आगामी ५ वर्षपछि महिलाहरु हरेक पुरुषसँग प्रतिस्पर्धा गर्न सक्षम हुन्छन् : ओनसरी घर्ती

काठमाडौं: नेकपा (माओवादी केन्द्र)की नेतृ ओनसरी घर्तीले निर्वाचनमा महिलाको सहभागिता बढाउन जोड दिनुपर्ने बताएकी छिन् ।

वाम लोकतान्त्रिक गठबन्धन महिला परिचालन उपसमिति काठमाडौं क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवारसमेत रहेकी नेतृ घर्तीले यस्तो बताइन् ।

उनले महिलाहरु विभिन्न आन्दोलन र लडाईंका मोर्चाहरुमा अग्रपंक्तिमा रहेर काम गरेपनि अन्य क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व कम भएको गुनासो गरिन् । निर्वाचनमा पनि महिलाहरुको सहभागिता कम भएको र राजनीतिक पार्टीका नेतृत्वलाई आफूले महिला सहभागिताको लागि बढी भन्दा बढी उम्मेदवारी दिन आग्रह गरेको पनि बताइन् ।

नेतृ घर्तीले महिलाहरुको प्रतिनिधित्व, पहुँच र महिलाहरुलाई प्रेरणा दिनको लागि निर्वाचनमा उम्मेदवारी दिएको बताइन् । आगामी ५ वर्षपछि महिलाहरु हरेक पुरुषसँग प्रतिस्पर्धा गर्न सक्षम र योग्य रहने पनि उनले दाबी गरिन् ।

उनेल भनिन्, ‘महिलाहरुको प्रतिनिधित्व, महिलाहरुको पहुँच र महिलाहरुलाई प्रेरणा दिनको लागि मेरो उम्मेदवारी हो । हामीले विभिन्न जनआन्दोलनमा वा विभिन्न प्रकारका लडाईंका मोर्चाहरुमा हामीले आफूलाई अग्रपंक्तिमा राखेका छौँ । जब आन्दोलन हुन्छ महिलाहरु अघि खटेर लडेका छन् । वि.सं. २०६३ सालको जन आन्दोलनमा पनि तपाईहरुले देख्नुभएको होला । महिलाहरु नै अग्रपंक्तिमा थिए । तर आन्दोलनले जब एउटा ठाउँ र बिन्दुमा पुगेर सकिन्छ तब महिलाहरु कहाँ गए भनेर खोज्नुपर्ने अवस्था रहेको छ ।’

उनले फेरि भनिन्, ‘म आज ५ वर्षको लागि प्रतिनिधि सभाको हसियत राख्नकोक लागि उम्मेदवार बनेको छु तर ५ वर्षपछि कुनैपनि निकायमा ओनसरीले उम्मेदवारी हुनुपर्दैन, हरेक पुरुष मित्रसँग प्रतिष्पर्धाकाक लागि तपाईहरु योग्य हुनुहुनेछ भन्ने भविष्य देखेकी छु ।’

[sidebar name="button post"]