हरेक ठाउँमा हुने महिला हिंसाको धेरैजसो कारक पुरुष नै हुन्, पुरुषका सम्झौता मै महिलाको क्षमता बन्देज

महिला राष्ट्रपति भएको देशमै महिलाले आफ्नो स्वतन्त्रता गुमाउनु, महिला हकअधिकार सुनिश्चित नहुनु, महिला अन्यायमा पर्नु पितृसत्ताको मात्र दोष देखाउंदै पुरुष लाई मात्र दोषीको पात्र बनाउनु, यो एक्काइसौं युगको सफलता होइन जस्तो लाग्छ ।

आज महिलाहरुले बारम्बार पुरुषहरुलाई मात्र महिला शोषण दमन र हिंसाको कारक,बाधक भनेर जिकिर गरि रहंदा योग्यता क्षमता र साहस भएका र यो पुरातन सत्तासँग लड्न सक्ने क्षेमताभएका र आफुमा र आफ्नो लगनशीलता र इमानदारीता मा बिश्वास गर्ने महिला नेपालकै सन्दर्भमा पनि धेरै माथि पुगेका उदारणहरु महिला राष्ट्रपति ,सभामुख, न्यायाधीश वकिल भएका घट्नाहरु हाम्रो आँखा अगाडी प्रष्ट छन् ।

त्यसो भए के महिलाहरु दमनमा पर्नु ,हिंसामा पर्नु, अन्यायमा पर्नु ,महिलाहरु घर भित्र मात्र सिमित हुनु, महिला बलात्कृत हुनु ,समाजमा महिलाहरुलाइ हेर्ने दृष्टिकोण र उनीहरुलाई गरिने व्यवहार यो सबैको पछि पुरुषहरुको कुनै गल्ती,कमजोरी छैन तर भन्ने सन्दर्भमा यो सबैको पछाडि पुरुषको नै दोष छ । पुरातन सत्ता र सोचको नै दोष छ । र अझै पनि रहिआएको पाइन्छ । हाम्रो देशमा फरकफरक संस्कृति र फरकफरक सोच भएका पुरुषहरु छन्। जसले अझै पनि पुरातन सोच राख्छन् ।

परिवारमा आफ्नो बल र अन्धभक्त सोच , संकृतिको जगेर्ना गरिरहेका छन् । केही अज्ञानी र निरङ्कुस सोच भएका पुरुषहरुले महिला को सिमाना तोक्ने महिलाहरुको हैसियत र नारी स्वतन्त्रताको बन्देज बन्दै महिलाको अस्मिता माथि , महिलाको इज्जत माथि बारम्बार दाग लगाउंदै महिला हक अधिकार हनन हुने गरि नारीहरुलाइ खेलौना नै सोचेर त्यहीँ अनुसारको व्यवहार गर्ने एउटा पुरुष सत्ता समाजमा अझै पनि जिउंदै छ ।

यस्तो समाज र पुरुषहरुको यो व्यवहार आजको यो युगले स्वीकार गर्नै सक्दैन । तर नेपाल कै सन्दर्भमा भन्नु पर्दा पुरुषहरुले महिला प्रति गर्ने व्यवहार र महिलालाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आउंदै छ। केहि समाज शिक्षित हुँदै बिस्तारै परिवर्तन हुँदै छन् । सत प्रतिशत नभए पनि बिस्तारै महिलाहरु सक्षम हुँदै छन्। अन्याय अत्याचारको विरुद्ध केही मात्रामा आवाज उठाउँदै छन् । महिलाहरु घर भित्र मात्रै सिमित नभइ विभिन्न क्षेत्रमा अगाडी आउंदै छन् ।

केही शिक्षित र सक्षम वर्गहरुमा पछिल्लो समय पुरुषहरुले पनि महिलाहरूलाई राम्रो साथ दिएका छन् । तर समस्या संस्कृति र त्यो पुरातन सोच रितिरिवाज समाजमा रहेको एक किसिमको पुरुष सत्ताको अन्त्य चाहिं भएको पक्कै होइन । यसलाई हामीले हटाउनु पर्छ। हाम्रो सोच फराकिलो बनाउनु पर्छ। समाजमा रहेको महिला पुरुष विभेदको अन्त्य गर्नै पर्छ । त्यसको लागि महिलाहरु पनि समस्यासँग डटेर जुटेर साहसपूर्ण तरिकाले आफ्नो हक र स्वतन्त्रताको लागि लड्नै पर्छ । हामी पुरुषहरुले पनि हाम्रो मन, व्यवहार र पुरातन सोचको अन्त्य गरि महिलाहरुलाई सहयोग गर्नुपर्छ।

