले यसो गर्दैछ त ? किन यो जहिल्यै फेल हुन्छ वा दिएका कार्यहरु पुरा गर्दैन ? यो विषयमा ध्यान दिन जरुरी देखिन्छ। यसरी तपाइँले उनीहरुलाई वास्ता गरिरहँदा उसका हरेक क्रियाकलापमा तिमि यसो गर राम्रो हुन्छ, तिमि यसो चाहिँ नगर है तिम्रो लागि राम्रो हुँदैन भनेर सम्झाउन सक्नु भयो भने पनि उसले पढाईमा ध्यान दिन थाल्छ।
तपाईंले विद्यार्थीलाई गर्नु भएको व्यवहारले पनि विद्यार्थीको पढाईमा भनौं वा उनीहरुको व्यक्तिगत जीवनमा पनि धेरै असर परिरहेको हुन्छ। त्यसैले हरेक शिक्षकलाई आफ्नो विद्यार्थी प्रति समान व्यवहार प्रकट गरिदिनु हुन अनुरोध छ। यदि तपाईंले गरेको सानो व्यवहारले विद्यार्थी पढाईप्रति प्रेरित हुन्छ भने किन पछि हट्ने त ?









