अनिता धिताल
२०७४ सालको स्थानिय तहको निर्वाचनमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाकाको प्रमुखका उमेद्वार हुनुहुन्थ्यो नेपाली कांग्रेसका उपेन्द्र कार्की । उहाँसँग एमालेका कृष्णहरि थापा र तत्कालिन माओवादी केन्द्रको तर्फबाट महेश्वर फुयाल प्रतिस्पर्धीका रुपमा हुनुहुन्थ्यो ।
निर्वाचनमा एमालेका थापाले जित्नुभयो । स्थानिय तहको चुनाव भैसकेको साढे तीन वर्ष भैसकेको छ । यो बिचमा नगरपालिकामा भैरहेका गतिविधि र जनप्रतिनिधिका कामबारे प्रतिपक्ष दलका उपेन्द्र कार्कीसँग गरीएको कुराकानी ।
स्थानीय तहको चुनावमा हारेपछि के गर्नुभयो ?
म कांगे्रसबाट उमेद्वार उठे तर पराजीत भए । जितेका साथीहरुलाई बधाई तथा शुभकामना दिए । नगर क्षेत्रका समस्यालाई मध्यनजर गरेर विविध विषयलाई समेटेर सल्लाह सुझाव पनि दिएको थिए ।
निरन्तरको खबरदारी आम नागरीकको समेत कर्तब्य हुन आउँछ । तपाई र प्रतिपक्षका रुपमा पार्टीले के के गर्यो ?
नगरपालीकाले गरेका कामहरुमा केहि कमि कमजोरी पक्कै देखियो । अहिले पनि छन् । विशेष गरी नगरपालीकामा पहिलो दुई आर्थीक वर्षमा १७ बुँदे सल्लाह सुझावहरु दिएका थियौँ । त्यसपछि ऐनहरु बनाउन सुरु गर्नुभयो । पहिलो ऐन शिक्षा ऐन थियोे तर यसमा धेरै कमि कमजोरी राखेर ऐन बनाइयो ।
शिक्षा ऐनमा सबै कुराको अधिकार मेयरको हातमा थियो । व्यवस्थापन समिति तोक्ने, सदस्य, अध्यक्ष, शिक्षकको सरुवा बढुवा इत्यादी विषयमा कसैलाई सोध्नु नपर्ने जस्ता प्रावधानहरु राखेको हुनाले अलोकतान्त्रीक हुनुका साथै राष्ट्रिय शिक्षा ऐनसगँ बाँझियो । यस्ता कुरालाई तत्काल सुर्धानु पर्छ भन्ने कुरा पहिलो बुँदामा थियो ।
जग्गा प्लटिङमा खण्डिकरण गर्दा आफ्नै पैतृक सम्पतिको किताकाट गर्नु पर्दा प्रति अना १० हजार लिएर जनतालाई अप्ठारोमा पार्ने काम भयो । सडकमा तारहरु लथालिङ हुदा धेरै दुर्घटना समेत भए । यसैगरी बालुवाको टेन्डरमा पनि छुट दिएको देखियो । आफुलाई फाइदा हुने ठाउँमा मात्र विकास निर्माणका कामहरु गरेको देखियो । यस्ता कामहरु सच्याउन माग गरेका थियौ ।
कमिकमजोरी सच्चाउन सकारात्मक पहलचाहीँ के गर्नुभयो ?
हामीले आन्दोलन नै गरेर अगाडी बढ्नुपर्यो । मेयरका कार्यक्रमहरु बहिष्कार गर्ने, नगरपालीकामा धर्नादिने, ज्ञापन पत्र दिने जस्ता कामहरु गर्यौ ।
आन्दोलन नै विकल्पका रुपमा किन ?
होइन, आन्दोलनसँगै नेता शंखर थापाको संयोजकत्वमा वार्ता कमिटी बनायौ । त्यसपछि पाँच वटा बार्ता भए । तर अझै पनि यसको ठोस परिणाम निस्केको छैन ।
अहिलेको जनप्रतिनिधहरुले गरेका कामहरुलाई कसरी लिनुभएको छ ?