तर आजको प्रश्न महिलाहरू घर भित्र नै घरायसी काम र पुरुषहरुको दबाब पुर्ण जिन्दगी बाँचेका छन् भन्दा पनि महिला अगाडी बढी सके महिलाको ब्यक्तिगत क्षमताको बिकास अनुपात धेरै अगाडी बढिसकेको छ। तर पनि महिलाको ठाउँ घर चुलोबाट देशको सर्वोच्च निकायमा पुग्दा पनि अझै किन महिला हावी हुन सकेनन्,किन आफ्नो हक अधिकार लिन सकेनन्,किन महिलाले न्याय पाउँन सकेनन् ,महिलाहरु पदमै नपुगेको भन्ने होइन पदमा पुगेका महिला नेतृत्वहरुले पनि खुलेर काम गर्न सक्ने वातावरण छैन।

उनीहरुले चाहेर पनि महिलाको हक अधिकार र महिला स्वतन्त्रता र पुरुष प्रधान भनिएको यो समाजमा केहि परिवर्तन गर्न सक्दैनन्।कारण हाम्रो राजनीतिक संस्कार देशको राजनीतिक दल उनीहरूको संरचना र राजनीतिक दल र दलका नेताहरूको प्रणालीको दोष हो। महिला राष्ट्रपति पदमा पुग्नुभयो। तर उहाँले महिला हक अधिकारको पक्षमा, महिलाको स्वतन्त्रताको पक्षमा केही गर्न सक्नुभएन।

किनभने उहाँलाई कुनै पुरुष प्रधान समाजका नेताले पदमा भर्ति गरेका हुन । जसको लागि उनले प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा धेरै समझौताहरु मान्नु पर्ने र नुनको सोझो गरेर पद जोगाउनु पर्ने अबस्था आयो। पदमा पुगेका महिलाहरुले महिलाको लागि, न्यायको लागि भन्दा पनि आफ्नो पार्टी र आफ्नो घरको सिमामा मात्र बसेर काम गर्नुपर्ने प्रणाली हाम्रो राजनीतिक दल र नेताहरुको महत्वाकांक्षाले महिला सक्षमतालाई बाँधेको छ।

पछिल्लो समय एकजना महिला सभासदलाई आफ्नै पार्टीका वरिष्ठ नेताले तपाईं पिडुला देखाएर सभासद भएको भनि महिलाको चरित्र हत्या गरे। हाल नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकारी पदमा रहेका नेताले एकजना महिला सभासदलाई प्रश्न गर्नु भए छ । तपाईं को सँग सुतेर यहाँ सम्म आउनु भएको ? र भनिन्छ हरेक पुरुष मान्छेको सफलताको पछाडि एउटा महिलाको महत्वपुर्ण हात हुन्छ। तर म त्यसलाई विपरित बनाउंदै भन्छु। नेपालको राजनीति र राजनीतिक दलका नेताहरू र यहाँको प्रणालीमा हरेक महिला राजनीतिमा सफल हुन अथवा कुनै महत्वपुर्ण पदमा पुग्न र सफल हुन पुरुष नेतृत्वको महत्वपुर्ण हात र हाबी हुन्छ।

त्यसैले नै महिला नेतृत्व पदमा पुगेर पनि काम गर्न र खुलेर महिला स्वतन्त्रता र न्यायको पक्षमा काम गर्नै सक्दैनन्। जबसम्म महिलाहरुले आफ्नो क्षमता,दक्षता अनुभब र योजनाको आधारमा कसैको सम्झौता बिना र कसैको ब्यक्तिगत आकाङ्क्षा बिना स्वतन्त्र रुपमा कुनै नेतृत्व वा पदमा पुग्ने वातावरण र त्यस्तो प्रणाली बन्दैन। तबसम्म महिलाहरूले चाहेर पनि महिला स्वतन्त्रताको सास फेर्नै सक्दैनन्।

राजनीतिक दल वा दलका नेताहरूले महिलाको योग्यता क्षमता पार्टी प्रतिको त्याग लगावको आधारमा भन्दा महिलाको सुन्दरता हेरेर महिलालाई खेलौनाको साधन समझेर, महिलाको क्षमतालाई यौनसँग जोडेर त्यहि दृष्टिकोणबाट हेरेर गरिने व्यवहार र पदको आशमा लोभमा सोही अनुसारको समझौता वा समझदारी गर्दै हिड्ने केही खराब मानसिकता भएका केही अप्रत्यक्ष समुहले गर्दा पनि आज महिला नेतृत्व माथि महत्वपुर्ण प्रश्न उठ्ने गरेका छन् ।

काठमाण्डौ मै मेरो एकजना महिला साथीलाई जागिर चाहिएको थियो। स्नातक पास गरेकी सक्षम योग्य साथी हुनुहुन्थ्यो।मैले केही ठाउँहरुमा जागिरको लागि बुझें र जागिरको लागि केही ठाउँबाट अन्तरबार्ताको लागि बोलाइयो। पक्का भयो काम सुरु गरिन्। तर पछि त्यहीँ कार्यालयको हाकिमले कार्यालयको नियम बाहिर गएर तलब बढाइ दिने, खाजा चियाको पैसा पनि आफैं तिर्ने, अरु कर्मचारीको तुलनामा सबै सेवाहरु ती महिलालाई दोब्बर गर्दिने, आफ्नो नजिक र प्यारो बनाउन खोज्ने सारै घिनलाग्दो लज्जित हर्कतहरु गर्न थाल्यो।

