प्रेमप्रसाद आचार्यको न्यायका लागि भन्दै माइतीघरमा प्रदर्शन

इलामका प्रेमप्रसाद आचार्यको न्यायका लागि भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ । मंगलबार दिउँसो बानेश्वरमा आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका आचार्यको उपचारका क्रममा बुधबार मृत्यु भएको थियो । उनको पक्षमा बुधबार दिउँसो माइतीघर मण्डलमा लुटतन्त्र, भ्रष्टाचार विरुद्ध एकजुट हौँ भन्ने नारा दिएर युवाहरूले प्रदर्शन गरेका हुन ।

प्रदर्शनमा सहभागीहरुले राज्यको गलत नीतिका कारण आचार्यले मृत्युबरण गर्नुपरेको भन्दै आक्रोश पोखेका छन ।

सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेख्दै शरीरमा पेट्रोल छर्किएर बानेश्वरस्थित संसद् भवनअघि आत्मदाहको प्रयास गरेका आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनले आत्महत्या गर्नुअघि सामाजिक सञ्जालमा आफुले व्यापार व्यवसाय गर्दा ठुलो हन्डर खानुपरेको उल्लेख गरेका छन ।।