पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । पाकिस्तान पिपुल्स पार्टी पीपीपीको नेतृत्वमा विपक्षी दलहरुले खानविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
अविश्वास प्रस्ताव दर्ता गर्नुअघि राजधानी इस्लामावादमा आयोजित र्यालीमा सहभागी हजारौं कार्यकर्तालाई सम्बोधन गर्दै पीपीपीका नेता एवम् हत्या गरिएकी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बिलावल भुट्टोले खानलाई राजीनामा दिन २४ घण्टाको म्याद दिएका थिए ।
रोयटर्सले जनाएअनुसार अविश्वासको प्रस्तावका पारित हुनका लागि पाकिस्तानी संसद्मा १७२ मतको आवश्यकता पर्छ । विपक्षी पार्टीहरुले भने १६१ मत आफूहरुसँग सुरक्षित रहेको र उनलाई हटाउन केबल ११ मतमात्रै चाहिएको बताउँदै आएका छन् ।
पूर्व राष्ट्रपति एवम् बिलावल भुट्टोका बुबा आशिफ अली जर्दारीले भने आफूहरुले १७२ भन्दा धेरै मत ल्याउने बताएका छन् । अब तल्लो सदनका सभामुखले २ साताको अवधिमा संसद् बैठक डाक्नुपर्ने प्रावधान छ । यद्यपि अविश्वासको प्रस्तावमा मतदान हुन भने केही समय लाग्नसक्ने बताइएको छ ।
यता खानले भने आफूलाई पदमुक्त गर्ने विपक्षीको योजना असफल पार्ने र यसका लागि आफू तयार रहेको दृढता व्यक्त गरेका छन् ।
गत वर्षमात्रै खानले अविश्वासको प्रस्तावमा भएको मतदानमा केबल ६ मतको झिनो अन्तरले विजय भएका थिए ।









