भारी हिमपात र शक्तिशाली हुरीका कारण जापानका अधिकांश क्षेत्रमा यातायात प्रणाली अवरुद्ध भएको छ । जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको छ । प्रतिकूल मौसमका कारण प्रमुख रेल सेवा बन्द भएका छन् ।
बाक्लो तुषारोले गर्दा द्रुत रेल सेवाको गति पनि मन्द भएको छ भने केही स्थानमा सेवामा विलम्ब भएको छ । बुलेट रेल सेवाको हालत पनि यस्तै छ । इष्ट जापान रेलवे कम्पनीले तोहोकु– शिङ्कासेन सेवाका साथै यामागाता– शिङ्कानसेन सेवा बुधबार बन्द रहने जनाएको छ ।
जापान एयरलाइन्स र अल निप्पोन एयरवेजले पनि बुधबारका सयौँ उडान रद्द गर्ने योजना बनाएका छन् । उनीहरूले यात्रीलाई यथाशीघ्र आफ्नो उडान सुनिश्चित भए/नभएको यकिन गर्न अनुरोध गरेका छन् । जापानको जल तथा मौसम विज्ञान विभागले देशको तापक्रम अझ घट्ने जनाएको छ । बिहीबार पनि बुधबारको झै मौसम सफा नरहने विभागको अनुमान छ ।









