१० पुष, काठमाडौं । संसद विघटनको विरोधमा नागरिक समाजले आन्दोलनको घोषणा गरेका छन् । संसद विघटन प्रतिगमनको रोडम्याप नै भएको भन्दै बृहत नागरिक आन्दोलनले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
आन्दोलनको कार्यक्रम अन्तर्गत पुस ११ गते शंख एपिसोडसहित कोणसभा, पुष १३ गते डम्फु एपिसोडसहित कोणसभा, पुस १५ गते धिमे एपिसोडसहित कोणसभा, पुस १७ गते च्याब्रुङ एपिसोडसहित कोणसभा र पुस १८ गते सडक नाटकसहित सभा गर्ने तय भएको आन्दोलनका संयोजक युग पाठकले जानकारी दिए ।
उनका अनुसार यी सबै कार्यक्रम माइतीघरमा हुनेछन् । ‘प्रतिगमनको ठूलो कदमले दैलैमा टेकेपछि हालसम्म प्राप्त उपलब्धि नै गुमेर मुलुक अँध्यारो सुरुङमा प्रवेश गर्न लागेको विषयमा चासो र चिन्ता सर्वत्र देखिन्छ’ बृहत नागरिक आन्दोलनको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले प्रतिगमनबाट मुलुकलाई जोगाउँदै थप उपलब्धि प्राप्त गर्न सडकमै उत्रनु हामी सबै नागरिकको कर्तव्य हुन आएको छ ।’












