आजदेखि ५ दिनसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने

असाेज ५, आजदेखि पाँच दिनसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । देशका केही ठाउँहरुमा भने हावाहुरी सहित ठूलो पानी पर्ने सम्भावना छ ।

अहिले उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा रहेकाले नेपालका धेरैजसो ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ती कंडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली भई केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

प्रदेश नम्बर १ र २ का केही ठाउँहरुमा हावाहुरीको समेत सम्भावना छ । राती प्रदेश १, २ र बागमती प्रदेशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ । प्रदेश १, २ बागमती, गण्डकी र प्रदेश ५ का केही ठाउँमा हावाहुरी समेत आउने सम्भावना छ ।

यस्तै भोलिदेखि आउने शुक्रबारसम्म नै प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् कंडेलले बताउनुभयो । अरु ठाउँहरुमा पनि ठुलो पानी पर्ने सम्भावना छ ।

[sidebar name="button post"]