निर्वाचनमा विजय भएको घोषणा नगर्न बाइडनलाई ट्रम्पकाे चेतावनी

राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडनलाई राष्ट्रपतीय निर्वाचनमा विजय भएको घोषणा नगर्न चेतावनी दिएका छन्। राष्ट्रपति पदको निर्वाचनमा बाइडन जित नजिक पुगेका समाचार आइरहेका बेला ट्रम्पले सो चेतावनी दिएका हुन् ।

कानुनी प्रक्रिया सुरु भएपछि आफ्नो अग्रता फेरि फर्किने विश्वास ट्रम्पलाई छ । उनले ट्वीटरमा थप लेखेका छन्, ‘चुनाव भएको राति सबै राज्यहरुमा मेरो अग्रता थियो तर दिन बित्नासाथ चामत्कारिक ढंगले गायब भएको देखियो । हाम्रो कानुनी कारबाही अगाडि बढेपछि सायद त्यो अग्रता फर्किने छ ।’

महत्वपूर्ण मानिएको पेन्सलभेनियामा बाइडनले ट्रम्पलाई पछि पारेका छन् । बाइडन १३ हजार मत अन्तरले ट्रम्पभन्दा अगाडि रहेको बीबीसीले लेखेको छ । बीबीसीका अनुसार एरिजोना, नेभाडा र जर्जियामा पनि बाइडनको अग्रता छ । जर्जियामा अमेरिकी सैनिकको भोटबाट ट्रम्प अगाडि आउन सक्ने अनुमान पनि लगाइएको छ ।

जर्जियामा बाइडन ४ हजार २ सय भन्दा बढी मतले अगाडि छन् । अटलान्टा नजिकको ग्विनेट काउन्टीको ७ हजार भोट गणना भइसक्दाको परिणाम हो । अझै ८ हजार ८ सय ९० मिलिटरी पोष्टल भोट गन्न बाँकी छ ।

अमेरिकाका ५० मध्ये ४४ राज्यको मतगणनाको परिणाम आइसकेको छ । राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्नेमा बाइडनले २५३ र ट्रम्पले २१४ मत पाएका छन् ।

[sidebar name="button post"]