कागेश्वरी मनोहरामा विद्यालय खुलाउने तयारी : जोर बिजोर प्रणाली अनुसार दुई चरण खुल्ने

समिता श्रेष्ठ

काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा विद्यालय खुलाउने तयारी भएको छ । आउँदो मंसिर २१ गते आइतबारदेखि विद्यालय खुलाउने तयारी भएको हो । केन्द्र सरकारले स्थानीय तहलाई आफ्नो क्षेत्रमा कोरोना प्रभावको आधारमा विद्यालय खोल्न सक्ने अधिकार दिएपछि त्यसैअनुसार विद्यालय खुल्नेछन् । जोर बिजोर प्रणाली अनुसार दुई चरणमा विद्यालय खुल्नेछन् ।

कम प्रभावित क्षेत्रमा विद्यालय खुलाउने तयारी

कक्षा एकदेखि ५ सम्म छुट्टै अध्ययन गराउने र ६ देखि १२ सम्म छुट्टै अध्ययन गराउने गरी छलफल भैरहेको छ । कोरोनाको प्रभावलाई ध्यानमा राखेर कुन ठाउँमा विद्यालय सञ्चालन गर्न सकिन्छ र कुन ठाउँमा विद्यालय सञ्चालन गर्न सकिदैन हेरेर विद्यालय खोल्न सक्ने अधिकार शिक्षा मन्त्रालयले स्थानीय तहलाई दिएको छ ।

त्यसैअनुसार कोरोना कम प्रभावित क्षेत्रमा विद्यालयहरु खुल्नेछन् । तर कोरोनाको महामारी बढेमा विद्यालय सञ्चालन हुने छैनन् । कोरोनाको प्रभाव यथावत् नै रह्यो भने स्कुल खोल्नका लागि कागेश्वरी मनोहरा नगरपालिकाको शिक्षा समितिले कार्यपालिका बैठकमा पेश गर्ने र कार्यसमितिले अनुमोदन गर्नुपर्छ ।

जोरबिजोर प्रणाली

स्कुल खुलाउन पहिला निर्मलीकरण गर्ने तयारी छ । जोरबिजोर प्रणाली अनुसार स्कुल चलाउने र कक्षा १ देखि ५ सम्म बिहान ११ बजेदेखि २ बजेसम्म र कक्षा ६ देखि १२ सम्म बिहान ७ बजेदेखि १० बजेसम्म चलाउन सकिन्छ । बिजोर कक्षा १, ३, ५ ,७, ९ लाई बिजोर बार र जोर कक्षा २, ४ ,६, ८ ,१० लाई जोर बार चलाउने प्रारम्भिक छलफल भैरहेको छ ।

कक्षा विद्यार्थीको भौतिक उपस्थितमा चलाउने भनिएको छ । तर कतिपय बिद्यालयका अनलाइन कक्षामा अहिले पनि ८० प्रतिशत विद्यार्थीहरु सामेल छन् । ती बिद्यालयहरुले त्यसैअनुसार चलाउने भनेका छन् । यसबारे निर्णय भैसकेको छैन । अहिले कागेश्वरी मनोहरामा वडा १ देखि ५ सम्म धेरै संक्रमण छैन । त्यसअनुसार १ देखि ५ सम्म स्कुल संचालन गर्ने, सबैभन्दा कोरोना प्रभावित वडा ६ र ९ मा वडा शिक्षा समितिले अनुकुल निर्णय गरेर खोल्न सक्ने व्यवस्था छ ।

कागेश्वरी नगरपालिकामा अहिले सामुदायिक र सरकारी गरेर १८ वटा विद्यालय छन् । अरु ५०÷६० वटा निजी छन् । त्यसै अनुरुप कोरोनाको अवस्था यस्तै रहेमा स्कुल खोल्ने र अवस्था अझ बढ्दै गएमा विद्यालय बन्द पनि गर्न सकिने अधिकार वडालाई दिएको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले जानकारी दिनुभयो ।

[sidebar name="button post"]