युङडुङ बैजी
काठमाण्डौको कागेश्वरी मनोहरामा यसवर्ष पहिरोले बढि क्षति गरेको छ । पहिरोले क्षति गरेका नागरिकलाई अल्पकालीन रुपमा राहत बितरण र क्षतिपूर्तिका लागि योजनाबद्ध रुपमा काम अगाडि बढाएको नगरपालिकाले जनाएको छ । साथै भविष्यमा हुनसक्ने सम्भावित क्षति घटाउन बायो इन्जिनियरिङको अध्ययनको काम पनि भैरहेको नगरपालिकाको विपद् व्यवस्थापन शाखाका कर्मचारी माधव खतिवडाले बताउनुभयो ।
पहिरो पिडितको राहतका लागी ३ वर्गमा विभाजन गरिएको छ । कसको के कति क्षति भएको छ अध्ययन गरी वर्ग विभाजन गरिएको हो । धेरै क्षति भएका व्यक्तिहरु (क) वर्गमा, मध्यम क्षति हुनेहरु (ख) वर्गमा र कम क्षति भएका व्यक्तिलाई (ग) वर्गमा राखिएको छ । नगरपालिकामा प्राप्त निवेदन उपर छानविन गरी २३ लाख ५ हजार रुपैयाँ राहत वितरण गरिएको खतिवडाले बताउनुभयो ।
अबका दिनमा बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपबाट धनजनको क्षति नहोस् र त्यसलाई कसरी संरक्षण गर्न सकिन्छ भनेर विज्ञ इन्जिनियरिङको सहयोग लिने र अध्ययनको पनि काम भइरहेको छ । आउँदो बर्खामा थप क्षति नहोस् भनेर विभिन्न कार्यक्रम गरेर त्यो क्षेत्रका लागी कसरी संरक्षण गर्न सकिन्छ भनेर अगाडी नै त्यसको प्राविधिक दृष्टिकोणले पहिचान गरेर थप काम गर्ने योजना रहेको खतिवडाको भनाई छ ।
धराप घर, भवन जस्ता संरचना बनाउनका लागी छुट्टै मापदण्ड अपनाएको छ । भुकम्पपछिको पुनर्निर्माणमा आवश्यक मापदण्ड पालना गरिएको छ ।











