प्रल्हाद अधिकारी
आज कागेअष्टमी । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा मेला लाग्छ । तर यसपाली भने मेला नलाग्ने भएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम थप बढ्न नदिन सरकारले धार्मिक स्थलमा हुने क्रियाकलापमा रोक लगाएको छ । काठमाण्डौमा अहिले निषेधाज्ञा छ । मेलाका विषयमा केन्द्रित रहेर कागेश्वरी खबरका सहकर्मी प्रल्हाद अधिकारीले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ का अध्यक्ष मुकुन्द प्रसाद गजुरेलसँग कुराकानी गर्नुभएको छ ।
कागेअष्टमी मेलामा यो वर्ष कोरोनाले कत्तिको असर परेको छ ?
भाद्र शुक्ल अष्टमी दिनमा लाग्ने कागेअष्टमी मेला यो वर्ष नगर्ने निर्णय भैसकेको छ । त्यसैले आज बुधबार मेला हुँदैन । सरकारले मठमन्दिरहरुमा हुने सम्पूर्ण पूजा, आरती, मेला लगायतका कार्यहरुमा रोक लगाएको छ । त्यसै अनुसार नगरपालिकाले कागेअष्टमी मेला यसपाली नगर्ने निर्णय गरेको हो । यसले आम दर्शनार्थीलाई पक्कै असर पारेको छ ।
विगतका वर्षहरुमा यो मेला कसरी सन्चालन गर्दै आउनु भएको थियो ?
कागेश्वरी महादेव मन्दिरमा लाग्ने कागेअष्टमी मेला हजारौँ वर्षदेखि चल्दै आएको हो । यसमा हामीले व्यवस्थापन मात्र गर्ने हो । लिच्छवी कालदेखि यसको महत्व रहँदै आएको छ । वर्षमा एकचोटी लाग्ने महामेला विगतको वर्षमा तीन दिनसम्म भब्य रुपमा संचालन गर्यौ । विगतका दिनहरुमा देशभरीबाट भक्तजनहरु आउने गर्नुहुन्थ्यो ।
यसपाली गत विगतका दिनहरुको जस्तो परिस्थिति रहेन । त्यसैले मेलामा नआउन अनुरोध गरिसकेका छौँ ।
मन्दिरमा अरु के काम भैरहेको छ ?
पूर्वाधार निर्माणको कामहरु भइरहेका छन् । कागेश्वरी धामका रुपमा परिकल्पना गरेका छौँ । धामकै रुपमा स्थापना गर्ने र धार्मिक पर्यटकीय गन्तब्यका रुपमा यसलाई विकास गर्दै पर्यटकीय क्षेत्रमा विकास गर्न योजना रहेको हुँदा यसका लागि सम्पूर्ण आवश्यक तयारी गर्ने छौँ ।
पर्यटन र धार्मिक हिसाबले कस्तो असर पर्छ ?
यस क्षेत्रलाई हामीले जुन धार्मिक पर्यटकीय हिसाबले अघि बढाइरहेका छौ । त्यो हिसाबले पर्यटकहरु नआउँदा अहिले असर पर्छ । स्थानीय ब्यापार, मेला प्रदर्शनी लगायतका सम्पूर्ण कुराहरु आर्थिक नोक्सानीका रुपमा रहेका हुन्छन् ।
हामीले पनि जुन विकास निर्माणहरु अगाडी बढाईरहेका छौँ जुन हिसाबले आर्थिक उपार्जन गर्ने, स्थानीय स्तरको स्थानीयबासीका आर्थिक उपार्जन गर्ने गन्तव्यका रुपमा विकास गर्न खोजिरहेका छौँ । जसरी कोभिड १९ को असर अन्य क्षेत्रमा परिरहेको छ, स्वभाबिक हिसाबले यस क्षेत्रमा पनि नकारात्मक असर त परिहाल्छ ।
कागेअष्टमी मेलाको महिमा के छ ?
मन्दिरको दर्शन गरेपछि सुख, शान्ति, समृद्धिको अपेक्षा गरिन्छ । त्यसैले मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरेको छ । कागेअष्टमी मेला तीन दिनसम्म चल्ने गरेको छ ।
किंवदन्तीअनुसार परापूर्व कालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेको र त्यसै बेलादेखि यस मन्दिरको नाम कागेश्वरी महादेव मन्दिर रहन गएको हो र गोसाइँकुण्डबाट दर्शनार्थीले त्यहाँको पवित्र जल ल्याई कागेश्वरी महादेवलाई चढाउँदा आफ्नो इच्छा समेत पूरा हुने जनविश्वास रहिआएको छ ।
नगरपालिकाको नाम नै कागेश्वरी मनोहरा नगरपालिका भएकाले पनि यस धार्मिक पर्यटकीय स्थललाई नगरपालिकाले विशेष महत्व दिएको छ ।
गोसाइँकुण्डबाट जल यहाँ चढाउने परम्परा यसपाली के भयो ?
गोसाइँकुण्डको जल कागेअष्टमीका दिन कागेश्वरी मन्दिरमा ल्याएर चढाउने जुन परम्परा थियो यो वर्ष त्यो परम्परालाई वैदिक हिसाबले मात्रै संचालन गर्छौं । र मेला जात्राका हिसाबले सञ्चालन हुँदैन । जुन गोसाइँकुण्डको जल ल्याउने तिर्थालुहरुले पनि गोसाइँकुण्ड जान पाउनु भएन ।
म सबै भक्तजनहरुलाई क्षमा याचनाको साथ नआउनुहुन अनुरोध गर्छु ।
उसोभए, यसपालि मेला नहुँने भएपछि दर्शनार्थीलाई नआउनु भन्नुभयो ?
हामीले त्यसैअनुसार प्रचार प्रसार गरेका छौ । कागेश्वरी महादेव मन्दिरमा लाग्ने कागेअष्टमी मेला यो वर्ष स्थगन गरिएको छ । त्यसैले सम्पूर्ण भक्तजनहरुलाई यो वर्ष नआउनुहुन अनुरोध गर्दछु । नगरपालिकाले पनि आफ्नो वेब साइटमा सूचना राखेको छ । कोहि आइहाले पनि बाटैबाट फर्कनुपर्नेछ ।








