काठमाडौं: नेकपा माओवादी केन्द्रकी नेत्री ओनसरी घर्तीले आफ्नो एक मात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छिन् ।
बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रममा उनले सो कुरा बताएकी हुन्। देशको विकास र समृद्धि बाहेक अरु कुनै एजेण्डा आफूहरुसँग नभएको उनको भनाइ छ । अझै पनि आफूहरुले चाहेजस्तो देश बनाउन नसकिएको चर्चा गर्दै घर्तीले देशलाई क्रमशः समृद्ध बनाउँदै लैजान आवश्यक भएको बताएकी छिन। विगतमा गरिएका कामहरुको पनि जिम्मेवारी लिने उनले बताए ।
हामी आज तपाईहरुको सामु आएका छौँ । देशको समृद्धिकै लागि हो । अरु हामीसँग एजेण्डा केही पनि छैन । यो देशको विकास बाहेक अरु केही छैन ।’ देशलाई समृद्ध बनाउँछौ भनेर हामीले भन्दैआएका छौँ र विगतमा जे–जस्ता कामहरु भए ती सबै कामको हामी जिम्मेवारी लिन्छौँ ।‘
सांसदको सबैभन्दा ठूलो काम देशको कानून बनाउने काम हो । धेरै कानूनहरु निर्माण गर्न बाँकी छन् । मैले कसैको पनि हक नछिनिने गरेर यहाँहरु सबैको हक, अधिकारहरु ग्यारेन्टी हुने गरेर आफुले कानून लेख्ने कुरामा सधै अग्रपंक्तिमा रहनेछु।
सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहनुभएकी नेत्री घर्तीले आफू निर्वाचित भएमा सबै पेशा, व्यवसायका मानिसहरुको हक अधिकारको सुनिश्चित हुनेगरी कानून बनाउने प्रतिवद्धता गरेकी छिन ।









