काठमाण्डौ उपत्यकामा कोरोनाका सङक्रमित रहेका शङ्कास्पद क्षेत्रमा स्वाब परीक्षण तिव्र

काठमाण्डौमा कोरोना सङक्रमणको शङ्कास्पद क्षेत्रमा स्वाब परीक्षणलाई थप बढाइएको छ । वडातहमै पुगेर सङक्रमितको पहिचान, स्वाव संकलन र परीक्षण बढाएको काठमाण्डौ उपत्यका नगरपालिका फोरमले जनाएको छ ।
काठमाण्डौ उपत्यकामा झण्डै तीन हजार व्यक्तिमा कोरोना सङक्रमण पुष्टि भैसकेको छ । तीमध्ये १ हजार २ सय जना उपचारपछि निको भएर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाण्डौ उपत्यका सहित केही जिल्लामा महामारीकै रूपमा सङ्क्रमण फैलिएको जनाएको छ ।
साउनमा लकडाउन हटेपछि काठमाण्डौमा सङक्रमण दिनहुँ बढ्दै गएको छ । अब पनि सङ्क्रमण रोक्न सकिएन भने स्थिति जटिल हुन सक्ने फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताउनुभयो । उहाँले फैलिँदै गरेको सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न लागिपरेको समेत बताउनुभयो । भक्तपुरको मध्यपुर ठिमीका प्रमुख समेत रहेका श्रेष्ठका अनुसार आजदेखि मध्यपुर ठिमीमा तथ्याङ्क सङ्कलन र विश्लेषणको काम सुरु हुँदैछ ।
दुई ‘हटस्पट’ छानेर पाँचसय जनाको स्वाब सङकलन गरी समुदायमा कोरोना सङक्रमण फैलिएको छ या छैन पत्ता लगाउने पनि उहाँले बताउनुभयो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार महानगरको १५ वटा वडाबाट कन्ट्याक ट्रेसिङको काम थालिएको छ । शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गर्ने र उनीहरूलाई राख्ने आइसोलेसनको व्यवस्थापन गर्न लागिपरेको महानगरपाकिकाका प्रवक्ता डङ्गोलले बताउनुभयो ।
[sidebar name="button post"]