हरेक कामलाई दुई ढङगले हेर्नुपर्छ सकारात्मक र नकारात्मक । राम्रो कामलाई प्रशंसा गर्ने र कमजोरीलाई औल्याउनुपर्यो । हाल फैलीरहेको कोरोना महामारी रोकथाम र उपचारका लागी गरेका कामहरु निकै सन्तृष्टीजनक छन् । गरिब, कमजोर वर्गका मानीसहरुलाई राहत दिने कुरामा थोेरै चुकेको देखिन्छ ।
तर अरु व्यस्थापकीय कामहरु आइसोलेसन सेन्टर बनाउने, अस्पतालमा उपचार गराउने, संक्रमणहरुलाई परिक्षण गराउने जस्ता कुराहरुमा अन्य नगरपालीकाले भन्दा कागेश्वरी मनोहरा नगरपालीकाले गरेको काममा निकै राम्रो पक्ष देखिन्छ ।
उसोभए टिकाटिप्पणी किन ?
नगरपालीका भनेको एउटा स्थानीय सरकार हो । जनताका हरेक समस्याहरुलाई राजनीतिकरण गरेर हेर्ने काम भएको छ । वस्तुनिष्ठ भएर हेर्दा सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । नगरपालीकामा समस्याहरु धेरै छन् । सरकारले पनि एकैचोटी गर्न सक्छ भन्ने हाम्रो धारणा होइन । तर कामको सहि सुरुवात र व्यवस्थापन गर्नुपर्ने कुरामा नगरपालीका धेरै ठाउँमा चुकेको देखिन्छ । यस्ता चित्त नबुझेका कुराहरुमा आवाज उठाउने कामहरु गरीरहेका छौ ।
मुख्यतः नगरका समस्याहरु के के छन् ?
अहिले नगरपालीकाको पहिलो र प्रमुख समस्या भनेको खानेपानी हो । यसकारण महिलाहरुले अत्यन्त दुख पाईरहेका छन् । धेरै स्थानमा जमिनमुनिको पानीहरु निकालेर इनार खनेर चलाईरहनु भएको छ । तर त्यो पानी गुणस्तर र स्वास्थ्यको लागी भने उपयुक्त छैन् ।
कागेश्वरी मनोहराको सिरानमा रहेको गागलको घटे खोलाबाट व्यवस्थित योजना बनाएर सबै तिर स्वस्थ पानी वितरण गर्नु भनेको थियौ । तर यसमा पनि ठोस कदम चालेको देखिएको छैन । विपत् व्यवस्थापनमा पनि त्यति ध्यान पुगेको देखिदैन । पहिरो गएपछि तत्कालीन रोकथामको लागी काम भएतापनि दिर्घकालीन रुपमा भने काम भएको छैन् ।
कागेश्वरीमा अहिले पनि पहिरोको कारण मानीसहरु जोखिममा परेका छन् । घर भत्कने, धनजनको क्षति हुने यसमा पनि हामीले दिर्घकालीन ढङगले काम गर्दा राम्रो हुन्छ भनी सल्लाह सुझावहरु पनि दिएका थियौँ । भोली आगलागी होला विभिन्न समस्याहरु आउन सक्छन् ।
यसका लागी दमकल शव वाहनहरुको व्यवस्थापन गनुस् भनेको थियौ तर उहाँहरु मेयर र उपमेयरहरुलाई गाडी थपेको थपै हुनुहुन्छ । यस्ता कुरालाई भने बेवास्ता गरिरहनु भएको छ । सडक निर्माणका कामहरु पनि पिच गरेको एक दुई महिनामै भत्किएको अवस्था छ । त्यो काम पनि गुणस्तर र व्यवस्थित रुपले भएको देखिदैन ।
तपाईले जितेको भए यो तीन वर्षमा के के गर्नुहुन्थ्यो ?
