रमिता दंगाल
सयको तरकारी काट्ने बित्तिकै सकिन्छ,
पचासको दाल चाट्ने बित्तिकै सकिन्छ ।
केहि छोइसक्नु छैन महंगीले अचेल,
हजारको नोट त साट्ने बित्तिकै सकिन्छ ।।
साहित्यकार प्रकाश बस्नेत ‘गफाडी’ले रचना गरेको मुक्तक हो यो । ‘हजारको नोट’ मुक्तक संग्रहबाट बाचन गरिएको यो मुक्तक सम्भवतः सबैभन्दा बढी रुचाइएको मुक्तक पनि हो । यही मुक्तकले प्रकाश बस्नेतको साहित्य चर्चा व्यापक बन्यो । धेरैले मुखमै राखे । कतिले महंगीको मारले थिचिंदा यही मुक्तकका शब्द सापटी लिएर पीडा व्यक्त गर्न थाले ।
सामाजिक सञ्जालमा पनि यो मुक्तकको निकै चर्चा भयो । कतिको टाइमलाईनमा यसका ट्रोलहरु अहिले पनि भेटिन्छन् । जसले लामो समयदेखि साहित्यकर्ममा रहेका बस्नेतलाई ‘गफाडी’का नामबाट थप चिनायो ।
यो कल्पनामा नभई वास्तविक भोगाईमा आधारित रहेर रचना गरिएकाले पनि यसले चर्चा पाएको बस्नेतको भनाई छ ।
‘हजारको नोट बोकेर बजार छिरेको एक दिन एक किलो चिनी, एक किलो दाल, एउटा खर्बुजा र काउली किन्दा सकिएको थियो । त्यही भोगाईलाई समेटेर यो मुक्तक रचना गरेको हुँ’ मुक्तककार बस्नेतले भन्नुभयो ।
यही मुक्तकले उहाँलाई साहित्यकारको एउटा दर्जा दिएर मुक्तककार बनाईदियो । कथा, कविता, उपन्यास लगायत अरु रचना गरेपनि उहाँलाई यही मुक्तकले सबैभन्दा धेरै चिनाएको छ । साहित्यमा धेरै रचना गरेपनि उँहा चोटिला मुक्तक लेख्न बढी सिपालु हुनुहुन्छ ।
कपाल उमार्ने स्याम्पूले नै कपाल झरेको छ,
यो बजारको अनुगमन कसले गरेको छ ?
नक्कलीको पनि एउटा हद हुन्छ नि हजुर,
किरा मार्ने बिषादीमै अचेल किरा परेको छ ।।
बस्नेतका मुक्तकमा समाजका वास्तविक कथा व्यथा समेटिएका छन् । उहाँले जति आफूले भोग्नुभएको छ । त्यही कुरा मुक्तक वा अरु विधामा लेख्नुभएको छ । यसले पनि अरुभन्दा वास्तविक साहित्यकार बनाउन उहाँलाई सहयोग गरेको छ । यसरी पाइला पाइलामा साहित्यिक रचना र शब्द शब्दमा भोगाई उतार्न उहाँले जीवनमा त्यत्तिकै ठूलो संघर्ष पनि गर्नुभएको छ ।
त्यसबेलादेखिको साहित्यिक मोह !
