अस्पतालमा भीषण आगलागी, १० नवजात शिशुको मृत्यु

एजेन्सी । भारतकाे महाराष्ट्र राज्यको भण्डारा जिल्लाको रहेकाे एक अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको समाचार संस्था पीटीआईले जनाएकाे छ ।

शनिवार बिहान २ बजे न्यूबर्न केयर युनिटमा आगो लागेको समाचारमा उल्लेख छ । उक्त युनिटबाट सातजना शिशुलाई सुरक्षित निकालिएको थियो। भण्डारा मुम्बईबाट ९ सय किलोमिटर टाढा पर्छ।

अस्पताल भवनमा आगलागीका कारण धुवाँ भरिँदा सास फेर्न गाह्रो भएर नवजात शिशुहरूको मृत्यु भएको समाचारमा उल्लेख गरिएकाे छ । मुम्बई मिररका अनुसार अस्पतालका कर्मचारीले उक्त कक्षको ढोका खोल्दा त्यहाँ धुँवा भरिएको समाचारमा जनाइएकाे छ ।

आगलागी भएलगत्तै अग्नि नियन्त्रक अस्पताल पुगेका थिए। जिल्लाका प्रशासनिक निकायका अधिकारीहरू र प्रहरी अधिकारी पनि अस्पताल पुगेको बताइएको छ। भण्डारा जिल्लाका प्रहरी अधिकारी बसन्त जाधवले उक्त घटनाबारे जाँचबुझ सुरु भएको बताएकाे छ ।

शल्य चिकित्सक प्रमोद खाण्डेतका अनुसार तीन-चार जना बच्चा जलेर मरेको बताएका छन् । उनका अनुसार केही बच्चा अस्पतालमै जन्मिएका थिए र केही उपचारका लागि बाहिरबाट आएका थिए।

टाइम्स अफ इण्डियाको खबर अनुसार झट्ट हेर्दा बिजुलीको तारमा आएको खराबीका कारण आगलागी भएको देखिएको छ। घटना हुँदा एक चिकित्सक र एक नर्स ड्यूटीमा थिए।

यसैबीच, भारतीय कंग्रेस नेता राहुल गान्धीले ट्वीट गर्दै बच्चाहरूको मृत्यु प्रति दु:ख व्यक्त गरेकाे बीबीसीले जनाएकाे छ । ”महाराष्ट्रको भण्डारा जिल्लामा भएको दुर्भाग्यपूर्ण घटना निकै दु:ख लाग्दो छ। जसले आफ्नो बच्चाको ज्यान गुमाएका छन्, उनीहरू प्रति मेरो संवेदना छ। म महाराष्ट्रको सरकारसँग पीडितका लागि आवश्यक मद्दत गर्न अपिल गर्छु।” गृहमन्त्री अमित शाहले दु:ख व्यक्त गर्दै ट्वीट मा भनेका छन् ।

उनले आफ्नो ट्वीटमा लेखेका छन्, ”यो एकदमै दुर्भाग्यपूर्ण हो। म यस घटनाबारे निकै दुखी छु। पीडित परिवारप्रति मेरो संवेदना छ। यो अपूरणीय क्षतिमा ईश्वर पीडित परिवारलाई दुख सहने शक्ति दिऊन्।”

[sidebar name="button post"]