Ad #144479

जरो किलो प्रतिष्ठान नेपालले आयोजना गरेको तेस्रो विश्व संस्कृत दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घको मान्यताका लागि पहल गर्ने घोषणा गरिएको छ ।

कोरोना महाव्याधिको प्रकोपका कारण जुम प्रविधिको माध्यमबाट सम्पन्न भएको कार्यक्रममा महाअभियानका सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीले विसं २०७५ देखि मनाउन थालिएको विश्व संस्कृत दिवसलाई संयुक्त राष्ट्रसङ्घबाट घोषणा गराउन सरकारका तर्फबाट प्रस्ताव लैजान पहल गर्ने बताउनुुभएको हो । योग दिवस तारिखका दिन घोषणा भएजस्तो हुन नदिन पनि ऋषि परम्पराको महत्वपूर्ण दिन श्रावण शुक्ल पूर्णिमाकै दिन संस्कृत दिवस घोषणा गराउन सरकारले पहल गर्ने विश्वास अधिकारीले व्यक्त गर्नुभयो ।

संस्कृत भाषा विभिन्न भाषाको जननी भएकाले संसारमा रहेका जुनकुनै भाषामा रहेका हितकारी चिन्तनलाई उजागर गर्न विश्व संस्कृत दिवस मनाउन थालिएको प्रतिष्ठानले जनाएको छ । नेपालमा विसं २०३६ देखि उत्तरायण शुरु हुने माघ १ गते विश्व योग दिवसका नाममा मनाउन शुरु गरिएको थियो । त्यसलाई विश्व पहिचानका लागि नेपालले पहल नगर्दा भारतको प्रस्तावमा राष्ट्रसङ्घले जुन २१ लाई योग दिवसको मान्यता दिएको थियो । अधिकारीले विश्व संस्कृत दिवसले मन्त्रद्रष्टा ऋषि र ऋषिकाहरूको सम्मान गरेको बताउनुभयो ।

तेस्रो संस्कृत दिवस आयोजक समितिका संयोजक तथा महाअभियानका उपाध्यक्ष डा गोविन्दशरण उपाध्यायले संस्कृत दिवसको प्रभावस्वरुप छिमेकी मुलुकमा पनि विश्व संस्कृत दिवसको आयोजना गरिनु नेपालका लागि गौरवको कुरा भएको बताउनुभयो । यस वर्ष भारतको विश्वविद्यालय अनुदान आयोगले त्यहाँका २२ वटा संस्कृत विश्वविद्यालयलाई पत्राचार गरी श्रावण शुक्ल पूर्णिमा अर्थात् सोमबारकै दिन संस्कृत दिवस मनाउन पत्राचार गरेको थियो । नेपालको प्रस्तावमा राष्ट्रसङ्घबाट विश्व संस्कृत दिवस घोषणा गराउन सके देशको इज्जत बढ्ने भएकाले पनि सरकारका तर्फबाट पहल हुनुपर्ने उहाँको भनाइ थियो ।

संस्कृत भाषामा सञ्चालन भएको कार्यक्रममा प्रमुख वक्ता सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय भारतका प्रा डा हरिप्रसाद अधिकारीले संस्कृतको मूलस्रोत नेपाल भएको बताउनुहुँदै मौलिकताको पुनर्जागरणका लागि महाअभियानले थालेको काम प्रशंसनीय भएको बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयका प्रा डा केशव प्रपन्नाचार्यले विभिन्न चाडपर्व तथा रीतिरिवाजका कारण नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै सो पहिचान संस्कृतबाट अनुप्राणित भएको बताउनुभयो । वाल्मीकि विद्यापीठका प्रा डा प्रियम्वदा काफ्लेले संस्कृत भाषाको उत्थानका क्षेत्रमा रहेको कमी कमजोरी औँल्याउनुभयो ।

अमेरिकाबाट जुम प्रविधिका माध्यमबाट कार्यक्रममा जोडिनुभएका डा लक्ष्मीनारायण ढकालले भाषा भनेको प्रयोगले जीवन्त हुने बताउनुभयो । संस्कृत भाषाको नियमित प्रयोग गर्न सके यो व्यावहारिक भाषाका रुपमा अघि बढ्न सक्ने उहाँको भनाइ थियो । कार्यक्रममा विद्यापीठका उपप्राध्यापक केशवशरण अर्यालले महाअभियानले आत्मसात् गरेका विचारले समसामयिक राजनीतिमा दिशानिर्देश भएको बताउँदै कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय संस्कृत विभागका उप प्रा रोहिणीराज तिमिल्सिनाले संस्कृत भाषामा अथाह ज्ञानको भण्डार भएको उल्लेख गर्नुहुँदै विश्वका लागि महत्वपूर्ण ज्ञानको संरक्षणका लागि संस्कृत भाषाको प्रवद्र्धन अनिवार्य भएको बताउनुभयो । कार्यक्रममा आकाशनीलम् गोविन्दले अङ्ग्रेजी भाषा जान्ने मात्र विद्वान हुने भन्ने मान्यता गलत हो भन्ने देखाउन पनि दिवसलाई विश्वव्यापीरूपमा लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा छात्रा कस्तुर्भा सुब्बाले संस्कृतमा मङ्गलाचरण तथा संस्कृत श्लोक वाचन गर्नुभएको थियो । प्रतिष्ठानको आयोजनामा विभिन्न जिल्ला तथा अन्तर्राष्ट्रियस्तरमा पनि विश्व संस्कृत दिवसको आयोजना गरिएको जनाइएको छ । प्रतिष्ठानले नेवारी, भोजपुरी, मैथिली भाषाका क्षेत्रमा काम शुरु गरिसकेको छ । अन्य भाषाका क्षेत्रका पनि काम शुरु गर्न लागिएको सो अवसरमा जानकारी दिइएको थियो ।