बाल्यकालदेखि नै साहित्यमा उहाँको लगाव थियो । बुवा ध्रुब बस्नेत बबरमहलमा रहेको हुलाक प्रशिक्षण केन्द्रको पूस्तकालयमा कार्यरत हुनुहुन्थ्यो । त्यसैले पनि प्रकाशलाई साहित्यको समुन्द्रमा शब्द खोज्न सहज भयो । जहाँ उहाँले थुप्रै पूस्तक र कृतिसँग साक्षात्कार गर्ने मौका पाउनुभयो ।
साहित्यका पुस्तक पढ्न पुस्तकालय चौतारी बन्यो । दन्ते कथा, जुनकिरी, जमिनदारकी दुलही, चङ्खे खरायो, धनि मुसो लगाएतका चर्चित पुस्तकहरु उहाँका खुराक बने । चर्चित व्यक्तित्वको जीवनी पढ्न बुवाको प्रेरणाले साहित्यमा अझ झुकाब बढ्यो ।
‘सानैदेखि साहित्य, कला, रेडियो नाटकमा रुची थियो, यही रुचीले साहित्यमा मोह बढ्यो’ बस्नेत भन्नुहुन्छ, ‘अझ हजारको नोट मुक्तक संग्रह प्रकाशित भएपछि साहित्यिक यात्रामा नयाँ इट्टा थप्ने काम भयो ।’
स्कुले जीवनमा भित्ते पत्रिकामा उहाँ आफ्नो लेख रचना छपाउन्नुहुन्थ्यो । अनुशासन सम्बन्धि लेख, रचना भित्ते पत्रिकामा आउँदा साथीभाईले मात्रै होइन, शिक्षकले समेत प्रशंसा गर्ने गर्नुहुन्थ्यो । भद्रबासको श्री आदर्श माध्यमिक विद्यालयबाट उहाँले माध्यामिक शिक्षा हाँसिल गर्नुभएको हो ।
जहाँ उहाँले साहित्य रचनाका कलिला अनुभवहरु शब्द शब्दमा जोड्न थाल्नुभयो । त्यतिबेलाको एसएलसीपछि उहाँ रेडियो नेपाल जानुभयो । त्यसबेला रेडियो नेपालमा मदनदास श्रेष्ठद्धारा गीति कथा प्रसारण हुन्थ्यो ।
गीति कथा सुनेर उहाँले पनि गीति कथा लेख्नुभयो । भन्नेबित्तिकै पठाएको गीति कथा प्रसारण नहुँने भएकाले बस्नेत कहिले प्रसारण हुन्छ भनेर बुझ्न धाइरहनुहुन्थ्यो । बस्नेतको गीति कथा निमन्त्रणा रेडियो नेपालबाट प्रसारण भयो । सबैले उहाँलाई फुर्काउथे ।
साथी राजेन्द्र श्रेष्ठ र उहाँ मिलेर रसरंग कार्यक्रमबाट प्रसारण हुने हाँस्यब्यंग्य लेख्नुभयो । सुरवीर पण्डितलाई दिनुभयो तर पहुँच नभएकाले प्रसारण भएन । रेडियो नेपालबाट हास्यव्यंग्य प्रसारण नभएपछि जानै छोडिदिनुभयो । यो उहाँका लागि समेत चिन्ता मात्रै होइन, अब के गर्ने भन्ने दोधारको समय थियो ।
भित्तेपत्रिकामा चुट्किला, गित र कथाबाट सुरु भएको साहित्यिक यात्रामा गजल, मुक्तक थपिंदै गए । बाहिर प्रसारण प्रकाशन नभएपनि मनको इच्छाले रचना गर्न उक्साउथ्यो । जसलाई उहाँ मार्न सक्नुहुदैनथ्यो ।
साहित्यसँगै सञ्चारकर्मको उत्साह
सानैदेखि अरुभन्दा छोटो र चोटिलो विधा मुक्तकमा उहाँको बढी नै ध्यान गयो । छिटो, छोटो र चोटिलो हुने भएपछि भोगाई पिच्छे उहाँले मुक्तक लेख्नुभयो। मुक्तक लेखेपछि बुवालाई सुनाउने बानीले पनि उहाँलाई मुक्तक लेख्न सघाइरह्यो । मुक्तक सुनेर बुवा पनि उहाँलाई प्रेरणा दिइरहनुहुन्थ्यो ।
तर रचना लेखेकै भरमा, चोटिला शब्द नै व्यक्त गरेको खण्डमा पेट पालिदैनथ्यो । यसकारण उहाँले कामको खोजी गर्नुभयो । यसैक्रममा जीवन गुजारा गर्न द्वारिका होटेलमा वेटरको काम थाल्नुभयो ।
काम भनेपछि काम । जुठो भाडा उठाउनेदेखि माझ्नेसम्म काम हुन्थ्यो । यसले उहाँलाई नमज्जा पनि लाग्यो । तर बीचैमा भने छाड्नुभएन । किनकी यसले उहाँलाई आर्थिक रुपमा सहज बनाएको थियो ।
आफै केहि गर्छु भन्ने चाहना हुँदाहुँदै पनि पारिवारीक अवस्थाले साहित्यलाई निरन्तरता दिन नसकेको उहाँको भनाई छ । औपचारिक रुपमा २०४८ सालदेखि नै साहित्यका विभिन्न विधामा कलम चलाउन सुरु गरेका उहाँले ‘फुल नझरेकै राम्रो’ गजल संग्रह २०५० सालमा लेख्नुभयो । तर किताबकै रुपमा छाप्न पैसाको अभाव भयो ।
उ बेला हजारप्रति किताब निकाल्न ६ हजार रुपैयाँ लाग्थ्यो । आफुले काम गर्ने होटलको ‘प्रेसिडेन्ट’ अम्बिकादेवी श्रेष्ठको ३० हजारको सहयोग पाएपछि त्यसमा २० हजार थपेर २० वर्षपछि २०७० सालमा छाप्न सफल हुनुभयो । यसरी गजल छाप्न अम्बिकादेवीको योगदान छ नभए उहाँको गजल संग्रह फुटकर मै सिमित रहन्थ्यो ।
तर पनि उहाँलाई गजलभन्दा मुक्तकमै मोह बस्यो । मुक्तक नै लेख्नुभयो । कंहि कंहि गजल पनि बाचन गर्नुभयो ।उहाँका मुक्तकले नै धेरैको मन जित्यो । कसैको आग्रह आउँदा पनि उँहा मुक्तक नै सुनाउँनुहुन्छ । चाहे त्यो व्यक्तिगत भोगाई होस वा समसामयिक देशको परिस्थिती होस । मुक्तक विधामा उहाँको कलम अरुभन्दा छिटो चल्छ ।
सम्यायौँ भने श्रमले भिरालो पनि पाटो बन्छ,
पोखे यतै पसिना आफ्नै देशको माटो बन्छ ।
लगनशील बनिरहे असम्भव के नै छ र ?
