आन्दोलनको समाचार सङ्कलन तथा सम्प्रेषण गरेको आरोपमा नियन्त्रणमा लिइएका १० पत्रकारलाई अझै हिरासतमा राखिएकोमा बेलारूसकोे पत्रकार महासङ्घ (बीएजे) का उप–प्रमुखले शुक्रबार बताउनुभएको छ ।
उनीहरूलाई राष्ट्रिय शान्तिमा खलल पु¥याउने उद्देश्यले समाचारहरू सम्प्रेषण गरेको आरोपमा अभियोजनकर्ताहरूले हिरासतमा राखी छानविन गर्न अनुमति दिएका छन् । महासङ्घका उपप्रमुख बोरिस गोरेत्स्कीले भन्नुभयो, “आफ्ना दश सहकर्मी अझै पनि बेलारूसको विभिन्न क्षेत्रहरुमा हिरासतमा रहेका छन् ।
बेलारूसमा विपक्षीहरूको आन्दोलनले व्यापक रूप लिँदै गइरहेका समय पत्रकारहरूले आन्दोलनलाई मलजल दिने खालका सामग्री सम्प्रेषण गरेको आरोप लगाउँदै उनीहरूलाई केही दिन पहिले पक्राउ गरिएको थियो ।” गोरेत्स्कीले समाचार सङ्कलन तथा सम्प्रेषण गरेकै आरोपमा पक्राउ गरी हिरासतमा राखिएका सहकर्मीहरूलाई निशर्त रिहा गर्न सूचना तथा सञ्चार, गृह तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सम्मिलित एक बैठकमा माग गर्नुभयो । उहाँले समाचार लेखेकै आधारमा पत्रकारलाई जेलमा राख्न नपाइने भन्दै यस कदमको कडा विरोध गर्नुभयो ।









