भारतका किसान १३ दिनदेखि आन्दोलनमा, आज देशव्यापी बन्दको आह्वान

२३ मंसिर, एजेन्सी । भारतका किसानले आज ‘मंगलबार’ देशव्यापी भारत बन्दको आह्वान गरेका छन्। भारतको संसद सरकारले ल्याएका कृषिसम्बन्धी तीनवटा विधेयक पारित गरेपछि त्यहाँका किसान १३ दिनदेखि देशव्यापी आन्दोलनमा छन्।

सरकारसँग पाँच पटक वार्ता भइसक्दा पनि परिणाम केही निस्केको छैन। किसान नेताहरु तीनवटै कानुन फिर्ता हुनुपर्ने अडानमा छन्।

उनीहरुले नयाँ कानुनले परम्परागत मन्डी व्यवस्थालाई सिध्याउने, समर्थन मूल्य लागू नहुने र ठूला व्यापारी र कर्पोरेट मोटाउने तर, किसानलाई घाटामात्रै हुने दाबी गरिरहेका छन्।

किसानहरुले विहान ११ बजेदेखि दिउँसो तीन बजेसम्मका लागि चक्काजाम आह्वान गरेका छन्। यद्यपि, अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन हुनेछन्। उनीहरुले आन्दोलनमा सहभागी हुने राजनीतिक दलहरुलाई दलका झण्डा र ब्यानर नल्याउन चेतावनी पनि दिएका छन्।

[sidebar name="button post"]