हिडिरहे निरन्तर भीरमा पनि बाटो बन्छ ।
किताबसंग रमाउने प्रकाश बस्नेत गफाडीको साहित्य प्रति रुचि भएर पनि आफ्नो पारिवारिक गरिबीका कारण होटल लाइनमा आफ्नो भबिस्य नभए पनि वर्तमान चल्ने भएकाले कामलाई निरन्तरता दिदै आउनु भएको छ। साहित्यमा मिठा मिठा रचना गर्ने प्रकाशको पेशा भने होटल लाइन हो । २३ वर्षदेखि द्वारिका होटेलमा उहाँले वेटरबाट काम थाल्नुभाएको हो । अहिले उहाँ एक्जिक्युटिभ हुनुहुन्छ ।
पहिले र अहिलेको भोगाई फरक छ । पहिले घण्टौ लगाएर होटेल पुग्दा उँहाले बाटैमा साहित्यिक रचना गर्न भ्याउनुहुन्थ्यो । होटलमा पुग्दा उहाँले केही गजल र मुक्तक रचना गरि सक्नुहुन्थ्यो । होटलमा केही समय पाएपछि उहाँले त्यसलाई डायरीमा उतार्ने गर्नुहुन्थ्यो ।
त्यति मात्रै होइन, बाटोमा हिड्दा होस् या काम गर्दा मुक्तकलाई टिपेर राख्ने, मनमनै गुनगुनाउने गर्नुहुन्थ्यो । काम गर्ने ठाउँमा उहाँलाई सबैले कवी जी सम्बोधन गर्थे । विभिन्न निहुँ बनाएर साहित्यिक कार्यक्रममा पुग्नुहुन्थ्यो ।
तलबै काटिए पनि उहाँ कार्यक्रममा जान भने छोड्नुभएन । साहित्यिक मञ्चमा उक्लिंदा आफुले साहित्यलाइ मात्र निरन्तरता दिन नपाएकोमा गुनासो गर्नुहुन्थ्यो, नमज्जा लाग्ने र उकुसमुकुस हुने गरेको बताउनुहुन्थ्यो ।
लक्ष्य एउटा, काम अर्को !