हिजो स्थानीय निकाय मात्र थियो । अहिले स्थानीय सरकारको रुपमा परिणत भएको छ । विभिन्न अधिकारहरु, नियम कानुन बनाउनेदेखि लिएर कर प्रशासन, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, ढल जति पनि बजेट र कार्यक्रम छ । नगरपालीकाले यही योजना अनुरुप काम गरोस् भन्ने हाम्रो चाहना हो । म जनप्रतिनिधि भएको भए यसैगरी काम गर्ने प्रतिवद्धता गरेको थिए । अहिले स्वास्थ्य क्षेत्रमा हेर्ने हो भने सकारात्मक ढङगबाट काम सुरु भएका छन् ।
तर अन्य क्षेत्रमा दिगो र व्यवस्थित रुपमा विकास निर्माणका काम भएको देखिदैन । अहिले देशमा ७५३ वटा स्थानीय सरकारहरु छन् । यसमध्ये ४० प्रतिशत जतिले अत्यन्तै नमुना ढङगबाट काम पनि गरेको देखिन्छ । हाम्रो नगरपालीकामा मध्यम रुपमा काम भएको देखिन्छ ।
विकास निर्माणका लागी छुटाइएका रकमहरु खर्च गर्न नसक्ने, योजनाहरुलाई दिर्घकालीन रुपमा कार्य गर्न नसक्ने, सुशासन र भष्ट्राचार न्युनिकरण तर्फ काम गर्नुको सट्टा उल्टो नगरपालीकाले विवादीत हुने ढङगका काम भएको देखिन्छ । यदि यो ठाउँमा म भएको भए पक्कै पनि यस्तो वातावरण सृजना हुन दिने थिएन ।
नगरपालीकालाई देशकै एउटा नमुना नगरपालीका भित्र पर्न सफल भई यसले चाँही राम्रो काम गर्यो है भन्ने खल्को बनाउन सक्थे होला जस्तो मलाई लाग्छ ।
अहिलेका मेयर कृष्णहरि थापासँग समन्वय हुन्छ कि हुदैन ?
उहाँसँग त्यति घनिष्ठ सम्बन्ध छैन । जुन हामीले गरेको आन्दोलनपछि सम्बन्ध अलिकति टुटेको अवस्था छ । केही प्रयासहरु अनौपचारीक रुपमा भएका छन् । अरु विपक्षी पाटीहरु पनि छन्, उहाँहरुको सोंच, भावना, विचार बुझौ त्यही अनुसार कामलाई अगाडी बढाउ भन्ने भावना उहाँमा अत्यन्तै न्युन देखिन्छ ।
नगरपालीकाबाट जति काम हुन्छन् त्यो सबै पारदर्शी, व्यवस्थित, भष्ट्रचार मुक्त कसरी बनाएर काम गर्ने भन्ने कुरामा ध्यान दिएर काम गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।
अब आउने चुनावका लागी कसरी अगाडी बढ्नुहुन्छ ?
अब आउने दिनहरुमा एउटा सकारात्मक सोंच र चिन्तनलाई पहिलो प्राथमिकता मानेर नागरीकहरु माझ जाने छौ । अहिलेका जनप्रतिनिधिबाट नभएका विकास निर्माणका काम नागरीकहरु माझ लैजानु हाम्रो कर्तव्य हो । यदी हामीले यो अवसर पायौ भने के के गर्न सक्छौ त दिगो विकासको अवधारणा अनुसार कसरी जाने भन्ने कुरालाई मध्य नजर गरेर अगाडी बढ्ने छौ ।
स्रोत साधनको उचित रुपमा सहि ढङगले प्रयोग गरी नगरबासीको हित हुने गरी र खानेपानी, शिक्षा सडक निर्माणका सबै कुराहरुको प्रत्याभुति हुने गरी नगरपालीकालाई नमुना नगरपालीका बनाएर काम गर्न सक्छौ भन्ने सोंच र चिन्तनका साथ विश्वास दिलाएर भोलीका दिनमा नागरीकहरु माझ जानेछौ ।
अब तपाईंको पार्टीको योजनाचाहीँ के छ ?
अहिले नेपाली काङग्रेसको पार्टी महाधिबेसनको संघारमा छ । पाटी जिल्ला सभापतिको लागी प्रतिस्पर्धामा लाने एउटा लक्ष्य र तयारीका साथ अगाडी बढी रहेको छु । काङग्रेसलाई हरेक तहबाट अबका दिनमा जित्ने गरी हाम्रा कमजोरीहरु के थिए, आपसी असमझदारी थिए की अब जनता माझ कसरी बलियो सङगठन बनाएर जित्ने गरी जाने भन्ने कुरामै पुर्णरुपमा ध्यान केन्द्रित गरेर योजनाका साथ अगाडी बढने सोंचमा छु ।










