काठमाडौँ: बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् । जटिल राजनीतिक तथा आर्थिक संकटबीच लिजले बिहीबार राजीनामा दिएकी हुन् ।
जिम्मेवारी पूरा गर्न नसकेका कारण राजीनामा दिएको उनले बताएकी छिन। उनलाई हटाउनका लागि आफ्नै मन्त्रिमण्डलका सदस्य तथा पार्टीका नेताहरूले दबाब दिइरहेका थिए।
४५ दिनअघि प्रधानमन्त्रीमा नियुक्त भएकी ट्रसले घोषणा गरेअनुसार काम गर्न नसकिएको भन्दै विभिन्न टीकाटिप्पणी भइरहेको थियो । केही दिन यता उनलाई आफ्नै मन्त्रिमण्डलका सदस्य तथा पार्टीका नेताहरुले राजीनामा दिन दबाब दिइरहेका थिए । नयाँ प्रधानमन्त्री चयनका लागि कन्जर्भेटिभ पार्टीभित्र नै चुनाव हुने छ । अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि लिज नै प्रधानमन्त्री रहने छिन् ।
याे बेलायतको कुनै पनि प्रधानमन्त्रीको सबैभन्दा छोटो कार्यकाल हो । यसअघि सन् १८२७ मा प्रधानमन्त्री जर्ज क्यानिङले एक सय १९ दिनमात्रै प्रधानमन्त्रीको रूपमा काम गर्नुभएको थियो ।
गलत आर्थिक नीतिका कारण आलोचित बन्दै गएकी ट्रसलाई आफ्नै दलभित्रबाट समेत समस्या हुन थालेपछि राजीनामा दिनुभएको हो । हिजो बुधवारसम्म निर्भिकताका साथ काम गर्ने बताएकी ट्रसले आज बिहीवार भने राजीनामा दिनुभएको हो ।











