कोरोना भाइरसविरुद्धको खोप निर्माणमा ठूलो सफलता

१ मंसिर, एजेन्सी । अमेरिकाले कोरोना भाइरसविरुद्धको खोप निर्माणमा ठूलो सफलता पाएको छ । अमेरिकी कम्पनी मोडेर्नाको कोरोनाविरूद्धको खोप ९५ प्रतिशत सफल भएको हो । कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै प्रारम्भिक तथ्यांकका आधारमा आफ्नो खोप ९४ दशमलव ५ प्रतिशत प्रभावकारी देखिएको जनाएको हो ।

यो भनेको कोरोनाविरुद्धको भ्याक्सिन लगभग निर्माण सम्पन्न भएको छ । अब विश्व स्वास्थ्य संघ लगायतका आधिकारिक निकायबाट यसको स्वीकृति बाँकी छ । केही दिनअघि मात्र जर्मनीको कम्पनी बायोएनटेक र फाइजरले बनाएको खोप ९० प्रतिशत प्रभावकारी भएको जानकारी सार्वजनिक भएको थियो। मोडेर्नाले यो खबर आउनू आफ्ना लागि सुखद दिन भन्दै आगामी केही सातामा आफ्नो खोप प्रयोगका लागि अनुमति पाउने बताएको छ।

मोडेर्नाको खोप अमेरिकाका ३० हजार मान्छेमा परीक्षण गरिएको थियो। यसमा विभिन्न चरण र प्रक्रिया थिए। कम्पनीका प्रेसिडेन्ट डाक्टर स्टेफन होजले पनि यो नतिजा आउँदा केहीबेर स्तब्ध भएको बताएका छन्। कम्पनीका अनुसार यो खोप कहिलेदेखि उपलब्ध हुन्छ भन्नेमा देशअनुसार भर पर्नेछ। मोडेर्नाले खोप प्रयोगको अनुमति पाएपछि सबभन्दा पहिले अमेरिकाका लागि २ करोड खोप उपलब्ध गराउने बताएको छ।

यसपछि आगामी वर्षसम्म संसारभरका देशका लागि करिब १ अर्ब खोप बनाउनेछ। आफ्नो खोप प्रयोगका लागि अनुमति दिन अरू देशसँग पनि सम्झौता गर्ने कम्पनीले जनाएको छ। हाल संसारमा दर्जनौं खोपहरू आफ्नो परीक्षणको अन्तिम चरणमा छन्।

[sidebar name="button post"]