हाकिमको चाहाना कर्मचारीको कामसँग भन्दा पनि उनको शरीरसँग थियो। ती कर्मचारीको क्षमता योग्यताको आधारमा भन्दा पनि त्यस हाकिमले महिलाको सुन्दरता हेरेर आफ्नो यौन चाहाना पूरा गर्ने आसयको साथ जागिर दिएको थियो। यस्ता समस्याहरु धेरैजसो ठाउँमा पाइने गर्छ । यसको मतलब सबै कार्यालय र त्यहाँका हाकिमहरु सबै यस्तै हुन्छन भन्ने छैन । कतिपय केसमा महिलाहरु आफैं पनि दोषी हुन सक्छन्। तर पनि महिलाको तुलनामा पुरुषहरुले नै धेरै जसो हर्कत गर्ने कुरामा म विश्वसत छु।

तर समाजमा यस्ता सोच भएका मानिसहरुको बिगबिगी एकदमै छ। हरेक ठाउँमा देखिन्छ । यस्ता महत्वपुर्ण चुनौतीहरुको सामना, यस्ता कठिन परिस्थितिसँग जुद्दै सहिलाई सहि र गलतलाई गलत छुट्टाएर अगाडी बढ्नुपर्ने ठुलो चुनौती महिला सामु छन् ।

हिजो महिलालाई घर भित्र घरायसी चुलो चौकी मै मात्र सिमित गराइयो। महिला स्वतन्त्रता बन्देज बनाउंदै अनेकौं अन्धबिश्वासको भुमरीमा हालियो। दोष त्यही समाजको थियो। दोष त्यहि पुरुष सत्ता,परम्परा र संस्कारको थियो। आज महिलाहरू बिस्तारै शिक्षित हुँदै गए। क्षमताको बिकास गर्दै गए। समाज थोरै भए पनि विकसित हुँदै गयो । महिलहरु क्षमतावान हुँदै,योग्यता हाँसिल गर्दै,पुरातन समाजसँग लड्दै गए ।

तर आज एउटा सक्षम महिलाको क्षमता योग्यता र अनुभबले जागिर नपाउने भयो। जागिर खान शारीरिक सौर्न्दर्य राम्रो बनाउनु पर्ने र आफ्नो इज्जत मान सम्मान लिलाम गर्दै समझौता गर्नुपर्ने वातावरण सिर्जना भयो। यसको कारक तपाईं हामी पुरुष नै हो। जसले यस्ता हर्कत र चाहानाहरु राख्दछन् ।

आज महिलाहरु सक्षम भए राष्ट्रपति ,सभामुख, न्यायाधीश,वकिल जस्ता ठुलो पदमा पुगे। तर उनीहरुलाई काम गर्न नदिने सफल हुन नदिने महिला हक र अधिकार न्यायको पक्षमा काम गर्न नसक्ने बन्देज बनाउने दोष कसको ? हाम्रो राजनीतिक संस्कार,राजनीतिक प्रणालि, राजनैतिक संरचना जहाँ नेताहरुले महिलाको क्षमता, सक्षमता र योग्यताको आधारमा भन्दा पनि ब्यक्तिगत चाहना,ब्यक्तिगत आकाङ्क्षाको आधारमा नुनको सोझो गराउने र गुलामी र चाकडीको वातावरणबाट महिलाहरुलाई अघि बढाउने सम्झौता गरियो ।

तसर्थ घरमा महिला नै दमनमा र शोषणमा पर्छन् ।घर बाहिर जाँदा महिला कै इज्जत लिलाममा पर्छ। जसको कारक तपाईं हामी पुरुष नै रहेछौँ । महिलाहरु नेतृत्वमा जब पुग्छन । तब उनीहरुलाई बन्देज बनाउने, हातखुट्टा बाध्ने र अनेक सम्झौताहरुको बिच महिलाको चरित्र हत्या गर्ने पनि हामी पुरुष र हाम्रो राजनैतिक सत्ता र संरचना रहेछ ।

त्यसैले महिला हक अधिकारको लागि महिला स्वतन्त्रता र समानुपातिक समावेशी सहितको समाज निर्माणमा हामी पुरुषहरुको सोच र समाजमा महिलालाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरि यो नयाँ शताब्दीमा महिलालाई पुरुष सम्मान दर्जामा राख्नु नै आजको विकसित समाजको महत्वपुर्ण यात्रा हो। जसको लागि महिला आफैंले पनि विभिन्न परिस्थिति बुझेर सहि र गलत कुराहरूको स्पष्ट पहिचान गरि इमानदारीपूर्वक यो पुरुष सत्ता समाज र देशमा आफ्नो हक र अधिकारको लागि निरन्तर लड्नु नै आजको आवश्यकता हो।

 नबराज प्रसाईं

[sidebar name="button post"]