अरुको जस्तै प्रकाशको जीवनमा पनि केही गडबडी थियो । खासमा उहाँको सोचाई र स्वभाव एउटा थियो । तर काम र बाध्यता भने अर्कै । अर्थात जीवनको लक्ष्य एकातिर काम अर्कोतिर । एउटा असल शिक्षक बन्ने इच्छा पुरा भएन ।
प्राथमिक शिक्षकका लागि पास हुनुभएको थियो । तर फेल भएकालाई शिक्षक बनाएर स्थायी बनाएको उहाँ सुनाउनुहुन्छ । घर परिवारमा चाँही उहाँलाई लोक सेवा पढाउने ठुलो इच्छा थियो । तर त्यो बेला विज्ञापन नखुलेपछि पुरा भएन ।
प्रकाशले २०६२ सालमा भक्तपुर एफएममा काम गर्न सुरु गर्नुभयो । ६ वर्ष कार्यक्रम प्रस्तोताको रुपमा काम गर्नुभयो । भक्तपुर एफएममा ३ वर्ष साहित्यिक र ३ वर्ष हास्यव्यंग्य कार्यक्रम पनि चलाउनुभयो । एफएममा काम गर्दा आफुलाई चित्त नबुझेको कुरा कार्यक्रम मार्फत पोख्नुहुन्थ्यो । कार्यक्रममा बोल्दा उहाँको मन नै पनि हलुका हुन्थ्यो । जसले साहित्य यात्रालाई जस्तै कठिन भएपनि निरन्रतरता दिन सघायो । प्रकाशकै शब्दमा ‘गह्रौ भारी बिसाएको जस्तो आनन्द हुन्थ्यो ।’
उपनाम गफाडी
नाम प्रकाश । थर बस्नेत । आफैमा पूर्ण र बहादुरी नाम र थर थियो । तर यतिले मात्रै उहाँको साहित्यिक रचना पूर्ण भएन् । उपनाम थप्नुभयो ‘गफाडी’ । उपनाम गफाडी भएपनि उहाँ खास असल मान्छे हुनुहुन्छ। तर उँहा शब्दकोशले अर्थाएको जस्तो गफाडी हुनुहुन्न। प्रसंगवस आएको कुरालाई सम्झन लाएक किसिमले प्रस्तुत गर्न सक्ने क्षमता उँहासंग भएकाले आफ्नो उपनाम ‘गफाडी’ राखेको दाबी गर्नुहुन्छ ।
अहिलेसम्म उँहाले लगभग सबै विधामा कृति निकालिसक्नु भएको छ । ‘फूल नझरेकै राम्रो’ गजल संग्रह २०७०, ‘भाइरसहरु’ कथा संग्रह २०७२, हजारको नोट मुक्तक संग्रह २०७६ उँहाको चर्चित प्रकाशित कृति हुन् । उहाँ कविता संग्रहको तयारीमा समेत हुनुहुन्छ ।
सम्मानको प्रेरणा
साहित्यकार प्रकाश बस्नेत गफाडी विभिन्न सम्मानबाट सम्मानित हुनुभएको छ । सबैभन्दा बढी मुक्तकबाट सम्मानित हुनु भएको छ । संशाक संस्कृति ,साहित्य र कलाबाट संशाक मुक्तक सम्मान, लक्ष्मी देवी साहित्य सिरपा सम्मान, सुरभी आख्यान पुरस्कार सम्मान कथाबाट, अविनभ साहित्य समाजबाट वर्ष उत्कृष्ठ गजल पुरस्कृत हुनुभएको छ ।
त्यसैगरी राष्ट्रब्यापी भुइँमान्छे कवितामा तृतीय, राष्ट्रिय कविता महोत्सवमा पनि तृतीय, चौंथो राष्ट्रब्यापी मुक्तक प्रतियोगितामा पहिलो हुन सफल हुनुहुन्छ । गित, कथा, कविता, गजल, मुक्तक सबैजसो विधामा कलम चलाउनु भएका उहाँ कबि र लेखक भन्दा हुने रमाइलो मुक्तककार भन्दा खुम्चिएको जस्तो लाग्ने बताउनुहुन्छ ।
बस्नेतले २०४७ सालमा मागी बिवाह गर्नुभयो । अहिले परिवारमा आमा, उहाँ र श्रीमती, जेठो छोरा बुहारी नाति र कान्छो छोरा बस्दै आउनु भएको छ । ‘बिवाहका सुरुवाती दिनमा जीवन स्वतन्त्र भएन । तर अहिले फरक भैसकेको छ’ बस्नेत भन्नुहुन्छ ।
साहित्य रचनामा घर परिवारकै सहयोग भएका कारण उहाँ आफू अगाडी बढ्न सकेको ठान्नुहुन्छ । धन पैसा भन्दा पनि साहित्यले चिनाएकोमा उहाँमा गर्व छ । अहिले मुश्किलले फुर्सद निकालेर अगाडी बढाएको साहित्यिक यात्रा अब समर्पणका साथ दौडाउने उहाँको योजना छ । यसका लागि होटलकै कामै छाड्न पनि उहाँ तयार हुनुहुन्छ।
मनमा के छ सोधे कसैले सुटुक्क मेरो नाउँ दिनु,
खुशीको शहर दिउँला म मलाई दुर्गम गाउँ दिनु ।
प्रकृतिझैं अनुपम तिम्रो सौन्दर्यमा लाठिएर,
गुमाएँ भने नियन्त्रण मैले पल्टिने थोरै ठाउँ दिनु ।।